महामारीलाई जिस्क्याउँदै राजनीतिक दल

महामारीलाई जिस्क्याउँदै राजनीतिक दल

धादिङ : कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनीतिक दलहरूले भने बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशनका कार्यक्रमहरू गरिरहेका छन्।

जेठ ३१ गते मध्यरातमा कांग्रेसका सभापति रमेश धमलासहित जिल्ला तहका नेताहरूको उपस्थितिमा नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाँकोटमा बृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्‍यो। मध्यरातको समयमा गरिएको उक्त कार्यक्रममा तीन सयभन्दा बढी सहभागी थिए। त्यसको २० दिनपछि सोही ठाउँमा नेकपाका वाग्मती प्रदेशका नेता रामबहादुर भण्डारी र प्रदेश सांसद डा. रामकुमार अधिकारीसमेत सोही गाउँमा गएर दुई सयभन्दा बढी मानिसको भेला गरी पार्टी छाडेकाहरूलाई फिर्ता बोलाए। धुवाँकोट धादिङको कोरोना संक्रमित देखिएका क्षेत्रमध्ये अति संवेदनशील क्षेत्र हो। सोही ठाउँका तुलबहादुर तामाङ कोरोनाकै कारण ज्यान गएको छ।

त्यस्तै, असार १२ मा नीलकण्ठ नगरपालिका–७ मा नेकपा नीलकण्ठ नगरअध्यक्ष दीपक विश्वकर्माको गाउँबाट नेपाली कांग्रेसले ३५ भन्दा बढी नेता कार्यकर्तालाई कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गरायो। त्यसैको काउन्टरस्वरूप नीलकण्ठ नगरपालिका–७ कै डाडाँगाउँ पुगेर साउन २३ गते प्रदेश सांसद रामकुमार अधिकारीले पनि २२ जना कांग्रेस कार्यकर्तालाई नेकपा प्रवेश गराए।

असार २० नीलकण्ठ– २ मा कांग्रेस सभापति धमलाले ८० जना कार्यकर्ता कांग्रेस भित्र्याए भने सोही दिन खनियाँबास गाउँपालिकामा नेकपा वाग्मती प्रदेशका नेता प्रदीप फ्युवाले ५० भन्दा बढी भेला गरेर अन्य पार्टीबाट नेकपा प्रवेश गराए। लकडाउन भए यता धादिङमा पार्टी प्रवेश गराउने होडबाजी यतिसम्म छ कि काठमाडौंमै थुनिएका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमै लगेर पार्टी प्रवेश गराइएको छ।

भीडभाड गरेर पार्टी प्रवेश गराउने काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू अघि देखिएका छन्। नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिएकाले आफ्नो प्रभाव देखाउन स्थानीय नेताहरू अन्य पार्टीबाट आफ्नो पार्टीमा कार्यकर्ता भित्र्याउँदै जोखिम बढाइरहेको कांग्रेसकै नेताहरूले बताएका छन्।

देश नै महामारीसँग जुधिरहेको बेला सरकारको नियम पालना गराउनुको साटो देशका जिम्मेवार राजनीतिक पार्टीहरूले नै नीति नियम उल्लंघन गर्दै भीडभाडसहित कार्यक्रम गराउन थालेपछि सर्वत्र आलोचना हुन थालेको छ। नीलकण्ठ–३ का स्थानीय दशरथ भण्डारीले भने, ‘दलका नेताहरूको नजरमा भोट नै सबैभन्दा ठूलो कुरा हो, विश्व नै महामारीसँग संघर्ष गरिरहेको बेला दलगत स्वार्थबाट माथि उठ्न नसक्नु निकै निन्दनीय छ।’

रोचक त के भने, सामान्य नागरिकले गरेको पारिवारिक कार्यक्रमलाई समेत अवरोध गरिरहेको स्थानीय प्रशासनले राजनीतिक दलहरूले ठूलो संख्यामा भेला गराएर कार्यक्रम गरिरहँदा मूकदर्शक बनेको छ। स्थानीय आशिष लम्साल भन्छन्, ‘राजनीतिक कार्यक्रम राख्दा कोरोना नसर्ने रहेछ कि क्या हो ? भोलि भयावह अवस्था आयो भने को जिम्मेवार हुने ? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.