चीनियाँ नाका बन्द : सीमा क्षेत्रमा खाद्यान्न संकटको त्रास
गोरखा : चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका नखोल्दा सीमा क्षेत्रका बासिन्दा खाद्यान्न संकट हुन सक्ने त्रासमा छन्। दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री गाउँपालिकाका चारवटा वडाका बासिन्दा बताउँछन्।
‘गाउँको उत्पादनले दुईतीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, सामागाउँका स्थानीय दावा नोर्बु लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनु पर्छ। तर एकवर्षदेखि नाका खुलेको छैन। अब के खाने भन्ने समस्या भइसक्यो।’ करु, चामल, नून, तेल, घ्यू, चियापत्ती, चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको उनले बताए।

सामागाउँ।
चीनियाँ सरकारले सामागाउँको रुइला नाका वर्षमा एकफेर खुलाउने गर्थ्यो भने छेकम्पारको मुलाढाज्यान(ङुइला) नाका बाह्रै महिना खुलाउने गर्थ्यो। तर कोरोनाका कारण देखाएर एकातर्फी रुपमा नाका बन्द गरेको उनले बताए। अब एक महिनाभित्र नाका नखुले हिउँ पर्न थाल्ने र आवतजावत गर्न नसकिने अर्की स्थानीय कुन्साङ ढिकी लामा बताउँछिन्। ‘पोहोरसम्म वर्षमा एकफेर नाका खुल्थ्यो। मान्छेहरुले वर्षभरिका लागि सामान ल्याएर थुपार्थे’, उनी भन्छिन्, ‘तर यसवर्ष अहिलेसम्म नाका खुलेन। अब हिउँ पर्न एक महिना पनि बाँकी छैन। हिउँ पर्न थालेपछि नाका खुले पनि जान सकिँदैन। यसवर्ष मान्छेले पो के खाने, घोँडा, झोपा, याक, चौरीलाई पो के खुवाउने ?’ अहिले सरसापट, ऐँचोपैँचो गरेर गुजारा चलिरहेको उनले बताइन्।
नाका बन्द हुँदा दुख गरेर संकलन गरेको यार्सागुम्बा पनि बिक्री नभएको स्थानीयबासीको गुनासो छ। ‘गाउँलेहरुले पैसाको मुख देख्ने भनेकै पर्यटकबाट र यार्सागुम्बा बेचेर हो’, दावा लामा भन्छन्, ‘तर यसवर्ष नाका नखुल्दा यार्सागुम्बा पनि बेच्न पाइएन। कोरोनाले गर्दा पर्यटन व्यवसाय पनि चलेन। नाका पनि खुलेन। आरुघाट, आर्खेतमा गएर खाद्यान्न किन्न सक्ने क्षमता पनि छैन।’ केहीदिनअघि खाद्य डिपोको सहुलियतको चामल गाउँमा ल्याउँदा पनि कतिपयले किन्न नसकेको उनले बताए।
कोरोना र लकडाउनले गर्दा अहिले परिबारको संख्या बढेको तर आम्दानी घटेको स्थानीयको गुनासो छ। ‘इण्डिया, काठमाडौंतिर पढ्न गएकाहरु पनि अहिले घरमा आएका छन् त्यसैले यसवर्ष घरखर्च दोब्बर बढेको छ तर आम्दानी घटेको छ’, दावा लामा भन्छन्, ‘अहिलेसम्म त होटलवालाले सिजनका लागि भनेर जोहो गरेको खाद्यान्नले धानेको छ। अब त्यो पनि सकिएपछि के गर्ने भन्ने चिन्ता छ।’ नाका खुलाइदिनु पर्ने उनले बताए।

छेकम्पार गाउँ।
अन्नबाली केही राम्रो हुने छेकम्पारमा पनि यसवर्ष उत्पादन घटेको वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन्। ‘आलु, लसुन, प्याज बिग्रियो। फापर र गहुँ पनि घटेको छ’, उनी भन्छन्, ‘यतातिर खाने भनेकै घ्यूचिया हो। नाका बन्द हुँदा धेरै घरमा चिया खान पनि बन्द भइसक्यो। कसैकसैले रोङ्वाले खाने चिया खाएर काम चलाएका छन्।’ नाकाबन्दले जनजीवन कष्टकर भएको तर चीनको प्रहरीले मान्छे लुकिछिपी आवतजावत गरिरहेको हुनसक्ने भन्दै फोनमा कराइरहने गुनासो गर्छन्।
तिब्बती नाकामा चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दोका २२५, वडा नं. २ ल्हो, ल्ही, स्योका ३३४, वडा नं. ६ चुम्चेत, चुम्लिङ, सिप्चेतका २७० र वडा नं. ७ छेकम्पारलगायतका नौ वटा टोलका २६५ घरधुरीको बसोबास छ। चीन सरकारले नाका नखुलाउँदा खाद्यान्न संकट हुने अवस्था आइरहेको उनीहरुको गुनासो छ।
प्रतिक्रिया दिनुहोस !