मनास्लु आरोहण गर्न बहराइनका राजकुमारको टोली सामागाउँमा
गोरखा : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेका छन्। मनास्लु हिमाल आरोहणका लागि राजकुमारसहितको टोली बिहान हेलिकोप्टरमार्फत चुमनुब्री गाउँपालिका १ सामागाउँमा पुगेको हो।
राजकुमार सेख मोहम्मतको हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ। उनीहरु पहिलो दिन मंगलबार स्थानीय वीरबहादुर लामाको होटलमा बसेका सो प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए।
आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाल तथा हल्याण्डका आरोहण गाइडसहित २१ जना रहेको शेर्पाले जानकारी दिए।
‘आज उहाँहरु हेलिकोप्टरमार्फत बिहान ११ बजे सामागाउँ पुग्नुभयो’, शेर्पाले भने, ‘आज पहिलो दिन स्थानीय एक होटलमा बस्नुहुन्छ। त्यसपछि बेसक्याम्पमा जानुहुन्छ। अक्टोबर १५ देखि २० तारिखभित्र ८,१३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम छ।’
मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो। टोलीले सबै क्याम्प सेट गरिसकेका छन् भने रुट फिक्सको काम पनि गरिसकेका कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए।
राजकुमारको आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टरले गाइड गर्नेछन्। टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पाले गर्नेछन् भने विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पा पनि उनको टिममा छन्।
यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेर फर्किएको थियो। 
प्रतिक्रिया दिनुहोस !