कलेडस्कोप जिन्दगी
मभित्र निसास्सिएको उन्मुक्ति
खै मेरो अनुहार ?
मेरो पहिचान किन अज्ञात ?
मेरो मूक मौनता छटपटाउँदै प्रश्न गर्छ,
खै मेरो भाषा ?
सयौं वर्ष निदाएर ब्यूँझेका आँखाहरू बोल्छन्,
खै मेरो संस्कृति र संस्कार ?
...
म आफैंभित्र अल्झिरहेछु,
बिनाअस्तित्व यहाँ
बाँच्नुको चाह कति अनौठो ?
बत्तीको प्रकाशमा झुम्मिने कीटपतंगझैं
झुम्मिएर आफैं जलिरहेछ, मरिरहेछ
मानौँ, बेतुक जीवनको आकर्षणमा
आत्मदाह गर्दै
यो कलेडस्कोप जिन्दगी !
...
जीवन र मृत्युको लुप होलमा
जिउनुको अभिशप्त इच्छा केवल
आफैंभित्रको अन्योल
घात–प्रतिघातको खेल रै’छ
नौरंगी सपना देख्दै रंगहीन बाँचेको
कलेडस्कोप जिन्दगी
मिल्न खोजेर पनि बेमेल
समानतामा असमान
अर्थपूर्ण लागिरहने तर व्यर्थ
नमिलुन्जेल मिलोस्जस्ता पंक्तिहरू
मिल्दा एकै रङको खल्लो
स्क्वायर ब्लकहरूको चाङ
खै कस्तो–कस्तो !
यो कलेडस्कोप जिन्दगी !
...
मानसिक संकीर्णतामा बाँचेको
मभित्रको अर्को मान्छे
मैलाई घचघच्याउँदै
पन्छाउन खोज्दै छ विषमताको काँडेतार
भत्काउन खोज्दै छ
अघोषित आतंकको असमान पर्खाल
अस्तित्वको जञ्जालमा
आफ्नै अस्तित्व बोध नभएका
बाध्यताहरूको जालो काटेर
अन्योलग्रस्त परिबन्दमा
छर्न खोज्दै छ उज्यालो ।
...
आत्माभिभान जुर्मुराउँदै छ
सावधान गर्दै अनि चिच्याउँदै छ
ए ! असमानताका खाडल खन्ने
दानवहरू हो,
बहुलताको सुन्दर सागरबाट
भाग्न खोज्ने राक्षसी छालहरू झैं
आखिर किनारामा पछारिँदै, ठोकिँदै
सागरकै आगोमा फर्किनेछौं
यसैले भो नखेल आगोसँग
क्षणभर बेमतलब
दम्भ बोकेर यहाँ
यो जिउनुको अभिलाषा
जीवनको स्वतन्त्रता
हरेकको छ,
यसैले यहाँ नखेल भो
अर्थहीन कलेडस्कोप खेल जिन्दगीको