अहिलेकै क्रियाशील सदस्यताबाट महाधिवेशनमा जाऔं : पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीका कारण महाधिवेशन प्रभावित हुन नदिन अहिलेकै क्रियाशील सदस्यताबाट अधिवेशनमा जान सकिने विकल्प सुझाएका छन्। उनले फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यताकै कारण महाधिवेशन सार्ने काम स्वीकार्य नहुने स्पष्ट पारे ।
‘अहिले भएकै क्रियाशील सदस्यताबाट चुनाव गराऔं । पुरानै क्रियाशील सदस्यताबाटै वडा, नगर अधिवेशन गराउन सकिन्छ,’ सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आयोजना गरेको भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, ‘त्यो भएन भने पनि अहिलेकै महाधिवेशन प्रतिनिधि जम्मा गरेर पनि प्रदेश/जिल्ला अधिवेशन गर्न सकिन्छ ।’
उनले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्दै कोरोना भाइरस संक्रमणले महाधिवेशन सार्ने बहाना बन्न नहुने बताए । ‘अहिलेको आवश्यकता अधिवेशन चाँडै गर्ने हुनुपर्छ । हाम्रो अठोट र राजनीतिक इच्छाशक्ति त्यतातर्फ हुनुपर्छ । समयमै अधिवेशन सम्पन्न गर्नेतर्फ लागौं,’ उनले भने ।
पार्टीको महाधिवेशनबाट आउने नेतृत्वले आमनिर्वाचनमा पार्टीलाई जिताउने अठोट राख्नुपर्ने नेता पौडेललको भनाई थियो । उनले दुई वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएकाले महाधिवेशनमा लामो समय अलमलिन नहुनेमा जोड दिए । ‘स्थानीय तहको चुनाव आइसक्यो । त्यसकारण अधिवेशन ढिलाई गर्ने हो भने आत्मघाती हुन्छ,’ उनले भने।