शोकको कुनै ओखती हुँदैन
विसं २०३५ मा इलाम क्याम्पसको विद्यार्थी हुँदा आईएडको पहिलो सेमेस्टरको नेपाली विषयको पाठ्यक्रममा ‘गौरी’ शोककाव्य राखिएको रहेछ। हेमचन्द्र नेपालले लय हालीहाली पढाउँदा कक्षामै मेरा आँखा भरिएर आउँथे। कोठामा गएर पनि ती श्लोकहरू कण्ठ गर्ने कोसिस गर्थें। मलाई आजसम्म पनि नेपाली शोक साहित्यमा त्योजति रोदनीय अरू कुनै लाग्दैन। दोस्रोेपल्ट मेरो मानसमा कहिल्यै नमेटिने गरी बसेको कविको नाम हो, माधव घिमिरे। त्योभन्दा पहिल्यै ‘मुनामदन’ पढेपछि देवकोटाले मनमस्तिष्कमा खाँबो गाडिसकेका थिए। वास्तवमा ‘मुनामदन’ र ‘गौरी’ जति लोकप्रिय अरू कुनै काव्य होलान् जस्तो पनि लाग्दैन।
झापाको मैले काठमाडौंका त्यत्ति ठूला लेखकलाई भेट्नसक्ने कुरा पनि थिएन। तर, म कविवरको ‘फ्यान’ भइसकेको थिएँ। उहाँका कृतिहरू खोजीखोजी पढ्थें। साना र थोरै मूल्य पर्ने किताब किन्न पनि गाह्रो थिएन। गौरी त म सिरानमै राख्थेँ। ‘मुनामदन’ पहिल्यै नै मैले आमालाई पढेर सुनाइसकेको थिएँ। क्याम्पसबाट फर्किसकेपछि मैले ‘गौरी’ पनि सुनाएँ। त्यस बेला बुवाको निधन भइसकेको थियो। त्यो गौरी आमाको लागि टीकाराम भयो। सुनाउँदा पनि उहाँ रुने, नसुनाउँदा पनि सुना भन्ने। हामी आमाछोरा आधा रुँदै आधा पढ्दै गथ्र्यौं। पछिसम्म पनि मैले आमालाई त्यो किताब पढेर सुनाइरहनु पर्यो। आमाले बारम्बार पढ्न लगाउने श्लोक थियो-
डालीबाट नबोल कोइली ! झुली वैलिन्छ रे यो वन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पिरती
देवी स्वर्ग गई सकिन् नगर है यो साँझमा आरती...।
यस्तो किताब लेख्नेलाई जसरी भेट्नू है एकपल्ट भन्नुहुन्थ्यो आमा। २०४५ सालमा झापाको धुलाबारीमा दोस्रो महानन्द पुरस्कार समर्पण समारोहको प्रमुख अतिथिमा नेराप्रप्रका उपकुलपति माधवप्रसाद घिमिरेलाई बोलाइयो। त्यो कुरा सुनेपछि उहाँलाई देख्नकै लागि आमा शनिश्चरेबाट धुलाबारी पुग्नुभयो। भीड छिचोल्दै आमालाई उहाँसँग भेट गराइदिएँ। आमाले हातमा ढोग्नुभो, केही सोध्नु÷बोल्नु भएन। पछि घरमा आएपछि उहाँले तिनै माथिका श्लोकहरू आफैं गुनगुनाउनु भयो। आमाले ती श्लोक मैले पढेर सुनाएकै भरमा कण्ठ गर्नुभएको रहेछ।
मैले पनि पहिलोपल्ट उहाँलाई देखेको थिएँ। जिल्लामै देख्न पाउँदाको हर्ष झलझली सम्झन्छु। जसलाई मेरो साहित्यिक यात्रा र मदन पुरस्कार नामक पुस्तकमा विस्तृत लेखेको छु।
मलाई आजसम्म पनि नेपाली शोक साहित्यमा ‘गौरी’ खण्ड काव्य जति रोदनीय अरू कुनै लाग्दैन। दोस्रोेपल्ट मेरो मानसमा कहिल्यै नमेटिने गरी बसेको कविको नाम हो, माधव घिमिरे। त्योभन्दा पहिल्यै ‘मुनामदन’ पढेपछि देवकोटाले मनमस्तिष्कमा खाँबो गाडिसकेका थिए। वास्तवमा ‘मुनामदन’ र ‘गौरी’ जति लोकप्रिय अरू कुनै काव्य होलान् जस्तो पनि लाग्दैन।
त्यसपछि बाक्लै भेट भइरहे। दोस्रो भेट २०५४ सालमा काठमाडौंमै भयो। देख्नेबित्तिकै ‘कहिले आउनुभयो ? आमालाई कस्तो छ ?’ सोध्नुभयो। तीनछक्कै परें। नौ वर्षअघि साहित्यिक भीडमा आमा चिनाएको थिएँ। त्यत्तिका भरमा यति पछि पनि चिन्नु भनेको सामान्य होइन। उहाँले मेरा बालक हराएको सूचना र नारीभित्र के छ हजुर भन्ने निबन्धका दुवै किताब पढ्नुभएको रहेछ। भन्नुभो, ‘तपाईंका निबन्ध पनि कविता नै हुन्। लेख्न नछोड्नू।’ अब कति फुर्किनु मैले ! कस्तो अद्भुत स्मरण शक्ति !!
२०५८ सालमा भरतपुर अस्पतालमा आमाको निधन भयो। त्यसको समाचार काठमाडौंका पत्रिकाहरूमा छापिएछ। एक दिन किरियामा बसेकै बेलामा फोन आयो। कसैले भने, ‘माधवप्रसाद घिमिरेको फोन आयो।’ म फोनमा गएँ। उहाँले भन्नुभो, ‘फर्की क्वै पनि आउँदैन र सधैं पर्खन्न कोही पनि, कालो आदि र अन्त ! खाली बीचमा झिल्का लिने जीवनी...।
घाउ थाक्छ, खाटो बस्छ। त्यो पनि उप्किन्छ। तैपनि त्यो खतलाई बोकेर हिँडिरहनुपर्छ बाँचुन्जेल। शोक बिर्सन सकिँदैन। त्यो आफैं कपुरझैं बिलाउँदै जान्छ। आमाको शोकले निराश भएको मनमा कविवरको त्यो आवाज र भावले तंग्रिएजस्तो भएको थिएँ। उहाँको यही सम्झनाले नै म उहाँको झन्झन् नजिक हुँदै गएँ। नयाँ पुस्तासँग नजिकिने, सधैं युवा मन बोक्न सक्ने र युवासँग नजिकिने उहाँको इच्छा भनेकै लामो आयुको एउटा कारण रहेछ भन्ने लाग्छ। २०६८ मा सीताजीको निधन भयो। धेरैका समवेदना भरिएको फोन आउनु स्वाभाविकै थियो। १० वर्षअघि आमा बित्दा त फोन गर्नुहुने माधव घिमिरेले सीताजी नै बित्दा झन् कसरी फोन नगर्नुहोला भन्ने लाग्दै थियो। शोक परेको तेस्रो दिन कविवरको फोन आयो—
‘गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पास परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यत्तिको बिजोग, धरती ! माता तिमी फाट हे
आमा बालककी नमार भगवान् संसार भर्ने भए...।
मैले चार सालमा बोकेको यो शोक सबैलाई पर्ने सनातन शोक रहेछ। खप्नुपर्छ। खप्नुबाहेक यसको अरू कुनै ओखती छैन। काठमाडौं आएपछि मलाई भेट्नुहोला।’
उहाँको आवाज सुनेपछि बाबुको हत्केलो शिरमाथि डुलिरहेजस्तै लाग्यो एकछिन। थाकेका आँखा बर्सिए। तर, काठमाडौं आएपछि मलाई उहाँसँग भेट गर्ने आँटै भएन। दुई वर्षपछि गैह्रीधारामा बैरागी काइँलाको भतिजको बिहेभोजमा दुवैसँग भेट भयो। मञ्जुजीसँग बिहे गरिसकेको थिएँ। नजिकै गएर नमस्ते गरिनसक्दै ‘खोइ त मञ्जु ?’ भन्नुभो। म अर्कोपल्ट अचम्मित भएँ। सोच्दै थिएँ— केही कुरा गरेपछि फेरि बिहे गरेको कुरा भनौंला। तर, मलाई त्यो भूमिका बाँध्ने मौकै परेन। मञ्जुजीलाई चिनाएँ। सिमसिम पानी पर्दै थियो, तैपनि दुवैजनाले हामीलाई एकाएकातिर चेपेर फोटो खिच्नुभयो।
अन्तिमपल्ट गत वर्ष नेपाली लेखक संघ मोरङले उहाँकै घरमा अभिनन्दन गर्ने कार्यक्रम रहेछ। हामी दुवै पुग्यौं। देख्नेबित्तिकै बोलाएर दुवैको शिरमा हात राख्दै भन्नुभो, ‘कहिले आउनुभयो अमेरिकाबाट ?’ नफर्किने गरी आइसक्यौं भनें। खुसी हुँदै भन्नुभयो, ‘पखेटा लागुन्जेल जताजता घुमे पनि हुन्छ। संसार देख्नैपर्छ तर सधैं उतैचाहिँ कहिल्यै हराउनु हुँदैन।’ अनि आमातिर फर्केर भन्नुभो, ‘उहाँहरूको पनि हाम्रैजस्तो हो।’ आमाले भन्नुभो, ‘मलाई थाहा छ। पोहोर परार नै हामीले फोटो खिचेको।’
त्यो दिन पनि हामी दुईजनालाई मात्र छेउमा राखेर फोटो खिच्नुभयो। भन्नुभो, ‘उतापट्टि प्रमाणपत्रहरूको लाइब्रेरी छ।’ हेर्यौं र अचम्मित हुँदै फोटा खिच्यौं। एकैजनाले पाएका त्यति धेरै प्रमाणपत्र आजसम्म मैले अरू कसैको देखेको छैन।
तीन वर्षअघि राति ९ बजेतिर कसैले मलाई फोन गरेर सोध्यो, ‘धरावासीजी ! राष्ट्रकवि बितेको हल्ला छ सहरमा। कुरो के हो ?’ मैले हतारहतार चारैतिर फोन लगाएँ। मान्छ्यैपिच्छेका फरकफरक प्रतिक्रिया थिए। अन्योलमै सुतें। भोलि बिहान त्यो हल्ला मात्र रहेको समाचारहरू आए र कविवरको भनाइ पनि थियो, ‘म घरमा आनन्दले सुतिरहेको बेला सहरमा म मरिरहेको थिएँ।’
यसपालि पनि पहिलोपल्ट उहाँ बितेको समाचार सुन्दा हत्तपत्त पत्याउन मन लागेन। तर, यो समाचार साँचो थियो। मनमा नमीठो लाग्यो तर शोक लागेन। उहाँले वेदले तोकेको भन्दा पनि एक वर्ष बढी बाँचेर वेदलाई पनि जित्नुभएको थियो। यो उमेरसम्म पनि सबै इन्द्रिय स्वस्थ राखेर संसार भोग गर्नुभयो। उहाँको जीवन, आयु र सिर्जना हामीलाई सधैं प्रेरणा हुन्। उहाँले नै भन्नुभएको थियो, ‘खप्नुबाहेक शोकको कुनै ओखती हुँदैन।’ अहिले राष्ट्रकविको शोक हामी खपिरहेका छौं।
घिमिरेका कृतिहरूको तारिफ गर्नु भनेको तिनको अग्र्यानिक मूल्य घटाउनु मात्र हुन्छ जस्तो लाग्छ। आलोचना गर्ने ठाउँ नभेट्नु भनेको पनि कहिलेकाहीँ बेस्वाद भएजस्तो क्या ! मैले उहाँका हरेक गीत, कविता र काव्य पढें। कतै छिर्ने दुलो नभेटेर थन्किएँ।