कोरोनाको 'हटस्पट' अब काठमाडौं
काठमाडौं : देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ।
११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्।
शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनापरीक्षण काममा गए। यसबाट पनि एक प्रकार जोखिम बढ्यो।’
बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण गर्यो। तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन।
सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए। ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन। पुरानै तरिकामा चल्यो।’
लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे। तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन। जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो।
मास्क नलगाउनु र भीडभाडमा जानु संक्रमण फैलनुको अर्को कारण भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए। ‘काठमाडौंको जनघनत्व एकदमै धेरै छ’, डा. सुवेदीले भने, ‘गल्लीहरू एकदमै साँघुरा छन्, जहाँ नगई हुँदैन। तरकारी किन्न वा अन्य काममा जानुपर्यो। यस्तो अवस्थामा स्थानीयले हेलचेक्र्याइँ गरे। सुरक्षामा ध्यान दिएनन। यसले संक्रमण फैलियो।’
उनले सरकारले परीक्षणको दायरा फराकिलो नबनाउनु पनि संक्रमण फैलनुको अर्को कारण भएको बताए। ‘परीक्षणको दायरा साँघुरो भयो’, उनले भने, ‘बिरामीहरू सहज परीक्षण नभएकाले रोग लिएर बसिरहेको अवस्था छ। कन्ट्याक ट्रेसिङ भएको छैन। संक्रमितका परिवारलाई ट्रेसिङ गरिएको छैन।’
यहाँका स्थानीय तहरूले पनि कोरोना नियन्त्रणमा राम्रो भूमिका निभाउन सकेका छैनन्। उपत्यकाका एकाध स्थानीय तहबाहेक अन्यले क्वारेन्टाइनै व्यवस्थापन गर्न सकेका छैनन्। सबैभन्दा ठूलो काठमाडौं महानगरले क्वारेन्टाइन बनाएको छैन। बल्ल उपत्यकामा एकीकृत क्वारेन्टाइनमा जुटेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य बताउँदैछन्। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहहरूबाट कमजोरी भएको स्विकार गरे। बाहिरबाट आउनेलाई व्यवस्थित गर्न नसकेकाले संक्रमण फैलिएको उनको भनाइ छ।
‘हाम्रो नगरपािलकामा ३७ जनामा कोरोना देखिएको छ’, उनले भने, ‘ती सबै बाहिरी जिल्लाबाट आउने र उनीहरूका परिवारका सदस्य मात्रै छन्। बाहिरबाट आउनेलाई व्यवस्थित गरेर क्वारेन्टाइनमा राख्न सकेको भए अहिलेको अवस्था आउने थिएन।’अब के गर्ने ?
डा. सुवेदीले महामारी नियन्त्रण गर्न परीक्षण, ट्रेसिङ र आइसोलेसन तीन मात्रै विकल्प रहेको बताए। सरकारले बढीभन्दा बढी परीक्षण गरेर आइसोलेसनमा राख्नुपर्ने उनको भनाइ छ। ‘हामीसँग तीनवटा मात्रै विकल्प छन्’, उनले भने, ‘परीक्षण बढी हुनुपर्यो। संक्रमितसँग सम्पर्कमा रहेकाको ट्रेसिङ र आइसोलेसनको पूरा व्यवस्था गर्नुपर्यो।’ घरधनीको डरका साथै महँगो भएकाले परीक्षण नगरेको उनले बताए। निर्धक्क परीक्षणको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौंमा समुदायस्तरमा संक्रमण फैलिएको हो होइन भनेर बहस चलिरहेको छ। अवस्था हेर्दा समुदायमा गइसकेको विज्ञहरूको भनाइ छ। सरकारी पक्षको दाबी भने समुदायमा फैलिएको छैन भन्ने हो। यस्तो अवस्थामा पहिला समुदायस्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको सरकारले स्पष्ट पारे मात्र महामारी नियन्त्रण गर्न सकिने डा. पुनको भनाइ छ। ‘अहिलेको अवस्थामा समुदायमा संक्रमण फैलिएको छ कि छैन भन्नेमा विवाद छ’, उनले भने, ‘यो कुरा सरकारले स्पष्ट पार्नुपर्यो अनि मात्र आगामी दिनको रणनीति तयारी गर्नुपर्छ।’
उनका अनुसार समुदायमा फैलिएको भए त्यस क्षेत्रमा आवतजावत बन्द गर्नुपर्छ। नफैलिएको भए सुरक्षा उपाय अपनाउनुपर्छ। समुदायमा परीक्षणलगायत काम गर्नुपर्ने उनले बताए। सरकारले उपत्यकामा लगाइएको निषेधाज्ञा अवधिमा आवश्यक तयारीका काम गर्नुपर्ने उनको भनाइ छ।
‘निषेधाज्ञामा सरकारले समुदायमा परीक्षण गर्ने, आइसोलेसन बनाउने काम गर्नुपर्यो,’ उनले भने, ‘सुतेर बस्नु भएन। निषेधाज्ञाको फाइदा लिएर काम गर्नुपर्छ।’