स्थानीय भेषभुषामा सजिए बहराइन राजकुमार
गोरखा : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई गोरखा सामागाउँका बासिन्दाले स्थानीय भेषभुषा(छुवा)मा सजाएका छन्।
८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न हेलिकोप्टरबाट बिहान ११ बजे सामागाउँमा उत्रिएका राजकुमार सेख मोहम्मदलाई सामागाउँका वडाअध्यक्ष वीरबहादुर लामासहितको सांस्कृतिक समूहले छुवा लगाएर स्वागत गरेका हुन्।
राजकुमारसहित २१ जनाको टोलीलाई हिमाल आरोहणका लागि सेभेन समिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको हो। स्थानीय भेषभुषा लगाउन पाउँदा राजकुमारले धेरै खुशी व्यक्त गरेका वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
‘स्थानीयबासीको माया पाउँदा मलाई आफ्नो घर आएजस्तो अनुभूति भएको छ भन्नुभयो’, वडाअध्यक्ष लामाले भने, ‘म पहिलो पल्ट नेपाल आएको छु। अब नेपालको र बहराइनको सम्बन्ध भविष्यमा धेरै राम्रो हुने विश्वास लिएको छु। साथै सामागाउँलाई सँधै सम्झिरहने र दुख, सुखमा साथ र सहयोग दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो।’
कार्यक्रममा सेभेन समिट कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले सामागाउँ र ल्होका बासिन्दामा कोभिड १९ बाट कुनै समस्या भएमा आफ्नो कम्पनीको हेलिकोप्टरबाट निशुल्क रुपमा अस्पताल पुर्याउने सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘स्याला भन्दा माथिका बासिन्दामा यदि कोभिड १९ को समस्या देखिएमा हाम्रो हेलिकोप्टरले निःशुल्क अस्पताल पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो’, वडाअध्यक्ष लामाले भने।
राजकुमारसहितको टोली पहिलो दिन मंगलबार स्थानीय होटल मनास्लुमा बसेका सो प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए। आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाल तथा हल्याण्डका आरोहण गाइडसहित २१ जना रहेका शेर्पाले जानकारी दिए।
‘आज उहाँहरु हेलिकोप्टरमार्फत बिहान ११ बजे सामागाउँ पुग्नुभयो’, शेर्पाले भने, ‘आज पहिलो दिन स्थानीय एक होटलमा बस्नुहुन्छ। त्यसपछि बेसक्याम्पमा जानुहुन्छ। अक्टुवर १५ देखि २० तारिखभित्र ८ हजार १३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम छ।’
मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो। टोलीले सबै क्याम्प सेट गरिसकेका छन् भने रुट फिक्सको काम पनि गरिसकेका कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए। 
राजकुमारको आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टरले गाइड गर्नेछन्। टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पाले गर्नेछन् भने विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पाले पनि उनको टिमलाई साथ दिने छन्।
यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेको थियो।
प्रतिक्रिया दिनुहोस !