भक्तपुरमा ‘गो लोकल’ अभियान : रैथाने उत्पादनलाई पर्यटनसँग जोड्नेबारे सम्झौता
भक्तपुर : घरेलु तथा साना उद्योगबाट उत्पादन हुने भक्तपुरका परम्परागत एवं मौलिक रैथाने उत्पादनलाई पर्यटन उत्पादनको रुपमा प्रवद्र्धन गरिने भएको छ। यहाँका १५ वटा रैथाने उत्पादनलाई पर्यटन उत्पादनको रुपमा प्रवद्र्धन गर्न पाँच वर्षे ‘रैथानेतर्फ कार्यक्रम’ सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिबीच आइतबार एक सम्झौता भएको हो ।
भक्तपुरका मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्न कार्यक्रमलाई अंग्रेजीमा ‘गो लोकल’ नामाकरण गरिएको छ । विश्व पर्यटन दिवसको दिन पारेर गरिएको उक्त सम्झौतामा संघका अध्यक्ष वीरेन्द्र जती र समितिका अध्यक्ष रामसुन्दर भेलेले हस्ताक्षर गरेका छन् । त्यस्तै संघका सचिव प्रेमकृष्ण खर्बुजा र समितिका महासचिव दीपेशराज शर्मा साक्षी बसेका छन् ।
उक्त सम्झौताअनुसार जुजु धौ, काष्ठकला, भादगाउँले टोपी, ताइचिन चिउरा, माटाका भाँडाकुँडा (मृतिकाकला), नेपाली कपड़ा बुनाई, गलैंचा बुनाई, कागजको मुकुण्डो, काठको मुकुण्डो र नेपाली कागज (हस्तकला) लाई भक्तपुरको रैथाने उत्पादनको संज्ञा दिइएको छ ।
त्यस्तै धातुकला, ऊनी बुनाई, फेल्ट बुनाई, चामल तथा पीठो र अयला (रक्सी) लाई पनि भक्तपुरको रैथाने उत्पादनको रुपमा लिइएको छ । यी रैथाने उत्पादनलाई पर्यटन उत्पादनको रुपमा प्रवद्र्धन गर्न यसको गुणस्तर विकास र निश्चित मापदण्ड निर्धारण गरिने संघका अध्यक्ष जतीले स्पष्ट पारे।
त्यस्तै रैथाने उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह तथा प्रमाणपत्र प्राप्त गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । ‘रैथाने उत्पादनको सूचीमा आवश्यकताअनुसार यहाँका अन्य परम्परागत एवं मौलिक सीप, कला–कौशल र रैथाने उत्पादनलाई समावेश गर्दै जानेछौं’, अध्यक्ष जतीले भने, ‘कार्यक्रमअन्तर्गत मौलिक उत्पादनमा प्रत्यक्ष संलग्न कलाकार, शिल्पी, कालीगढ एवं उद्यमी व्यवसायीको क्षमता अभिवृद्धिसमेत गर्ने उद्देश्य लिएका छौं ।’
सम्झौतापत्रअनुसार दिगो पर्यटन विकासमार्फत भक्तपुरका रैथाने पर्यटन उत्पादनको संरक्षण गर्दै यसमा आश्रित कलाकार, शिल्पी, कालीगढ, उत्पादक एवं उद्यमी व्यवसायी र उनको घरपरिवारको आर्थिक अवस्थामा गुणात्मक सुधार गर्दै सबल र समृद्ध भक्तपुर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।
मौलिक उत्पादनलाई पर्यटनसँग जोडेर यसमा नयाँ पुस्तालाई आकर्षित गर्ने तथा महिला सशक्तीकरण गर्न रैथानेतर्फ कार्यक्रमको अवधारणा विकास गरिएको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष भेलेले बताए ।
उनले मौलिक उत्पादन कार्य पुख्र्यौली पेसामा मात्रै सीमित हुँदा लोपोन्मुख हुँदै आएकाले यसको संरक्षण गर्न तथा यसबाटै पेसाकर्मीहरुको जिविकोपार्जन सुनिश्चित गर्न यसलाई पर्यटनसँग जोड्न खोजिएको स्पष्ट पारे ।
‘कार्यक्रमअन्तर्गत यहाँ मौलिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गरिनेछ’, अध्यक्ष भेलेले थपे, ‘ब्राण्डिङ गरेर मौलिक उत्पादनको गुणस्तरमा उपभोक्ताको विश्वास र भरोषा आर्जन गर्न पहल गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।’
उक्त कार्यक्रम सञ्चालन गर्न पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । जसमा भक्तपुर घरेलु तथा साना उद्योग संघबाट अध्यक्ष जती र सचिव खर्बुजा, भक्तपुर पर्यटन विकास समितिबाट पनि अध्यक्ष भेले र सचिव शर्मा तथा भक्तपुरका सञ्चारकर्मीहरुको तर्फबाट ईश्वरकाजी खाइजू सदस्य रहेका छन् ।
सम्झौतापत्रअनुसार कार्यदललाई नौबुँदे जिम्मेवारी दिइएको छ । उक्त जिम्मेवारीअनुसार मौलिक रैथाने उत्पादन र यसका उत्पादक, उद्यम तथा व्यवसायको डिजिटलाइजेसन तथा जीपीएस म्यापिङ गरिने छ ।
त्यस्तै पर्यटन उत्पादन र त्यससँग अन्तरसम्बन्धित क्षेत्रमा आधिकारिकताको निम्ति विशिष्ट एवं उच्चपदस्थ सरकारी तथा गैरसरकारी निकाय एवं विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुको अवलोकन भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।