‘कोरोनाको भन्दा मल नपाइएला भन्ने धेरै डर’

‘कोरोनाको भन्दा मल नपाइएला भन्ने धेरै डर’

गोरखा : गोरखाका कृषि सहकारीमा मल किन्ने किसानको भीड लाग्न थालेको छ। सिजनमा मल नपाएका पीडित किसान मल आउन थालेपछि कोरोना फैलने डरत्रासको पर्वाह नगरी सहकारीमा भीड लाग्ने गरेको उपभोक्ता किसान स्वयंको भनाइ छ।

मल नपाएर छटपटाएका किसानको शनिबार मल आएको सुन्ने बित्तिकै सहकारीमा भीड लागेको पालुङ्टारका हरि देवकोटाले जानकारी दिए। ‘केको कोरोना, केको सामाजिक दूरी। न सबैले मास्क लगाएका छन्, न सेनिटाइजरको व्यवस्था छ। पालुङ्टार कृषि सहकारी संस्थाको कार्यालयमा घचेडाघचेड, ठेलाम्ठेल थियो’, उनले भने, ‘अहिले धमाधम धान पोटाउने बेला भएको छ। मल चाहिने मुख्य बेला यही हो। सबैलाई मल चाहिएको छ। यस्तो बेलामा कोरोनाको डर भन्दा मल नपाइएला भन्ने डर धेरै भयो।’ 

सहकारी संस्था, नगरपालिका कार्यालय, कृषि शाखा, स्थानीय प्रहरी इकाइ कुने पनि निकायले मल वितरण व्यवस्थित बनाउन पहल नगरेको उनले गुनासो गरे। ‘हिजो (शुक्रबार) मल आयो। शनिबार बिहानदेखि वितरण गर्ने भन्ने सबैलाई थाहा थियो’, उनले भने, ‘मल वितरणमा भीड लाग्छ भन्ने पनि सबै निकायलाई थाहा छ तर कसैले पनि भीड व्यवस्थित बनाउने प्रयास गरेनन्।’ 

कोरोना फैलनेमा प्रशासक कसैलाई पनि चिन्ता नलागेको उनले बताए। ‘निषेधाज्ञा जारी गर्दैमा सबै समस्या समाधान हुन्छ भन्ने ठानेका होलान्’, उनले भने। पालुङ्टार कृषि सहकारी संस्थाका अध्यक्ष कमल बोगटीले भने सामाजिक दूरी कायम गर्न आग्रह गर्दा पनि किसानले अटेरी गरेका बताए। 

‘भौतिक दूरी कायम गराउन सकेसम्म प्रयास गरेको हो तर सकिएन’, बोगटीले भने, ‘आठ सय बोरा आवश्यकता हो तर ४५० बोरा मात्र आयो। १० किलोका दरले वितरण गरेका छौँ। त्यही पनि पाइँदैन कि भन्ने चिन्ता लागेर किसानको भीड लागेको होला।’ थप मल पनि आउने उनले बताए।

१२ सय हेक्टर धान खेती गरिएको गोरखाका लागि ६५० मेट्रिकटन युरिया मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बताइन्। सो मल साल्ट ट्रेडिङ कर्पोरेशनबाट ल्याएर गोरखाका २१ वटा कृषि सहकारीले किसानसम्म पुर्‍याउने उनले बताइन्। जसमध्ये पालुङटार कृषि सहकारी र जिल्ला उपभोक्ता सहकारीले संघले ल्याइसकेका छन्। अरुले पनि धमाधम ल्याउने क्रममा रहेका कृषि ज्ञानकेन्द्रकी प्रमुख थापाले बताइन्।

‘हामीले जुन-जुन सहकारीलाई मल ल्याउन अनुमति दिएका थियौँ, ती सबैलाई कोरोना महामारीलाई मध्यनजर गरी मापदण्डअनुसार आवश्यक स्वास्थ्य सचेतना अपनाएर मात्र वितरण गर्न प्रतिवद्ध गराएका थियौँ’, उनले भनिन्, ‘भीड लाग्यो भने, वितरण कार्य रोकेर पनि दूरी कायम गराउनू, मास्क लगाउन अनिवार्य गर्नू भनेका थियौँ। तर मल वितरणमा भीडभाड भएको जानकारी पाउँदा दुःख लाग्यो।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.