पर्वतमा पहिरोले घर पुरिंदा एक बालिकाको मृत्यु
कुश्मा : पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिंदा एक बालिको मृत्यु भएको छ। स्थानीय नबिन विकको घर पहिरोले पुरिंदा उनकी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको हो।
मृतक बालिकाको शव केहि बेरअघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिए। पहिरोमा पुरिएर नविन बिककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाइते भएका छन्। घर पुरिंदा घाइते भएकाको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए। पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो।
स्थानीय घनश्याम भुसालका अनुसार पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैंसी र एक गोरु समेत पुरिएको छ। बिहान चार बजेको समयमा पहिरो आएर घर पुरिएको भुसालले बताए। पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको जनाएको छ। घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धारको काम गरिरहेका र विस्तृत विवरण आउन बाँकी रहको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !