अपांग परिवारलाई फेसबुकबाट जुटेको रकमले नयाँ घर
गोरखा : गोरखाको शहिदलखन गाउँपालिका-७ का वडाअध्यक्ष शरण श्रेष्ठले फेसबुक अभियानमार्फत जुटेको रकमले आफ्ना वडाका एक अपांग परिवारलाई अपांगमैत्री घर बनाइदिएका छन्। फेसबुक अभियानमार्फत जुटेको १६ लाख ८३ हजार रुपैयाँ खर्च गरी कोटगाउँका धनबहादुर श्रेष्ठका लागि वडाअध्यक्ष श्रेष्ठले नयाँ घर बनाएका हुन्।
श्रेष्ठ दम्पत्तिका छ सन्तानमध्ये छोरा राजीब, छोरीहरु शिला र लिला उठ्नबस्न नसक्ने पूर्ण रुपमा अपाङ्ग छन्। भूकम्पले भत्किएको घरमा तीनजना अपांग सन्तानसहित गुजारा चलाउन श्रेष्ठ दम्पत्तिलाई परेको सकसबारे अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशन भएपछि वडाअध्यक्ष श्रेष्ठले घर निर्माण अभियान सुरु गरेका थिए।
नवनिर्मित सो अपाङ्गमैत्री घर एक कार्यक्रम आयोजना गरेर हस्तान्तरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरमार्फत सो घर श्रेष्ठ परिवारलाई हस्तान्तरण गरिएको हो।
घर हस्तान्तरणसँगै गाउँपालिकाले अपाङ्गता भएकालाई अत्यावश्यक सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। सो अभियानमा लेबनानमा रहेकी चन्द्रा जोशी ‘सुमन’ले ४६ हजार र गौतम खनालले ५० हजार रुपैयाँ दिएर पहिलो सहयोग जुटाएका थिए।
‘पीडित परिवारलाई अपांगमैत्री घर प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको छ’, वडा अध्यक्ष शरण श्रेष्ठले भने ‘यो अवसरमा सहयोगदाता सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु।’ घर निर्माणका क्रममा गोरखामा रहेका रणसिंह दल गणका सैनिक टोलीले श्रमदान समेत गरेका थिए।
फेसबुक अभियानमार्फत घर निर्माणका लागि १४ लाख ८१ हजार रुपैयाँ सहयोग जुटेको थियो। अपुग भएको दुई लाख रुपैयाँ आफूले व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताए।
मंगलबार घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, घर निर्माणमा सहयोग गर्ने अभियान्ता सहभागी थिए।
भूकम्प प्रतिरोधी पक्की घर बनेपछि श्रेष्ठ परिवार खुशी भएका छन्। घर निर्माण अभियानमा सक्रिय हुनेलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो।
श्रेष्ठ परिवारलाई अपांगमैत्री घर हस्तान्तरण गर्दै शहीदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापा।
प्रतिक्रिया दिनुहोस !