तनहुँ भानुमा समुदाय संक्रमणको लहर फैलँदै
दमौली : तनहुँको भानु नगरपालिकामा कोभिड १९ को समुदाय संक्रमण दर झन बढ्दै गएको छ। दुई जनाबाट फैलिएको समुदाय संक्रमणको दायरा एउटा वडाबाट क्रमैसँग अन्यत्र विस्तार हुन थालेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार नगरपालिकामा गरिएको पछिल्लो एक सय ७२ जनाको परीक्षणमा थप २२ जनामा पोजिटिभ देखिएको छ। यो एकै साथ देखिएको संक्रमणको पहिलो रेकर्ड हो। यसअघि सोही नगरपालिकाका २० जनामा एकै साथ संक्रमण देखिएको थियो। संक्रमण देखिएकामा यसअघि संक्रमितको सम्पर्कका आधारमा परीक्षण गरिएका व्यक्ति धेरै छन्। ‘तीन जनाबाहेक सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको नमुना हो’, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने।
अहिलेका नयाँसहित भानुमा मात्र संक्रमितको संख्या ६६ पुगेको छ। उनीहरुमध्ये १६ जना भने निको भएर घर गइसकेका छन्।
एउटा वडाबाट अर्को वडातिर संक्रमण
यस अघि भानुमा समुदाय संक्रमणका अधिकांश घटना भानु १ मा देखिएको थियो। संक्रमण फैलन थालेकाले नगरपालिका झण्डै तीन सातायता लक डाउनको अवस्थामा छ। आइतबार लक डाउनको समय सकिनु अघि नै संक्रमण देखिएकाले अब नयाँ रणनीति तय गर्नुपर्ने दबाब नगरपालिकासामु देखिएको छ।
‘पहिला भानुमा मात्र सीमित भएकाले ध्यान त्यतै केन्द्रित गरेका थियौं’, भट्टराईले भने, ‘अब संक्रमण अरु वडामा फैलन थालेको छ।’ अहिले भानु ७ का १३ जना र ६ का ९ जनामा संक्रमण देखिएको हो। यस अघि भानु १ मा संक्रमितको संख्या बढी देखिए पनि अहिले देखिएकामा ६ र ७ का देखिएका छन्। यसले संक्रमणको दायरा झनै फराकिलो भैरहेको देखाएको छ।
संक्रमितमा केही व्यवसायी पनि रहेको बताइएको छ। भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले संक्रमण फैलन नदिन संक्रमित क्षेत्रमा लकडाउन गरेर परीक्षणमा गति दिइए पनि फैलिरहेकाले जटिलता थपिएको बताए। ‘नियन्त्रणका लागि सक्दो प्रयास भैरहेको छ’, उनले भने,‘अब थप रणनीति तय गरेर अघि बढ्छौं।’