थुतुनो कति खतरनाक !
मान्छे मन परेन भने त्यसको थुतुनो कस्तो चोसो परेको, कति भद्दा, मनैनपरेको भन्ने गरिन्छ। घर झगडा हुँदा पनितेरा थुतुनो भत्काइदिउँ भनिन्छ। सासू–बुहारी, देउरानी–जेठानी, वल्लो–पल्लो टोलछिमेकका आइमाईको झगडामा पनि थुतुनो च्याताच्यात गर्छन्। थुतुनोले धेरै ठाउँमा भत्काएको बिगारेको देखिन्छ/सुनिन्छ। हुन पनि यही थुतुनोले कति काम सप्रिन्छ भने धेरैजसो बिग्रन्छ। थुतुनो कन्ट्रोल गर्न सकिएन भने त्यसले सत्यानाश गराउँछ। थुतुनोले मित्र पनि शत्रु भएका धेरै उदाहरण छन्।
थुतुनोभित्रको जिब्रो चिप्लियो भने कति नोक्सान हुन्छ ? भनिसाध्य छैन। यही थुतुनोले कतिको जीवन धन्य ! धन्य ! भएको छ भने कतिको सत्यनाश पनि भएको छ। कतिको थुतुनो चिल्लो हुन्छ भने कतिको थुतुनो खस्रो हुन्छ। यो थुतुनो पनि अपारको छ। कतिखेर एउटा कुरा भन्छु भन्दा थुतुनो बांगिएर अर्कैकुरा बाहिरिन्छ भने कतिखेर बिग्रँदा बिग्रँदै सप्रेर पनि जान्छ। एउटै घरमा पनि कसैको थुतुनो चिप्लो हुन्छ कसैको छुरा जस्तो धारिलो हुन्छ। चिप्लो हुनेवाला मुखमा राम राम बगलीमा छुरा हो भने खस्रोले जे देख्यो त्यही भन्छ।
यतिखेर यहाँनेर थुतुनोको प्रसंग नितान्त अलग छ। संसारभरि कोरोना महामारीले घर समाज टोल, छिमेक, जिल्ला, अञ्चल, प्रदेश, देश र विश्व नै तहसनहस भएको छ। कतिपय देशमा कोरोनाले करोडौं मान्छे थला परे भने लाखौंको संख्यामा परमधाम पनि भए। दुई सयभन्दा बढी देश थला परे, अछुतो कुनै देश रहेन। थोरै होस् वा धेरै; कोरोनाले थला पारेकैछ भने लाखौंले सिल्टिमुर खाइसकेका छन्। कतिलाई २०–२२ को लक्काजवानकै अवस्थामा कोरोनाको कालले चटक्क चुँडालेर लग्यो, कतिलाई ओछ्यानमा सोत्तर पार्यो।
कतिलाई धेरै बाँच्न मन थियो होला, खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा शिवखुलित बनाइदियो। कति त बिहे गर्ने उमेरका, बच्चा पाउने उमेरका गए, बिते, सिल्टिमुर खाए।न रोएर हुने नहाँसेर हुने। यो काल पनि कति निर्दयी हो खै ! ९०÷१०० कटेका खुस्किँदा त त्यत्ति पछुतो नहोला तर खाइलाग्दो बित्दा कसको मन नरोला ? उपरोक्त बेहोरा मैले त्यसै कथेको चाहिँ होइन है ! ल सुन्नुस् मनुवाहरू ! संसारभरि अहिले सात अर्बभन्दा बढी मानिस छन्। सबैका एक–एकवटा खाने थुतुनो छन्। सास नफेरी कोही बाँच्न सक्दैन। कोरोना भनेको सास फाल्दा सार्ने अनि तान्दा सर्ने। थुक्दा सर्ने फुक्दा सर्ने। हाछिउँँ÷बछिउँ गर्दा नि सर्ने। खोक्दा सर्ने भुक्दा पनि सर्ने। स्वर सुक्दा पनि सर्ने स्वर फुक्दा पनि सर्ने। जे गर्दा पनि सर्ने।
हिसाब गरम् त ! साबुनपानी मिसाएको वा मिनिरल वाटर हालेको स्यानिटाइजर कति अर्ब ग्यालेन बिके होलान्। सक्कली हो कि नक्कली मास्क कति अर्ब बने होलान्, कति बिके होलान्। कोरोनाले चौपट बनाउँदा करोडौंको संख्यामा बेरोजगार भएको बेलामा नयाँ रोजगारी पाउनेहरू कति भए होलान्। लाखौं उद्योग सोत्तर भएका बेला यी सामान उत्पादन गर्ने कति कारखाना नाफामा गए होलान्। उद्योगधन्दा चलाइरहेका कति मान्छे करोडपतिबाट रोडपति बने, काम नपाएर बसिरहेका कति मान्छे नयाँ रोजगारी र उद्योगधन्दाले अर्बपति भए। दैवको लीला पनि अचम्मको हुँदोरेछ ! एउटा सोच्यो अर्कै हुन्छ। हेरम् न कल्पनै नगरेका पर्यटकीय होटल, लज, व्यापार व्यवसाय, सटर, कोठा, सहर, बजार, यातायात कसरी ठप्प भए।
आकाशैभरि चौबीसै घण्टा कानै खाने गरी चिल उडेजस्तो कर्कस आवाजसहितका हजारौं जहाज आ–आफ्ना देशमा थन्किए। जमिनमा गुड्ने थोत्रा गाडीदेखि आकाशमा उड्ने हवाईजहाजसम्मले लामै विश्राम लिए। के यो कसैले सोचेको थियो होला त ! महामारी त विगतमा पनि भए। करोडौं स्वाहा भए। त्यसमा थुतुनोको भूमिका भए पनि छिट्टै ओखती पत्तो लाग्यो। अहिले यो कोरोना त थुतुनोकै कारण सर्वव्यापी भइदियो। यो एउटा थुतुनो नभएको भए न संक्रमितले सास फेर्दा सद्देलाईसथ्र्यो न सद्दे मान्छेले सास तान्दा कोरोना सरेर परमधाम हुनुपथ्र्यो। त्यसैले यो थुतुनो सबैभन्दा बेकामे, निकम्मा र खतरनाक सावित भएको छ।
थुतुनोबारे यसोभन्दा तपाईंहरूले पक्कै पनि यो पागल भएछ भन्ठानेको होला। त्यसो होइन। यो सबै ब्रम्हाजीको करामत हो। सोचेर हेरौं त ब्रम्हाजीले यो थुतुनोलाई कलकलाउँदो, राम्रो, मोहनी लाग्लाजस्तो, हेरिरहौं जस्तो अनुहारतिर नराखेर पछाडि पारिदिएको भए संसारमा आज यो हविगत हुन्थ्यो त ? हुन त भन्नुहोला, थुतुनो नभए केले खाने, केले सास फेर्ने, केले गाली गर्ने, कसरी चिप्लो घस्ने हो ?
साँच्चै सोचिहेरौं त थुतुनोको आकार प्रकार अगाडि भए नि। त्यो नबोल्ने नच्यातिएको टम्मै टालिएर थुतुनो मात्र पछाडि भएको भए आमनेसामने भए पनि सास लिँदा÷दिँदा कोरोना सरेर परमधाम भइन्थेन। खाने पिउने भनेको पाइप लगाएर नि काम चल्थ्यो। अर्कोले ख्वाए नि भइहाल्थ्यो। किनभने ख्वाउनेको थुतुनो पनि त पछाडि नैहुन्थ्यो नि ! आहा कति हाइसञ्चो हुन्थ्यो होला हगि ! न मास्क लाउने झञ्झट न सेनिटाइजरको झमेला। न सामाजिक दूरीको कुरा न घण्टैपिच्छे हात धोइहाल्ने सकस। कोरोनाको दोहोलो भइसक्थ्यो।
मान्छेले यो ब्रम्हाण्डमा अटाइनअटाइ बच्चा जन्माए, नियन्त्रण गरेनन्। पृथ्वीलाई बढी भार होला भनेर पनि ब्रम्हाजी दूरदर्शी बनेका होलान्। त्यसैले पृथ्वीमा मान्छे थामीनसक्नु भयो भने के गर्ने त ? सृष्टिकर्ता त उनै ब्रम्हाजी हुन्। यदि थाम्नै सकिएन भने ? उनले मान्छेको जुन अंग जहाँ पनि राख्न सक्थे। आँखालाई कान भएको ठाउँमा र कानलाई आँखा भएको ठाउँमा। पिठ्यूँँलाई अगाडि र पेटलाई पछाडि पनि राख्न सक्थे। सिंगो अनुहारलाई पछाडि र टाउकोलाई अगाडि राख्न नि सक्थे। नयाँ यन्त्र, अत्याधुनिक औषधि उपचार र प्रविधिको विकासले मान्छे हत्तपत्त मर्दैन भन्ने थाहा थियो ब्रम्हाजीलाई।
त्यसैले कोरोनालगायतको रोग उत्पत्ति हुँँदा सास फाल्दा र लिँदा स्वाट्टै भित्र पसोस् अनि हत्तपत्त औषधि बनिहाल्ने होइन क्यारे फटाफट परमाधाम भएर मनुष्यको परिवार नियोजन गर्ने चलाखी हुनपर्छ ब्रम्हाजीको। पृथ्वीलाई साह्रै भार नहोस् भनेर पनि बेलाबखत अनौठा रोगव्याधको उत्पत्ति हुँँदा जनसंख्या घटाउने उपाय सुझाएका रेछन् ब्रम्हाजीले। खै त जनावर पशुपक्षीका पनि त थुतुनो छन् नि कोरोना लागेको थाहा छैन। खासमा मान्छेलाई कोरोना हुनुुमा त प्रकृतिमाथि बढी अन्याय अत्याचार अनि अतिक्रमण गरेर पनि हो जस्तो लाग्छ।
हेरम् त मित्रहरू ! अरू सब यथावत् राखेर थुतुनो मात्र पछाडि राखिदिएको भए आज संसारका यी मानवले दानवरूपी कोराना महामारीका कारण उमेर नपुग्दै परमधाम हुनपथ्र्यो त ? त्यसैले एउटा प्रार्थना गर्दछु, हे ब्रम्हाजी ! आजका मितिसम्म पृथ्वीमा जो जो अगाडि थुतुनो लिएर जन्मे–जन्मे अब उप्रान्त जन्मने मनुष्यको शरीरका अंगहरू तत्तत् स्थानमा राखेर कोरोना सार्ने थुतुनो चाहिँ पछाडि राखिदिनुहोला प्रभु ! बाँचिरहेकाहरू यो कोरोनारूपी रोगले परमधाम हुने भए पनि अब जन्मने मनुष्यले हाम्ले जस्तो सास्ती भोग्नु नपरोस् !