‘सोचेझैं जिन्दगी रैनछ’

‘सोचेझैं जिन्दगी रैनछ’

काठमाडौं : यसपालिको तीजमा सबैभन्दा हिट भएको गीत हो, ‘सोचेझैं जिन्दगी रैनछ।’ कोरोना महामारीका कारण भोग्नु परेको लकडाउनले कुन पेसाकर्मी, व्यवसायीको पो जिन्दगी सोचेको झैं भएको होला र ? म्युजिक भिडियोमा मुसुक्क मुस्काउँदै कम्मर मर्काई मर्काई नाच्ने कलाकारहरूको पनि जिन्दगी सोचेझैं कहाँ पो छ र ?

‘सोचेझैं जिन्दगी रैनछ’ बोलको गीतमा नाच्ने एक प्रमुख कलाकार हुन्, अञ्जली अधिकारी। उनको गृहजिल्ला बर्दियाको मैनापोखर अन्नको भण्डार हो। तर लकडाउनमा बर्दियाको चामल काठमाडौं उक्लिँदैन। करिब चार सय म्युजिक भिडियोमा देखिएकी अधिकारी भन्छिन्, ‘लकडाउनअघि जिन्दगीमा कुनै टेन्सन थिएन। अब भने गाह्रो भो।’ त्यसो त अधिकारीले लुजडाउन भएसँगै १५ वटा म्युजिक भिडियोमा काम गरिन्। लकडाउनअघि भन्दा पचास प्रतिशत कममा खेले पनि यसले आफूलाई निकै ठूलो राहत दिएको उनको भनाइ छ। यद्यपि उनले आफ्नो पारि श्रमिक खुलाउन चाहिनन्।

लकडाउन खुुकुलो हुँदा म्युजिक भिडियोमा व्यस्त हुने मोडल हुन्, नायक पुष्प खड्का। उनले यसबीचमा करिब १० वटा म्युजिक भिडियोमा काम गरे। एउटा गीतको म्युजिक भिडियो बनाउँदा कलाकारसँगै निर्देशक, क्यामराम्यान, प्राविधिक, सम्पादकलगायत ४०-५० जनाको टिम हुन्छ। खड्का भन्छन्, ‘काम नभएर मानसिक समस्यामा गुज्रिरहेको थिएँ। धन्न, लुजडाउनको तीन सातामा काम गरेपछि अब भने दुई अढाई महिना धान्न पुग्छ। मेरो टिमका अरूलाई पनि मेरोजस्तै होलो भयो होला।’

‘दर्पण छायाँ–२’, ‘दाल भात तरकारी’, ‘मंगलम्’लगायत फिल्ममा अभिनय गरिसकेका नायक पुष्प आफ्नो म्युजिक भिडियोको मोह नहराउने बताउँछन्। करिब पाँच सय म्युजिक भिडियोमा काम गरिसकेका उनले लकडाउनअघि एउटै म्युजिक भिडियोमा एकदेखि डेढ लाख रुपैयाँसम्म पारि श्रमिक लिए। तर लुजडाउनमा पारि श्रमिक ३० देखि ३५ प्रतिशत मात्रै लिएका छन्। भन्छन्, ‘घाँटी हेरेर हाड निल्नुपर्छ। टिमका सबै बाँच्नुपर्छ।’

करिश्मा ढकाल म्युजिक भिडियोको एक जल्दोबल्दो नाम हो। नृत्य नै आफ्नो जिन्दगी बताउने उनले करिब एक हजार म्युजिक भिडियोमा काम गरेकी छन्। लकडाउन खुकुलो भएपछि उनले १५ वटा म्युजिक भिडियोको काम सकाइन्। ‘एउटा म्युजिक भिडियोमा पहिले कति दाम लिइयो, त्यो नभनौं तर अहिले लुजडाउन पिरियडमा बीसै हजारले पनि काम चलाइयो। के गर्नु, समयअनुसार चल्नै पर्‍यो।’

गायक तथा म्युजिक भिडियो निर्माता चक्र बम सुदूरपश्चिम क्षेत्रको भाकामा आफ्नै शब्दरचनामा गीत पस्किन खप्पिस छन्। हालै उनको ‘ओइ काजल’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। लकडाउन अवधिमा भने उनी सिर्जनात्मक कामबाहेक सुटिङको झमेलामा लागेनन्। भन्छन्, ‘आफ्नो रुचिको सुदूरपश्चिम क्षेत्रको गीतमा म्युजिक भिडियो बनाउँदा लोकेसन पनि उतैको खोज्नुपर्छ। त्यो अहिले सम्भव छैन।’

कलाकारको प्रयोग, सुटिङ लोकेसनको अवस्था लगायतलाई ध्यानमा राखी रिलिज हुँदासम्म सरदर चार÷पाँच लाख रुपैयाँ एउटा म्युजिक भिडियोको निर्माणमा खर्च हुन्छ। त्यसो त १०÷१२ लाख रुपैयाँ खर्च भएको भन्ने निर्माता पनि छन्। तर ‘ओइ काजल’ बोलको गीतको भिडियो निर्माण एक लाख रुपैयाँमै सकाएको जानकारी गायक चक्र बम दिन्छन्।

म्युजिक भिडियो निकै व्यावसायिक हुँदै गएको छ। त्यसैले निर्माताहरूले चल्तीका कलाकारलाई पनि खेलाउन थालेका छन्। ठूलो पर्दाको सुटिङ नहँुदा बेरोजगार भएका कलाकार पनि म्युजिक भिडियोमा भटाभट देखिए। लकडाउनपछि म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, वर्षा राउत, वर्षा सिवाकोटी, प्रियंका कार्की, नीता ढुंगाना, अनु शाह, नायक पल शाह, नाजिर हुसेन, गौरव पहाडी, दयाहाङ राईलगायतले काम गरे। यसरी लकडाउनमा धेरै कलाकारको आम्दानीको मुख्य स्रोत नै म्युजिक भिडियो रह्यो।

चल्तीका कलाकारले समय कटनीका लागि म्युजिक भिडियोलाई लिएको पनि देखिन्छ। तर नायक पुष्प खड्का फिल्म सुटिङको बेला पनि म्युजिक भिडियोलाई माया नमार्ने बताउँछन्। उनी ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’ बोलको शिव परियारको गीतमा मोडल भएर हिट भएपछि ‘दर्पण–२’ फिल्मका लागि छानिएका थिए। भन्छन्, ‘म फिल्म लाइनमा आएकै म्युजिक भिडियोको कारणले हो। यसलाई कसरी माया मार्नु ? ’

जसरी म्युजिक भिडियोमा नाम चलेपछि मोडलहरू फिल्ममा छानिएका छन्, त्यसरी नै अहिले टिकटकमा हिट हुनेहरूलाई म्युजिक भिडियो निर्माताहरूले आँखा लगाइरहेका छन्। किनकि म्युजिक भिडियोका कलाकारहरू पनि महँगा हुँदै गएका छन्। तर लकडाउनले भने उनीहरूको भाउ स्वात्तै घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.