पहिरोको जोखिममा बस्ती
धादिङ : ‘खेतबारी सबै पहिरोले बगायो, अहिले पहिरो सर्दैसर्दै बस्तीमा आइपुगेको छ। घर बगाउने हो कि भन्ने डरले राति अर्को गाउँमा बास बस्न जाने गरेका छौं’, यो दुःखेसो हो, उत्तरी धादिङस्थित खनियाँवास गाउँपालिका–३ सिंगाङ केराबारीका ७० वर्षीय वृद्ध थर्किन तामाङको। सांकोष तिप्लिङ सडकखण्डको छेवैमा रहेको बस्ती हो, सिंगाङ केराबारी। १० घरधुरी रहेको उक्त बस्तीमा पुग्दा पहिरोको कुनै जोखिम देखिँदैन तर गाउँमुनि ठूलो पहिरो छ।
अधिकांश घरका आँगन, कोठा र करेसामा धाँजा फाटेको छ। केराबारी गाउँको ३ सय मिटर आसपास जमिन चिराचिरा परेर भासिएको छ। भासिने क्रम हरेक बर्खायाममा बढ््दो छ। ठूलो पानी पर्दा राति बस्ती छाडेर छिमेकी गाउँमा जानुपर्ने बाध्यतामा स्थानीय छन्। बस्तीमा २०४५ देखि नै पहिरो जान थालेको हो। २०७२ को विनाशकारी भूकम्पपछि भने हरेक वर्ष जमिन भासिने क्रम बढेको छ।
स्थानीय मनबहादुर तामाङले भने, ‘घरको आँगन, कोठा–कोठा चिरा परेको छ।’ पहिरोको मुखैमा रहेका ४ घरधुरीले रात कटाउन सुरक्षित स्थानको एउटा घर मासिक ३ हजार तिरेर भाडामा लिएका छन्। त्यहीँ एउटा त्रिपालको टहरासमेत बनाएका छन्। स्थानीय परशुराम तामाङले भने, ‘धेरै पानी परेको दिन घर छाडेर हामी ४ घरधुरीका परिवार भाडा तिरेर टहरा र घरमा गएर रात बिताउँछौं।’ पहिरोले बस्ती नै बगाउन लागेको विषयमा वडा कार्यलय र गाउँपालिकामा खबर गरिए पनि कुनै सम्बोधन हुन नसकेको कल्पना तामाङले बताइन्।
पहिरोको अत्यन्तै जोखिममा रहेको केराबारी गाउँ, गाउँ मुनी पहिरो