बागमती प्रदेश सभाकी उपसभामुख तामाङ कोरोना मुक्त
नुवाकोट : कोभिड–१९ को संक्रमण भएका नुवाकोटका हाइप्रोफाइल व्यक्तिहरु निको भएका छन्। बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ र उनका नौं वर्षिया छोरा, नेकपा किस्पाङका अध्यक्ष वीरबल तामाङ, दुप्चेश्वर गाउँपालिका-का वडाध्यक्ष किशोर आचार्य कोरोना मुक्त भएका हुन्।
कोरोना संक्रमण भएको १४ दिनपछि बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ र उनको नौं वर्षीय छोरा एकसाथ पूर्ण रुपमा निको भएका हुन्। नुवाकोट घर भएकी तामाङ गत भदौ १ गतेदेखि उनीहरु मकवानपुरको हेटौडास्थित उपसभामुख निवासको ‘होम आइसोलेसन’मा बसिरहेका थिए। उनले कोरोनाको दोश्रो स्वाब परीक्षण गर्दा कोभिड–१९ को नतिजा ‘नगेटिभ’ आएसँगै दैनिक कामकाज अन्य व्यक्तिहरुसंगको सम्पर्कमा रहेर गर्ने कामहरुलाई निरन्तरता दिएकी छन्।
यता, नुवाकोटको किस्पाङ गाउँपालिकाका नेकपा अध्यक्ष बिरबल तामाङ पनि कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन्। काठमाडौंको टोखा नगरपालिकामा बसोवास गरिरहेको बेलामा तीन साता अगाडि उनी कोरोना संक्रमित भएका थिए। त्यसपछि ‘होम आइसोलेसन’मा बसेका तामाङ १७ औं दिनका कोरोना मुक्त भएका हुन्। यस्तै, दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष किशोर आचार्य पनि कोरोना मुक्त भएर घर फर्किएका छन्।
तादी गापास्थित खरानीटार अस्पतालको आइसोलेसनमा रहेर उपचार गरेका आचार्यको तेश्रो पटकको पिसिआर परीक्षणमा कोरोना मुक्त भएको हो। कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा बसेका उनको दोहोर्याएर पीसीआर परीक्षण गर्दा पनि संक्रमण देखिएको थियो। तेश्रो पटकको परीक्षणमा उनी कोरोना मुक्त भएपछि घर गएका हुन्। उनले आफु घरमा पुगेरपनि क्वारेन्टाइनमा बसिरहेको जानकारी गराएका छन्।