टोलटोलमा कोरोनाबाट बच्न सिकाउँदै शिक्षक
गोरखा : कोरोनाबाट बच्न सचेतना जगाउने उद्देश्यले गोरखाका टोलटोलमा शिक्षक खटिएका छन्। गाउँपालिका कार्यालयको आह्वानमा शिक्षकले टोलटोलमा गएर कोरोनाबाट बच्ने उपाय, रोकथाम, नियन्त्रण आदिका बारेमा सचेतना जगाएका हुन्।
बालबालिका सचेत भएमा अभिभावकलाई पनि सचेत गराउन सजिलो हुने मनाशयले सामुदायिक विद्यालयका सबै टोलमा शिक्षक खटाएर विद्यार्थीलाई सचेत गराएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।
‘बालबालिका सचेत भए भने उनीहरुले बुबा आमा, दाइदिदीलाई पनि सचेत गराउँछन्, त्यसैले संघ सरकारको निर्णय अनुसार हामीले शिक्षक परिचालन गरेका छौं’, अध्यक्ष विष्णु भट्टले भने, ‘हाम्रा शिक्षक साथीहरु अहिले दैनिक टोलटोलमा पुगेर बालबालिका भेला गराएर कोरोनाका बारेमा पढाउन सुरु गर्नुभएको छ।’ प्रत्येक जमघटम १५ जनाभन्दा धेरै नराखेको, सामाजिक दुरी कायम गरेको, मास्क अनिवार्य गराएको उनले बताए।
आरुघाट गाउँपालिकाले पनि शिक्षक परिचालन गरी कोरोना महामारीबाट बच्ने तरिका आदिका बारेमा सचेतना कार्यक्रम गर्ने तयारी गरेको छ। टोल, टोलमा शिक्षक खटाएर बालबालिकामार्फत समुदायमा कोरोना महामारीबाट बच्ने तरिकाका बारेमा सचेत गराउने, महामारीबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण विधिका बारेमा सिकाउने तयारी गरिएको शिक्षा शाखाले जनाएको छ।
अजीरकोट गाउँपालिकाले पनि सो अभियान चलाउने तयारी गरेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !