सिजनमै मनास्लु क्षेत्र सुनसान
गोरखा : केही वर्षदेखि मनास्लु क्षेत्रमा पर्यटकको ओइरो लाग्न थाल्यो। विश्वको आठौं अग्लो मनास्लु हिमाल आरोहण, लार्केपास, चुम उपत्यका भ्रमण गर्ने नयाँ गन्तव्यका रूपमा मनास्लु क्षेत्र विकास भइरहेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार बर्सेनि आठ हजारभन्दा धेरैले मनास्लु क्षेत्र भ्रमण गर्ने गर्छन्। तीन सय जनाभन्दा धेरै आरोही मनास्लु आरोहणका लागि आउने गर्छन्।
लोकप्रिय बन्दै गएको मनास्लु क्षेत्र यस वर्ष भने सुनसान छ। विगतमा यतिबेला पर्यटकले भरिभराउ हुने मुख्य केन्द्र माछाखोला, जगत, फिलिम, छेकम्पार, नाम्रुङ, सामागाउँ विश्वव्यापी कोरोना महामारीका कारण सुनसान भएको व्यवसायी बताउँछन्।
जगत सुनसान छ। स्याउलीभट्टी, ठूलोढुँगा, यारुबगर, ठाडोभर्याङका साना होटल, टी हाउसमा ताल्चा लागेका छन्। पर्यटकले भरिभराउ हुने होटल, कटेजमा झार उम्रिएको व्यवसायी बताउँछन्।
‘बरबादै भयो। स्वदेशमै केही गरेर खाउँला भनेर करोडौं खर्च गरेर होटल बनाइयो’, स्थानीय होटल व्यवसायी गणेश कार्की भन्छन्, ‘तर, ६ महिना भयो बन्दै छ। ऋण लिएको ब्याजले चुर्लुम्मै डुबाइसक्यो। तर, कमाइ एकपैसा पनि छैन।’ कोरोना त्रासले पर्यटनलाई मुख्य पेशा बनाएका मागेर खाने हालतमा पुगेको उनको भनाइ छ।
मनास्लुमा बर्सेनि करिब आठ हजार जना विदेशी पर्यटक भित्रिन्छन्। तर, कोरोना महामारीका कारण यस वर्ष एक जना पनि विदेशी पर्यटक नआएका कार्कीले बताए।
मनास्लु हिमाल आरोहण गर्न जाने मुख्य सिजनका बेला फिलिमका होटल पनि यतिबेला सुनसान छन्। लार्केपास जाने, चुम उपत्यका घुमेर फर्कने पर्यटकको दोहोरो भीड लाग्ने फिलिममा अहिले पर्यटक आउने आशा पनि कसैसँग छैन। आएका अजात बटुवालाई बास दिन पनि कोही तयार हुँदैनन्। ‘सबैलाई मर्न डर लाग्ने रहेछ’, स्थानीय होटल व्यवसायी भन्छन्, ‘बाँची बसे व्यवसाय त अर्को वर्ष गरौंला भनेर जति नोक्सान परे पनि सहेर बसेका छौं।’ केही वर्षयता होटलमा करोडौँ लगानी गर्नेहरू अहिले आत्तिसकेको उनको भनाइ छ।
पर्यटकको आवागमन बढेपछि चुम उपत्यकामा घरैपिच्छेजसो होटल, लज बने। विदेश तथा अन्य सहरमा पलायन भइसकेका युवा पनि गाउँमा होटल, लज सञ्चालन गर्न फर्केका थिए। तर, कोरोनाका कारण यो वर्ष लगानी डुबेको उनीहरू बताउँछन्। ‘भर्खर होटल बनाएर यो सिजनमा सञ्चालन गर्ने भन्ने योजना बनाएको थिएँ’, स्थानीय छिरिङ तेन्जिन भन्छन्, ‘लकडाउन लागिहाल्यो। साहुको रिन तिर्नुपरिहाल्यो। तर, व्यवसाय चलाउन पाइएन।’ उनले पनि ऋणमा डुबेको पिरलो सुनाए।
प्रतिक्रिया दिनुहोस !