पर्वतको विहादीमा प्रहरी चौकी
कुश्मा : पर्वतको विकट पालिकाको रुपमा रहेको विहादी गाउँपालिका ४ वहाकीठाँटीमा प्रहरी चौकी स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको वहाकीठाँटीमा शान्ति, सुरक्षा कायम गर्नका लागि प्रहरी चौकी स्थापना गरिएको हो ।
यसअघि पालिका अन्तर्गत ३ रानीपानी, ६ शालिग्राम र १ बाच्छामा प्रहरी चौकी रहेपनि पालिकाको केन्द्र रहेको स्थानमा जनघनत्व बढ्दै गएपछि प्रहरी चौकी स्थापना गरिएको हो।
विभिन्न वित्तिय संस्थाका शाखा स्थापनालगायतको सुरक्षा, सामाजिक झैझगडा र गैरकानूनी क्रियाकपको न्यूनिकरणका लागि प्रहरी चौकी थप गरिएको पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
प्रहरी चौकीको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उद्घाटन गरे । सो अवसरमा बोल्दै रेग्मीले जिल्लाका सवै क्षेत्रका नागरिहरुको सुरक्षाका लागि प्रहरी प्रशासन तयार रहेको बताउँदै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी र नागरिकबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले प्रहरीलाई आवश्यक सहयोग गर्न गाउँपालिकावासीलाई आग्रह समेत गरे ।
विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले बढ्दो चहलपहल र जनघनत्वलाई मध्यनजर गर्दै गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्न सहयोग गर्ने सवैमा धन्यवाद दिए । उनले शान्ति सुरक्षाको प्रत्याभूति भएपछि गाउँ समाजको विकास तीब्र गतिमा हुने बताउँदै पालिका र प्रहरीबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल गण नं. २५ का सशस्त्र प्रहरी उपरीक्षक बिजय केसी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी, सिचाई डिभिजन कार्यालय पर्वतका प्रमुख थल बहादुर तामाङलगायत गाउँपालिकाका जनप्रतिनिधीहरु र समाजसेवीहरुको सहभागिता थियो ।
वहाकीठाँटीमा बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानुनी गतिविधि रोकथाम एवम् बढ्दो सहारीकरणलाई व्यवस्थापनका लागि प्रहरी चौकीको स्थापना गर्न मन्त्रीपरिषदको २०७६ साल असोज ७ गतेको वैठकले स्वीकृति दिएको थियो । स्वीकृति पाएको ठिक एक वर्षमा जग्गा र भवनको व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !