जीवन एक रंगशाला
घडीको टिकटिक, बन्द धाराको तप्पतप्प, भाँडाकुँडाहरूको झन्झन्। रेल गाडीको टिटी, प्याप्या र छुकछुक। पंखाको सरकसरक, चराहरूको चिरबिर, परेवाको घुरुघुरु, हावाको सरसराहट, पानी बर्सिंदाको गडगडाहट। यस्तै आवाज सधैं सधैं सुनेको अनुभव हुन्छ। चेतनाको तहमा त विचारै गरिनछु। जीवनका नयाँ नयाँ आयाम खोज्ने मैले किन छोड्ने गरें यस्ता मीठा ध्वनि। यी आवाजहरूमा पनि कुनै न कुनै रूपले जीवनको अस्तित्व गाँसिएकै हुन्छ।
के बालकको तोते बोली, कलकल बग्ने नदी, झरनाको छङछङ खस्ने छाँगो, अझ समुद्रबाट उम्रिने सेता पानी फूलका सुसाइ, संगीतको मीठो धुन, सारेगमको कर्णप्रिय आवाज मात्र जीवनका लागि हुन त ? पक्कै पनि होइन ! यो जगत्का हरेक सुरमा नै जीवनको लय छ भन्ने एकाकार भएकी छु। त्यसैले यसबेला मैले अनुभव गरेर पनि तरंगित हुन नसकेका शाश्वत र सुन्दर आनन्दको रसास्वादन गर्ने विचारमा उद्वेलित छु। मानिसको जीवनमा अनेक विचारको घुइँचो लागिरहेको हुन्छ। हरेक विचार भएको मान्छे डुंगाबाट डुब्न पनि सक्छ तैरिन पनि। यसको अनुभूत सबैले गरेका हुन्छन् तर अनुभूत भएजति सबै कुरा अभिव्यक्त गर्न नसकिने रहेछ। विचारका तहजस्तै अनुभूतिका तहहरू पनि हरेकमा फरकफरक हुन्छन्। म पनि निकै समयदेखि विचारको सयर गरिरहेछु अनुभूतिको रंगमा भरिएर।
अनुभवको अनुभूतिले मात्र पनि मन अनौठो खुसी अनुभूत गरेर रमाइरहेछु। नजाने पनि नमिले पनि मेरो खुसी अरूसँग पनि मिलाउन सके त म अझै पो खुसी हुन्छु कि भन्ने लोभ पनि छ। यो खुसी बाँड्ने आजको रहर मेरा अनुभवका अनुभूतिभन्दा पर जाने छैन। यसैको वरिपरि मेरो अक्षरका भगवान्लाई साक्षी राखेर मुस्कुराउनु ठीक हुन्छ कि गलत ? अनुभव र अनुभूतिबीच थोरै फरकको आयाम छ भन्ने ठान्छु। जीवन अनुभवले खारिएपछिको अनुभूति मनमा अनौठो रूपमा रूपान्तरित हुँदोरहेछ। अनुभवले मस्तिष्कमा शक्ति दिँदै अनुभूतिका साथ अगाडि बढ्छ। विभिन्न ज्ञानको मार्गबाट अभिप्रेरित भएको अनुभवलाई प्रत्यक्ष साक्षी राखेर सूक्ष्म रूपमा अनुभूत भाव पैदा गराउँछ। अनुभवले घटनालाई विचार गर्छ, अनुभूतिले कुनै संवेदनशील कल्पनाको तरंगबाट छचल्काएर मन उद्वेलित बनाउँछ।
जिन्दगीमा जति ज्ञान, विज्ञान र आध्यात्मिक कुराहरू पढेर सिकेर जानिन्छ, त्योभन्दा बढी अर्थरत सिकाइ जीवनको अनुभवबाट हुन्छ। अनुभव मान्छेले जीवनभर कमाउने अमूल्य धनजस्तै हो। यो अनुभवलाई कालान्तरसम्म सुरक्षित अनुभूतिले राख्छ। यो नै जीवन बचाइको तृष्णा हो। भोगेका केही अनुभवको चिन्तनमा रहेर जब म अनुभूत गर्छु तब निमग्न त्यसैमा डुब्छु। अनुभवका हरेक अनुभूतिमा जीवन्तताको जरो हुन्छ। चाहे दुःखदायी हुन् चाहे सुखदायी। कतिकति अनुभूति त मनबाटै सुटुक्क बिलाउँछन्। प्रकृतिका यावत् तत्वसँग मैत्रिक र प्रेमिल भावमा एकाकार भएर अनुभूतिलाई युगान्तकारी बनाउने प्रयत्न गरे कति शाश्वत वा त्यस क्षण प्रकृतिमा लीन भएको अनुभूति गर्दाको आनन्द नै अवर्णनीय। यो नै ध्यानको पराकाष्ठा होइन र ?
जीवनले अनुभव गरेका हरेक कुरा अनुभूत गरिरहेको हुन्छ तर अनुभूत गरेका कतिपय कुरा अनुभवबिना पनि आउँछन्; जुन अनन्त भावमा मनमनै अभिव्यक्त भइरहेका हुन्छन्। कति छोराछोरीका लागि आमाको सामीप्यको अनुभव नहुँदा पनि आमा शब्दको प्रेमिल अनुभूतिले सौन्दर्यबोध गराउँछ। आमा हुनुको अनुभव गर्नै नपाई आमा बिदा गर्ने सन्तानहरू कति छन् कति ? अर्थात् आफू जन्मनासाथ आमा गुम्नेले आमाको अनुभव गर्नै पाउँदैनन्। अनुभव नगरे पनि आमा एक सुखद अनुभूति हो। अनुभूतिमा आमा हुनु नै जीवनको सारा सुखको शक्ति हो। आमा शब्द सीमाहीन अनुभूतिले फैलिएको आभासले मन नै शीतल हुन्छ।
जीवनको भागदौडमा कति उतारचढाव आउँछन् जान्छन्। मन शान्त पारेर आफैंले बिताएको समय अनुभूति गर्नु नै जीवनको सारतत्व हो। बोध मेरै सोचविचार र अनुभवको जलपभित्र रहेर मात्र अनुभूति गर्न सक्छु। कहिलेकाहीँ दिमागले एउटा कुरा सोच्छ, मनले अर्को कुरा चाहन्छ। कुनै समय विभिन्न कारण उत्पन्न भएको मान्छेको गलत सोचका अनुभूत मनले गरे पनि दिमागले रोक्छ र सतर्क गराउँछ भने कहिले रोक्दैन र गलत दिशातिर निर्देशित भई हिंसात्मक हुन अभिप्रेरित गराउँछ। यसका कारण कहिलेकाहीँ अपत्यारिलो घटना सुन्नु र बीभत्स घटना देख्नु परेका अनुभवका अनुभूत पनि छन्। जबजब मान्छेको मनमस्तिष्कमा विचारका बादल मडारिन थाल्छन् तबतब अनुभूतिको कसीमा अस्तित्वबोध जागृत हुन्छ। मानव अस्तित्वसँगै संसारका हरेक कुरा रहस्यमै छ।
जीवन नै मिथ्या हो भन्ने सोचेर गलत निर्णय गर्न पनि पछि पर्दैनन्; जुन भइरहेको छ। हुन त विश्व परिवेशमा यही कुरा स्वीकारेर पनि अर्काको भलाइका लागि सकारात्मक भएका कतिकति मान्छेका विभिन्न सन्दर्भका भावहरू पनि प्रस्तुत छन्। त्यस्ता मान्छे महान् र पूजनीय मानिसको कोटीमा रहे। हरेक मान्छेको चिन्तन सकारात्मक भए यो संसारको रंगशाला कति सुन्दर हुन्थ्यो होला ?
रहस्यको यो फेरमा कोही नलुक्न सक्छ न उम्कन सक्छ। म पनि यही अन्योलबीच अमृत या विष के पिइरहन्छु, मैलाई थाहा हुन्न र उम्कन पनि सक्दिनँ। मान्छेले गर्न सक्ने हरेक अभ्यास थुप्रै तरिकाबाट गरिरहेझैं म पनि आफ्नो अभ्यासमा सधैं बाँधिएका अनुभव प्रशस्त छन्। अनुभवको आकाशबाट अनुभूत गरेका स्वर्णिम पलका आविष्कारहरू दिनप्रतिदिन विलीन हुँदैछन्। समयसँग घट्ने हरेक घटनामा न सम्झौता हुन्छ न त स्वीकृति नै। परिस्थितिसँग हातेमालो गरेर हिँड्न जान्नेले नै जीवनको अनुभूति राम्ररी गर्छ। सहज नभए पनि मान्छेले अनेक चुनौती सामना गरेको परिस्थिति पनि छन्। कहिलेकाहीँ एक्लै हुनुपर्ने अवस्थामा सकारात्मक भाव राखेर यो त क्षणिक न हो भन्ने सोच्नु जीवनको लय हो। वा अरू कुनै माध्यम अपनाएर विरक्तिबाट छुट्कारा पाउनु जीवनले प्राप्त गर्ने प्राज्ञिक आभा हो। मान्छेले हरेक उपाय अवलम्बन गरेर अनुभवका कसीबाट माथिल्लो स्तरमा प्रतिष्ठित हुन कतिपय सफल पनि भएका छन् ?
मान्छेले आफ्नो दुःखसुख आफंैले भोग्नुपर्ने नियतिबाट पनि पन्छिन हामी कहाँ सक्छौं र ? अर्काको साथ, सहयोग र समर्थन त सान्त्वना मात्र न हो। यही सान्त्वनाका अनुभूतिले मानिसलाई शक्ति प्रवाह गर्छ। जेमा छु, त्यसमा म स्वीकार गर्छु भन्ने भाव लिन सके हरेक खाले समस्याबाट बाँच्न सकिन्छ र सबैको हित हुन्छ। यसरी सकारात्मक दृष्टिकोण राखे सम्पूर्णतामा पूर्ण भएको अनुभूति गर्नु नै जीवन हो। अनुभवले नै घटनाको प्रकृति र प्रवृत्तिअनुसारको दुःख र हाँसोको अनुभूत गराउँछ। मानिस बाँच्नुको सार्थकता त जुन घटना जुन बेलामा घट्छ त्यसमा पूर्ण सहमतिका साथ बाँच्नु उत्तम हो। प्रेममा कोही असफल भयो भने त्यो प्रेम क्षणिक थियो, अनि निरर्थक भयो भन्ने सोच राख्दा नै जीवन देखिन्छ। कतिकतिले प्रेमको सौन्दर्यमा फेरि अर्को प्रेम प्रस्तुत गरी अनुभूति गर्नेले नै जीवन देखेको पाइन्छ। म पनि हरेक घटनामा विचलित पक्कै हुन्छु तर हस्तक्षेप गर्ने प्रयत्नै मबाट न हुन्छ न त गर्न नै सक्छु। यहीँ नै मेरो जीवनले गर्ने अनुभव र अनुभूतिको उत्प्रेरित अस्तित्व हो सायद।
विश्वप्रसिद्ध दार्शनिक तथा साहित्यकार सात्र्रले संसारको अस्तित्वलाई निरर्थक भनेका छन्। अनि मानिसको जन्म पनि सार्थक हो भन्ने पक्षमा उनी थिएनन्। मान्छेको जन्म अकस्मात् हुन्छ, यो कुनै अनिवार्य नभई जीवनचक्रको संजोग मात्र भएको भन्ने उनको चिन्तन र दर्शनलाई अरू विद्वान्ले निराशावादीको संकेत दिएका छन्। जब विरक्तिएको मन उदासीन हुँदै जान्छ तब रिस, राग, घृणा, लोभ र मोहको बादलले ढाक्छ। यस्तो अनुभवको अनुभूति जब मानिसले गर्छ तब दार्शनिक सात्र्रले भनेजस्तो संसार नै मिथ्या सम्झिन्छन्। हो, मान्छेमा अनेकन सोचविचारका अनुभव र अनुभूति हुनुपर्छ। तर यो भन्दैमा संसारलाई मिथ्या सोच्नु र यही अनुभूत गर्नु हो भने जीवन नकरात्मकतिरै धकेलिन्छ।
मानिसको सत्तालाई दुःखपूर्ण रूपले हेर्ने र परिभाषित गर्ने सात्र्र र बुद्धका कतिकति विचार समान भएको अनुभूत गरेका छौं। तर बुद्धले निराशाबाट उम्कने उपाय खोजेर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध भगवान्कै अवतार भए। जसले जीवनमा प्रेम गर्न अभिप्रेरित गरायो। उपाय नखोजी तर्क मात्र गर्ने उनले अन्योलता छाडे र उनी दार्शनिक भए। बुद्ध नबुझ्नेलाई त सात्र्रले भनेझैं यो अस्तित्व नै नभएको संसारमा मानवको जन्म निरर्थकजस्तै लाग्न पनि सक्छ। जीवन नै मिथ्या हो भन्ने सोचेर गलत निर्णय गर्न पनि पछि पर्दैनन्; जुन भइरहेको छ। हुन त विश्व परिवेशमा यही कुरा स्वीकारेर पनि अर्काको भलाइका लागि सकारात्मक भएका कतिकति मान्छेका विभिन्न सन्दर्भका भावहरू पनि प्रस्तुत छन्। त्यस्ता मान्छे महान् र पूजनीय मानिसको कोटीमा रहे।
हरेक मान्छेको चिन्तन सकारात्मक भए यो संसारको रंगशाला नै कति सुन्दर हुन्थ्यो भन्ने धुन ममा बजिरहन्छ। त्यो धुन कुनै आफैंले वास्ता नगरेका पनि हुन सक्छन् भने कुनै जीवन अनुभवबाट प्राप्त मेरो विश्वविद्यालयको ज्ञानजस्तो पनि लाग्छ। मेरा यस्ता अनुभवको अनुभूतिमा आनन्दको भाव खेजिरहन्छु। जीवनको सुन्दर आयाम अनुभवबाट प्रेरक अनुभूति हो भनेर ढुक्क पनि हुन्छु र मुस्कुराउँछु। यही मुस्कानसँगै काँडा पन्छाएर जीवन फुलाउने प्रयत्नमा लागिरहेकी हुन्छु। अनि त जतिसुकै रहस्यमय भए पनि यो जीवन सृष्टिकै निकै सुन्दर आयाम ठान्छु।