पाँच वर्षदेखि गोरखामा श्रम गर्दै रोहिंग्या शरणार्थी
गोरखा : बर्माको रखायन प्रान्तबाट सन् २०१२ मा भागेर नेपाल पसेका ३० वर्षीय अबुल उस्मान स-परिवार गोरखामा बस्दै आएका छन् । विगत पाँच वर्षअघिदेखि श्रीमती २५ वर्षीया सेतारा बेगम, पाँच वर्षीया छोरी आशिका बिबी, तीन वर्षीया छोरी प्रविना आतव र साला अनवर सदेकको साथमा गोरखा नगरपालिका २ कोखेआहालेस्थित प्रहरीचौकीको आडैमा डेरा गरेर बस्दै आएका छन्।
उनले अन्य रोहिंग्या शरणार्थीको साथ लिएर भूकम्प पीडितको घर बनाउने काम गरिरहेको स्थानीय गयासुद्धिन मियाँले जानकारी दिए । उनीहरु गोरखा नगरपालिका २ कोखे आहाले, डेरागाउँ, अश्राङ, झिँगटे, कोखे लगायतका मुस्लिम बस्तीमा घर बनाउने काम गर्ने मियाँले जानकारी दिए ।
२०७२ सालको भूकम्पका बेलादेखि घर पुनर्निर्माणको काम गर्दै आएका उनीहरु कोरोना महामारीका बेला पनि सोही काममा व्यस्त रहेको बताउँछन् । शरणार्थीलाई शिविरबाट बाहिर निस्केर काम गर्नुलाई अवैध मानिए पनि उनीहरु बिगत पाँच वर्षदेखि गोरखामा काम गरिरहेका हुन् ।
रोहिंग्या शरणार्थीले भूकम्पपछि यहाँको मुस्लिम बस्तीका करिब ५० भन्दा धेरै घर बनाइसकेका स्थानीयबासी बताउँछन् । 'आहाले, गाईखुर, डेरागाउँ र झिँगटेमा काम गर्यौं’, शरणार्थीहरुमध्येका टिम लिडर अबुल उस्मान भन्छन्, 'ठेक्का लिन्छौं । अनि काठमाडौं कपन शिविरबाट मान्छे बोलाउँछौं र काम गर्छौं । एक महिनामा एउटा घर तयार गरिदिन्छौं ।'
मुस्लिम बस्तीबाहेक कामका लागि अरु गाउँमा भने अहिलेसम्म नगएको उनीहरु बताउँछन् । भूकम्प पीडितका लागि आउने तीनलाख रुपैयाँमा अनुदानको घर उनीहरुले बनाएका स्थानीयबासी बताउँछन् । अरुले भन्दा धेरै नै सस्तो दरमा काम गर्ने भएकाले गाउँलेले उनीहरुलाई खोजीखोजी काम दिने गरेको स्थानीयबासीको भनाइ छ ।
कपन शिविरमा हाल तीनसय ८४ जना रोहिङ्ग्या शरणार्थी आश्रित छन् । संयुक्त राष्ट्रसंघले खाद्यान्न सहायता दिन छाडेपछि उनीहरु विभिन्न ठाउँमा श्रम गर्दै जीविका चलाइरहेका छन् । प्रहरी प्रशासनलाई यसबारे जानकारी भए पनि कडाइ गरेको छैन ।
प्रतिक्रिया दिनुहोस !