नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण
गोरखा : नेपाली सेनाको गोरखास्थित रणसिंह दल गणले नेपाल राष्ट्रिय भुपू सैनिक संघले सञ्चालन गरेको एक आवसीय विद्यालयका लागि चार कोठे भवन निर्माण गरेर हस्तान्तरण गरेको छ।
गोरखा नगरपालिका-८ स्थित भूपू सैनिक आवासीय विद्यालयका लागि २५ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरेको हो। नवनिमित सो भवन आइतबार एक कार्यक्रमबीच श्री नम्बर ३ बाहिनीपति सागरबहादुर थापाले उद्घाटन गरेका थिए।
‘सैनिक र नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नेपाली सेनाले यहाँ भवन निर्माण गरेको हो’, उद्घाटनका समारोहमा बाहिनीपति थापाले भने। भूपूसैनिक संघसँगको सहकार्य निरन्तर रुपमा अघि बढिरहने उनले बताए।
नेपाल राष्ट्रिय भुपु सैनिक संघ गोरखाद्वारा २०६७ सालदेखि उक्त विद्यालय गोरखामा संचालित छ। शिशु स्याहार केन्द्रबाट सुरु भएको विद्यालय अहिले कक्षा ६ सम्म संचालनमा रहेको र दुई सय भन्दाबढी विद्यार्थी त्यहाँ पढ्ने भुपु सैनिक संघ गोरखाका सभापति हितमानसिंह बस्न्यातले जानकारी दिए।
गत पुस १३ गते एलिना भट्ट निर्माण सेवाले जिम्मा लिएर सुरु गरेको उक्त भवन समय भित्रै निर्माण सम्पन्न भएको नेपाली सेना रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए। भौतिक संरचनाको अभावका कारण भूपू सैनिक आवासीय विद्यालय यसअघि साँघुरो गरी संचालित थियो। पूर्वाधार निर्माणसंगै अझै थप कक्षा संचालन गर्ने योजना रहेको संघले जनाएको छ।
भुपू सैनिक संघका गोरखाका सभापति हितमानसिंह बस्न्यातको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा निर्माण सम्पन्न गर्न सहयोग गरेको भन्दै रणसिंह दल गण गोरखाका गणपति उज्वल केसी, लेखा उपसेनानी राजेन्द्र विष्टलाई संघले मायाको चिनो प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !