नगरकोट भर्सेज नोबागाङ
छ्योर्तेनजस्तो तिम्रो भग्न छातीमा
यादहरूको प्राचीन स्मारक उत्खनन गर्न
प्रिय, नोबागाङ !
नगरकोट बनेपछि तिमीले
किन बिस्र्यौ गाउन आफ्नै गीत ?
यहीँनेर थियो नि भेडीगोठ !
यहीँ लाग्थ्यो बोन्बो जात्रा !
ज्याम्याङ आखेले,
चोभारमा सभ्यताको पहिलो खड्ग हान्नुअघि
यहीँ टेकेका थिए प्रथम पाइला
सम्झेर इतिहासका ती सुनौला डोब
यही भग्न छ्योर्तेनछेउ मैले
कुनै बेला बालेको थिएँ
सम्झनाको साँझबत्ती
प्रिय नोबागाङ !
तिमी नगरकोट बनेपछि
किन बेसुरा बन्दै गएको हो तिम्रो आफ्नै सुर
किन विलय हुँदै गएको हो तिम्रो आफ्नै लय
किन दुब्लायौ नि यसरी
बोकेर जिउभरि कंक्रिटका सुकेनस करङहरू ?
सेरगी ग्याल्सादेखि हिँड्दै आइपुगेर
शीतजस्तो समयको कुनै एक विन्दुमा
पहिलोपटक जब मैले
गाएको थिएँ यहाँ सभ्यताको सेलो
हाँसेका थिए त्यसबखत उन्मत्त हिमाल
नाचेका थिए बैंसालु बतास
काउकुती लागे झैं कम्मर मर्काउँदै–मर्काउँदै
उडिगएका थिए भुइँकुइरो
टाइम ट्राभलरजस्तो
म उही तान्त्रिक बोन्बो हुँ
बटुलेर यादहरूका पुराना टुङ्ना धुन
सोध्न चाहन्छु म तिमीलाई
मै पुरिएको यो चिहानमाथि
को गरिरहेछ आज जुम्बा डान्स
डम्फूको जेसुम ताल छोप्दै
कम्मर मर्काउने मैंच्याङहरू
किन नाचिरहेछन् बेसोमत हिपहप ?
किन फिक्का बन्दै गइरहेको छ–
यो लुङदरको रंगीन लय ?
हो, छ्योर्तेनजस्तो तिम्रो भग्न छातीमा
फहराउँदै सम्झनाको आदिमदज्र्यु
यादहरूको प्राचीन स्मारक उत्खनन गर्न
आइपुगेको छु म आज
प्रिय, नोबागाङ !
संसारभरका फिरन्तेहरूलाई
सुनाइदेऊ न आज तिमी
तिम्रो आफ्नै गीत !
०००
नोबागाङ– अग्लो डाँडा
छ्योर्तेन– चैत्य
दज्र्यु– ध्वजा
बोन्बो– बोनहरूको गुरु
ज्याम्याङ– मञ्जुश्री
सेरगीग्याल्सा– तिब्बतको एक प्राचीन राज्य
जेसुम– सौन्दर्य÷पहिचान
लुङ्दर– तामाङ समुदायको सांस्कृतिक ध्वजा