हराएको सुटकेस र नोस्सिदे विश्व कविता पुरस्कार

हराएको सुटकेस र नोस्सिदे विश्व कविता पुरस्कार

बाहिर सिमसिमे पानी। कोठाभित्र छु, झ्यालबाट देखिने दृश्यले बारम्बार मोहित बनाइरहेछ। सानो बाटो, चउर र हरिया रूखहरू। तर, सबैसबै अँध्यारोकै खल्तीमा थिए। म त्यही अँध्यारोभित्र उज्यालो खोजिरहेथें, जसरी अँध्यारो सुरुङको अन्त्यमा उज्यालो भेटिन्छ। एक्लो ज्यान बेलायततिर बत्तिएको वर्ष दिन भइसकेको छ। नवीन क्षेत्री भरतपुरदेखिकै सत्संग भएका मित्र। पाँच मिनेटको दूरीमा हुनुहुन्छ। सँगै बसेर चियाको चुस्कीसँगै कविताका कुरालाई चास्नी बनाउनु हाम्रो दैनिकी। मित्रताकै बल्छीले तानेर वेल्सबाट स्कटल्यान्ड ल्याउने परिवारकै सदस्य भने नि हुन्छ। अनिता, असल र सरल नेपालको पूर्वी जिल्ला झापा बिर्तामोडमै थिए।

परिवार स्वदेशमा छोडेर विदेशिने सबैलाई यस्ता क्षण प्रायः मनमा चर्किने गर्छन्। त्यो साँझ पनि म अँध्यारोमा कुनै भित्तामा झुन्डिएको चमेरोजस्तो बनेको थिएँ। चर्किरहेको मनसँग ओछ्यानमा सिरकको न्यानोपन गाँसेर झ्यालबाट हेरिरहेको थिएँ। मौसम त्यसरी जोडजोडले सास फेरिरहेझैं लाग्थ्यो जसरी म। सर सर गरेर हल्लिएका रूखका हाँगाको आवाजले बेलाबेला झस्काउँथ्यो। लाग्यो, केटाकेटी भएको भए रुझ्न जान्थें हुँला।

 सिकुटे पानीका थोपालाई छेक्न खोज्थें हुँला। समयले नेटो काटिसकेको छ, म (मन÷मुटु) चट्टान भइसकेको थिएँ। अचम्म ! चट्टान मन÷मुटुकै बीचबाट अचानक कविताको गेडो फुत्रुक्क निस्कियो। रचनात्मक मुड बन्यो। थापाजीकै घरको कोठामा बसेर लेखें ‘चोरिएको’ नामक कविता। एउटा अप्रत्याशित सफलता पायो त्यसले ‘नोस्सिदे विश्व कविता प्रतियोगिता’मा। अर्थात् विजेता बनायो म अर्थात् मुकुललाई।

म सानै थिएँ जब मैले आफ्नै एउटा घर बनाएँ
सानो मेरो खुसीको झुपडी
बुबाको अग्लो घरनजिकै उभिएको थियो...

कविताको ड्राफ्ट एकै बसाइमा सकिएको थियो। कहिलेकाहीँ आउने ‘क्रिएटिभ मुडहरू’ धेरै तीव्र मात्र होइन, शक्तिशाली पनि हुँदा रहेछन्। तर, कहिलेकाहीँ केही आइहाले पनि चकचके बालकजस्तै यताउता भागिरहन्छन्। फकाई फकाई एउटा दिशामा हिँडाउनु पर्छ। अर्को साँझ, ‘नोस्सिदे वल्र्ड पोएट्री कम्पेटिसन’ले कुनै वेबसाइटको पानाबाट मलाई चियाइरहेको पाएँ। त्यही ‘चोरिएको’ कवितालाई सुटुक्क पठाउने निर्णय गरें। त्यसलाई अंग्रेजी लुगा पनि लगाइदिएँ र पठाइदिएँ। केही जितिहालिन्छ कि भन्ने पिलन्धरे आशा कुनामा साँचें पनि। पठाइसकेपछि त्यो पनि बिर्सिदिएँ किनकि म जान्दथें, कुनै आशक्तिको डोरी तानेर बसिरहे त्यो चुँडिएको दिन हुत्तिएर लडिन्छ।

तीन÷चार महिना बितेछन्। एक बिहान फोनमा फुरुंग पार्ने म्यासेज आयो, ‘मुकुल, धेरै बधाई ! तिमी नोस्सिदे विश्व कविता २००९ को सर्वोत्कृष्ट विजेता भयौ। अक्टोबरमा इटालीको रेज्जो कलाब्रियामा वितरण गरिने कार्यक्रममा आउन आमन्त्रण गर्दछौं।’ यति बेलासम्म अनिता आइसकेकी थिइन् बेलायत, तर बाबुहरू झापामै। सूचना रसिलो थियो र परिवारमा ‘झिलिक्क’ बालेर गयो। पुरस्कारका संस्थापक अध्यक्ष प्रोफेसर पास्कल अमातोले ईमेल पठाए। 

इटाली भिसाका लागि चाहिने कागजात पनि पठाएँ। पच्चीसौं शृंखला परेकाले पुरस्कार वितरणको तीनदिने कार्यक्रम रहेछ- दुई दिन कलाब्रियामा र तेस्रो दिन राजधानी रोममा। बेलायत आएयताको युरोपको एक अर्को देश पनि देख्न पाउने अवसरले हामीलाई समय हामीप्रति उदार हुँदै गएको हो कि भन्ने लागिरहेथ्यो। इटाली यात्राका सबै तयारी भए। अनिता र म निस्कियौं। एकैछिनमै जहाजको पखेटा हालेर उड्यौं। अमातोले ईमेलमा महत्वपूर्ण जानकारीसँगै कलाब्रिया कति बजे आइपुग्छु भनी सोधेका थिए-

डियर मुकुल,
म यो जानकारी गराउन चाहन्छु कि अक्टोबर २६ को साँझ ८ बजे नेटवर्क टीभीमा यो वर्ष पुरस्कृत कविहरूको सहभागिता रहेको एक घण्टाको कार्यक्रम छ। कृपया रोमबाट समयमै कलाब्रिया आइपुग्ने फ्लाइट बुक गर्नुहोला। पछि फर्कंदा हामी सबै सँगै ट्रेनमा रोमसम्म आउनेछौं। कलाब्रिया एअरपोर्टमा दाँते अलिगेरी विश्वविद्यालयका एक नेपाली विद्यार्थीसँग लिन आउनेछु। कलाब्रियामा रहुन्जेल ती नेपाली विद्यार्थीले तपाईंको इन्टरप्रेटरको भूमिका निर्वाह गर्नेछन्। रोमको कार्यक्रमलाई नेपाली कन्सुलेटलाई आमन्त्रण-पत्र पठाएको छु। तर, कुनै उत्तर आएको छैन।
प्रो. पास्कल अमातो

अनिता र म बेलायतको आकाशबाट पेरिसतिर उडिरहेथ्यौं। ससाना रहर र उपलब्धिहरू स्याहार्दै यहाँसम्म आइपुगेका थियौं। जहाजसँगै उडिरहेथे हाम्रा सपना र जीवनका योजनाहरू। पेरिसमा जहाज ओर्लियो। ट्रान्जिट मात्र एक घण्टा। रोमको फ्लाइट समात्नु थियो यसैबीच। १५-२० मिनेट बाहिरिँदै बितिसकेको थियो। समयान्तरले पनि केही समय खाँदो रहेछ। रोम उड्ने टर्मिनल खोज्दै दौडिन थाल्यौं। बचेको समय हतारोको कन्सिरी उखेल्दै ठिक्क भो। कुद्दाकुद्दै पनि जहाज छुट्ने समयले बाजी मार्‍यो। कहाँ भेट्न सक्नु र ! आधा किलोमिटर टाढै थियौं, जहाज उडिगयो। अर्को जहाज समाऊँला भन्यौं। रोमबाट कलाब्रियाको पनि छुट्ने हो कि ? चिन्ताले मनलाई ठुंग्न थाल्यो। अलिटालियाको डेस्कमा गई जहाज छुटेको रिपोर्ट गर्‍यौं। एक घण्टापछि अर्को उडानमा जान सक्ने बताए। लामो सास फेर्‍यौं र थचक्क बस्यौं।

अन्ततः उड्यौं फ्रान्सको आकाश हुँदै इटाली। ओर्लिएर लगेज कलेक्सनतिर लाग्यौं। यात्रुका ब्याग, सुटकेसहरू आए र घुम्न थाले। उनीहरू लगेज तान्दै लिई जान थाले। लगेज सकिए, हाम्रो भने आउँदै आएन। कुन जाली औतारीले छल गर्‍यो ? छेवैको अफिसमा रिपोर्ट गर्‍यौं। भने, सर्चमा राखिदिएका छौं, भेटिएपछि जहाँ बस्ने हो त्यहीं आउँछ। कलाब्रियातिर लाग्यौं, दिदीलाई भिनाजुको घर छोडेर फर्किरहेको भाइजस्तो अत्यावश्यक कपडा र सामानहरूको सुटकेस कुनै अज्ञात ठेगानामा छोडेर। कलाब्रियाको एअरपोर्टमा लिन आएका थिए, वीरमान श्रेष्ठ र प्रोफेसर अमातो। समयमै आइपुगेको देखेर उनीहरू दंग परे तर सुटकेस हराएको सुनेपछि खुसीलाई त्यसरी फटाए जसरी अमिलो परेर फाट्छ दूध। प्रोफेसरको अंग्रेजी पनि त्यति राम्रो रहेनछ।

केटाकेटी भएको भए रुझ्न जान्थें हुँला। सिकुटे पानीका थोपालाई छेक्न खोज्थें हुँला। समयले नेटो काटिसकेको छ, म (मन÷मुटु) चट्टान भइसकेको थिएँ। अचम्म ! चट्टान मन÷मुटुकै बीचबाट अचानक कविताको गेडो फुत्रुक्क निस्कियो। रचनात्मक मुड बन्यो। थापाजीकै घरको कोठामा बसेर लेखें ‘चोरिएको’ नामक कविता। एउटा अप्रत्याशित सफलता पायो त्यसले ‘नोस्सिदे विश्व कविता प्रतियोगिता’मा। अर्थात् विजेता बनायो म अर्थात् मुकुललाई।

रोममा ओर्लेदेखि नै अंग्रेजी सुनिन छाडेको थियो। अंग्रेजी भाषाको दबदबा विश्वभर भए पनि युरोपका केही देशमा त्यति महत्व नदिँदा रहेछन्। उनीहरू आफ्नो भाषामा गौरव गर्ने र भाषिक आत्मनिर्भरता रुचाउने रहेछन्। यसकारण अमातोले वीरमान भाइलाई दोभाषेको भूमिका सुम्पिएका रहेछन्। वीरमान कलाकार पनि रहेछन्, पेन्टिङ र फोटोग्राफीका सोखिन। नेपालीले पुरस्कार जितेकोमा एउटा उत्ताउलो खुसी छाएको रहेछ उनमा। त्यो होटेलमा विभिन्न देशबाट आएका साहित्यकार थिए। सर्वोत्कृष्ट विजेतापछि दोस्रो श्रेणीमा पुरस्कार जित्नेहरूलाई विजेता भनिएको थियो। त्यो श्रेणीमा क्युबाका वियत्रेज, इटालीकी अन्नामारिया, ब्राजिलकी लिलियन र कोंगोका लाइयोका। 
तेस्रो श्रेणीको सफलताको लहर छुनेहरू १० जना थिए। जुन पुरस्कारलाई ‘स्पेसल मेन्सन’ भनिएको थियो। उनीहरू उरुग्वे, इटाली, स्पेन, दक्षिण अफ्रिका, क्युबा, ब्राजिल र अर्जेन्टिनाका थिए। अन्तरदेशीय जमघटका ती क्षण अभूतपूर्व रहे। अमातोले परिचय गराउँदा हामीलाई विशेष दृष्टिले हेरेका थिए, सायद कुनै विशेष आभा खोजिरहेथे हाम्रा अनुहारमा। सुटकेस नआए साँझ टेलिभिजनमा के गर्ने। लगाएको त जिन्स र ज्याकेट मात्र।

नयाँ ठाउँमा सुट किन्न कता जाने ? समय पनि थिएन। अलमलमा रुमल्लिएँ। वीरमानले होटेलको रिसेप्सनिस्टलाई रोममा फोन गर्न लगाए। अमातो छटपटाइरहेथे, त्यहाँ पहिरनसम्बन्धी नियम पालना गर्नैपर्ने रहेछ अर्थात् सुट लगाउनैपर्ने। अन्त्यमा प्रोफेसर घर गएर आफ्नै सुट ड्राइभरलाई पठाएछन्। नीलो रङको सर्ट र कालो कोट पाइन्ट। साइज लगभग ठीक भयो। स्टेज भव्य थियो। हामीलाई स्टेजमा राखियो लस्करै। फुर्तिला सूत्रधार आएर बोल्न थाले तर के के बोले के के, मलाई धामीले फलाकेजस्तो लागिरहेथ्यो। भाषा मान्छेको चेतनाको एक तिलस्मी आविष्कार रहेछ। बुझ्न सके सर्वत पिएजस्तो, नबुझे एक अमूर्त आवाज अमूर्त स्केचझैं। वीरमानले कानमा केही भन्दा उता उसले अरू दस थरी बोलिसकेको हुन्थ्यो।

सांगीतिक प्रस्तुति थियो। ती सूत्रधार निकै प्रखर वक्ता लाग्थे। त्यसपछि उनले प्रोफेसर अमातोलाई बोल्न संकेत गरे। त्यसपछि सूत्रधार मतिर फर्किए र जिब्रो फट्कारे उसरी नै- मेरो कविताको रचनागर्भ सोधेका रहेछन्। मैले नेपालीमै बोलें किनकि उनीहरू मातृभाषामै बोलेको सुन्न चाहन्थे। भनें- मेरो कविताको स्रोत नेपालको ग्रामीण जनजीवन, अनौपचारिक संस्कार र संस्कृति, सरलपन र आत्मीयता हो। पुरस्कृत कविता पनि नेपालीमै वाचन गरें। इटालियनमा ‘रापितो’ भनी अनुवाद भएको रहेछ जुन अमातोले नै वाचन गरे। त्यो कविताले उनीहरूलाई कसरी स्पर्श गर्‍यो, त्यो त उनीहरू नै जान्दथे। कार्ला नाम गरेकी एक कविले अर्को दिन मलाई भनिन्- तिम्रो शैली नितान्त अलग रहेछ।

पुरस्कार वितरण कार्यक्रमको ठूलो दिन थियो अर्को दिन। हामीलाई किनमेल गर्ने कुनै फुर्सदै भएन। आयोजकहरू चिमोटी बस्थे हाम्रो समय, भेटघाट, घुमघाम, लन्च र डिनरका कार्यक्रममा। एउटा ठूलो समाचार पत्रिकामा निस्केको रहेछ। भाषिक सीमाका कारण हातमा लिएर हेर्‍यौं र अनुभूत मात्र गरेर चित्त बुझायौं। कार्यक्रमस्थल पलात्से क्याम्पनेला, कलाब्रियाको क्षेत्रीय कार्यालयको भवन।

भवन १६औं शताब्दीका प्रसिद्ध दार्शनिक तोमासो क्याम्पनेलाको स्मृतिमा बनेको रहेछ। कलाब्रियाका भवन संरचनामध्ये एक प्रमुख र भव्य। मानव जातिलाई केही दिई इतिहास बनाई जाने मानिसको स्मृति कुनै स्तम्भ, सडक, स्थान वा भवनहरूका नाममा राख्ने प्रचलन विश्वभर रहेछ। यो पुरस्कारको नाम नोस्सिदे पनि दक्षिणी इटालीमा इसापूर्व तेस्रो शताब्दीमा बाँचेकी एक कवयित्री नोस्सिदे दी लक्रीको स्मरणको स्वरूप रहेछ। सगरमाथाको फेदीबाट उछिट्टिएको एक फिरन्ता म, संयुक्त राष्ट्रसंघको हेरिटेज लिस्टमा परेको यो पुरस्कार। त्यो प्राचीन सभ्यता र इतिहाससँग यसरी जोडिन आइपुग्नु रोचक थियो।

दक्षिणी इटालीमा समुद्र तटस्थित मनमोहक सहर कलाब्रियालाई मेडिटरेनियन सागरको सबैभन्दा ठूलो सिलिली टापुबाट एक समुद्री गल्छेडोले छुट्ट्याएको रहेछ। पूर्वी नेपालतिर घरहरूमा नरिवल र सुपारीका रूखहरू देखिएजस्तै जताततै भेटिने पाल्म जातका रूखहरूले त्यही झझल्को दिइरहेथ्यो। यो सादृश्यताको अनुभवले हामीलाई सबै कुरा बिर्साएर रुवाजस्तै हलुंगो बनाएर उडाइरहेथ्यो। मध्याह्नपछि समय चोरेर हतारहतार केही किनमेल गर्‍यौं। सुटकेस हराएको आकस्मिक घटनाको विचलनले दिएको चिन्ता र तनाव छोडेर क्रमशः मुक्त हुँदै थियौं। म होइन, नेपालले पुरस्कार जितेको छ र देश बोकेर इटालीमा हिँडेका छौं भन्ने सोचको अबिर दलिन थालेको थियो।

हल खचाखच छ। पत्रकार, कलाब्रियाका काउन्सिलर र अरू त्यहाँका विशिष्ट व्यक्तित्वहरू। समारोह र पुरस्कार आयोजकहरू प्रतियोगिताको वैश्विक आयाम र हिमालयको देश नेपालको पहिलो विजेता भनिरहेथे। पुरस्कार ग्रहण गर्दाको क्षण प्रोफेसर अमातो अगाडि थिए। त्यहाँका काउन्सिलर, एक माननीय समाजसेवी व्यक्ति पनि थिए। पुरस्कार राशि, चाँदीमा कपेर बनाइएको प्रमाणपत्र, सोभिनेरको रूपमा दार्शनिक तोमासोको मूर्ति र विभिन्न संस्थाले गिफ्ट पालैपालो दिए। मैले कविता पढिसकेपछि उनीहरूले रेकर्ड गरिएको इटालियनको अनुवाद बजाए। संगीतसहित त्यो विशेष रूपले वाचन गरी रेकर्ड गरिएको रहेछ। त्यो समारोह र त्यो दिन मलाई सधैं अगाडि तानिरहने र उचालिरहने स्मृतिको रूपमा छ, रहिरहने छ।

साँझ समुद्र तट हुँदै पहाडी बाटो कलाब्रिया टाउन बाहिरको मनमोहक ठाउँ लगियो। नीलो समुद्र र पहाडी बाटोको बीचमा रोकियौं। बिछट्टै सुन्दर। समुद्रको फैलावट क्षितिजसम्मै लाग्ने। उज्यालो खस्न लागेको दिनको क्षितिज सबै किसिमका तर्क र बहसहरू परतिर एक अद्भुत ऐश्वर्य बोकेर ध्यानस्थ थियो। त्यो सलेर्नोतिरको बाटो रहेछ। त्यस बेला म स्थानहरूको सुन्दरताको प्रेमले छपक्क भिजेरै हिँडिरहें। भौतिक विकासको नयाँ ऐतिहासिक विम्ब संरचना भएको ठाउँ रहेछ सलेर्नो। त्यहाँ युरोपकै सबैभन्दा अग्लो ठाउँमा बनेको मोटरवे एक हजार मिटरको उचाइमा सुतेको रहेछ। हुन त विकसित मुलुकहरूमा भौतिक विकासका अद्भुत विम्बहरूको कमी त हँुदैन। तर, नसोचेको अवसरमा त्यो दृश्य सामुन्ने हुँदा अनुभूत हुने सुख छुट्टै हुने रहेछ।

प्रोफेसर हाम्रा लिडर थिए। उनी दाँते अलिगेरी विश्वविद्यालयमा समकालीन युरोपको इतिहासका प्रोफेसर रहेछन्। छोटो कदका भए पनि उनको अनुहारमा कैयौं चमकहरू थिए। महाकवि दाँते अलिगेरी इटालीका सर्वाधिक लोकप्रिय कवि र सारा विश्वले नबिर्सने डिभाइन कमेडीका रचनाकार थिए। नेपालका भानुभक्तले नेपाली भाषामा रामायण लेखी नेपाली भाषालाई आमनेपालीको भाषा बनाउन योगदान गरेजस्तो ल्याटिन सम्भ्रान्त भाषाको पकड रहेको इटालीमा आमजनताको भाषामा यस्तो भव्य कृति लेखी इटालियन भाषालाई साहित्यमा स्थापित गराएका थिए। उनै महान् काव्यकारको स्मरण गराउने विश्वविद्यालयमा अमातो जोडिएका रहेछन्।

रोला बार्थले भनेजस्तो भाषाको सरसराहट त्यहाँ सुन्यौं, जब प्रोफेसर अमातोका ड्राइभर हामीलाई लिन आउँथे। ती व्यक्तिलाई अंग्रेजी सुको बराबर पनि नआउने रहेछ। समुद्री गल्छेडो पारिपट्टि मेसिना युनिभर्सिटीमा सेमिनार थियो- प्रतियोगितामा आएका कवितामा भएको विषयगत विविधतामा बहस केन्द्रित। इटालियन भाषाको सरसराहट मात्र सुनिने सेमिनारले मेरो रुचिलाई पक्रन सकेको थिएन। तर एक प्रोफेसर बोलेको हेर्दा उनले केही तत्वज्ञान बाँडिरहेजस्तो लागिरहेथ्यो।

पुगेको दिनसहित तीन रात हामीले कलाब्रियाको पानी पियौं, मानिसका मन र मायामा लुटपुटियौं। अब अर्को दिन राजधानी रोममा कार्यक्रम थियो। वीरमान कलाब्रियामै छाडिए। रोममा संवाद कसले जोडिदेला ? सोचिरहें। त्यो साहित्यिक टोलीमा एकजना फेला परे। उनको नाम आन्तोनियो थियो, अंग्रेजी बोल्न जान्ने रहेछन्। उनी गाउँका गोपाल घिमिरेजस्ता देखिन्थे। उनैले मेरा लागि इटालियन भाषाका डल्ला फुटाइदिए। इटालियन ल्याटिनो अमेरिकन इन्स्टिच्युटको हलमा भएको कार्यक्रममा पत्रकार र कूटनीतिक नियोगका मानिस पनि थिए।

यो एक अर्थपूर्ण समापनका लागि तय गरिएको समारोह रहेछ। आधुनिक विश्वमा काव्यको स्पेस के हो र विश्व कविता प्रतियोगिताले कसरी आधुनिकताका जटिलताहरू र राष्ट्रिय सीमाहरू भत्काउन भूमिका खेल्न सक्छ भन्ने कुरा नोस्सिदे कविता प्रतियोगितासँग जोडेर बहस गर्न खोजिएको थियो। अमातोले यसबारे र अरू वक्ताले बोलेका बुझाइदिने तिनै गोपालजस्ता आन्तोनिए थिए। पाँचौं दिन रोम छोड्ने बेला नदीको पानीमा बग्दै गरेको पत्करजस्तो हराएको सुटकेसको स्मृति ताजा भएर मनको सतहमा उत्रियो। सुटकेस अझै भेटिएको थिएन र हामीले कलाब्रियामा बसुन्जेल धेरै समय बिर्सेका थियौं यसलाई। नयाँ सुट र सुटकेस पनि किनिसकेका थियौं। रोमको धर्ती छोडेर आकाशमा पुग्दा सुटकेस र त्यसभित्रका कपडा आए स्मृतिमा। छुटेका कुराहरूलाई मनले बढी नै च्याप्दो रहेछ। एक महत्वपूर्ण पुरस्कार ग्रहण गरेर फर्कंदै गरेको मेरो चौडा छातीभित्र सुटकेसको स्मरण र प्रेम झन् मजाले पल्की बसेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.