नेपाल पछाडि पर्नुपर्ने अब कुनै कारण छैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
‘युवा अन्तर्क्रिया कार्यक्रम’मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे। 'विदेशमा गएर नेपाली युवाले अरुका देश बनाएका छन्। अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ। हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन्। त्यसैले अब हामी हाम्रो देश बनाउँछौ,' प्रधानमन्त्री ओलीले भने।
उनले देशबाट गरिबी समाप्त पार्नुपर्ने र देशको स्वाधीनताको झण्डा झुक्न नदिने वाचा गरेका थिए। प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए।
उनले विद्यार्थीहरू अरुको बहकाबमा लाग्न नहुने र अशल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सिर्जना गर्न सरकारले विशेष ध्यान दिइरहेको बताए।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए।
नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरूले उनका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए।
प्रतिक्रिया दिनुहोस !