आहत जिन्दगी
घरबेटी बा एक्लै छन्। स्वास्नी मरेको एक वर्ष पुगेको छैन। देख्यो कि मस्किन्छ। अस्ति त बुढाले मुखै फोरेर भने, ‘सुकमाया कति दुःख गछ्र्यौ ? मेरो टहल गर। तिमीलाई खानलाउन केही दुःख हुँदैन। मेरो को छ र... ? सारा सम्पत्ति तिम्रै। मेरो कुनै सन्तान छैन। तिम्रो छोरी मेरै हुन्छे।’
दिन ढल्यो, साँझ पर्यो।
अँध्यारो छिँडी कोठामा के बिहान, के दिन, के साँझ सधैं उस्तै हो। कहिल्यै घामले नचिहाउने यस छिँडीमा डेरा लिएर बसेको पनि चार वर्ष भएको छ।
चौतारामा जन्मीहुर्की बिहाबारी गरी घरजम गरेकी थिई सुकमायाले। तर, श्रीमान्ले अर्को घरबार गरेपछि उनी एउटी छोरी काखी च्यापेर काठमाडौंमा झरेकी थिई। एक वर्ष त साथीकहाँ बसी भाँडा माझ्ने काम गरी तीन वर्षदेखि टेम्पु चलाउने सिकी सुन्धारा र स्वयम्भू रुटमा टेम्पु चलाउन थालेकी थिई। टेम्पु चलाईकेही आम्दानी भएपछि साथीसित छुट्टिई अलग्ग यस छिँडीमा डेरा बस्न थालेकी हो।
सुकमायाले दिक्क भई ढोकामा आई उभिई। छोरी आइती सडकमा खेलिरहेकी थिई। छोरीलाई घरभित्र हुलेर ऊतरकारी किन्न बजारतिर लागी। उसित दुई सय रुपैयाँ मात्र बाँकी छ। एक किलो चामल र केही तरकारी किनेर ऊ घर फर्की। अब ऊ सित केवल ५० रुपैयाँ बाँकी छ। अब आउने दिन कसरी टार्ने हो। ऊ हुनसम्म दुःखी भई।लकडाउनले गर्दा टेम्पु थन्केको थन्केकै छ। कानको मुन्द्री बेचेर टारेकी थिई। कोरोनाको मारमा ज्यालादारी काम गर्ने र ऊ जस्तो दिनहुँ कमाइ छाक टार्नेका लागि त बज्रपात नै परेको छ। टेम्पु चलाउन थालेपछि छाक टार्न केही सजिलो भएको थियो।
लकडाउनले गर्दा न त चौतारा माइती नै जान सकी न केही काम नै पाई। भाँडा माझी खाऊँ भने संक्रमणको डरले कसैले घरमा हुल्न मानेनन्। अब के गर्ने...? ठूलो प्रश्न उसका सामु मुख बाएर उभियो। डम्बरले उसलाई धेरै फकाएको थियो– तर उसले मानिन। ऊ माथि सौता हालेर उसको खसमले उसलाई धेरै सकस दिएको छ। त्यस्तै सकस डम्बरको जोईलाई दिन उसको ब्रम्हले मानेन। डम्बरको घर तोड्न उसले डम्बरेलाई लत्याएकी थिई।
यस्तो सोचेर ऊ कसौडीमा छड्किरहेको चामल चलाउन थाली। कसौडीमा छड्केको चामलभन्दा मनमा असरल्ल छरिएका चिन्ता बढी छड्किरहेका थिए। त्यसैबेला डम्बरे टुप्लुक्क आइपुग्यो।
‘के गर्दैछौ सुकमाया ?’
‘भात पकाइरहेकी... ’, ऊतिर हेर्दै नहेरी सुकमायाले जवाफ दिई।
‘लकडाउन त अब छिट्टै खुल्छ रे।’
‘हो...।’ सुकमाया केही खुसी देखिई।
‘तिम्रो गाडी पनि अब चल्ने भो उसो भए ?’
‘हेर सुकमाया, गाडी चल्न छोडेकाले मेरो त गाँसै रोकियो। न घरतिर लाग्नै सकियो, न केही काम नै गर्न पाइयो। आजको छाक त यहीं टार्न पर्यो कि क्या हो ?’
‘लकडाउनले नखुले त हामी भोकभोकै हुने भो। जेनतेन ६ महिना त टारियो अब त भएको पैसा सबै निख्रियो।’
‘लकडाउन नखुले के गर्ने होला ?’ सुकमायाको अनुहार भरी असरल्ल चिन्ताका रेखा कोरिए।
‘बहाल तिर्न नसकी घरबेटीले उत्तिकै कचकच गर्छ। उठेर जाऊ कि बहाल तिर भन्छ।’
‘यो कोरोना भन्ने मुर्दार पनि कहिले अल्पिने हो कुन्नी ! रोगले भन्दा भोकले पो मरिने भो...।’
‘कोरोना भन्ने रोग पनि कहाँबाट मुन्टिएको हो कुन्नी...’, सुकमायाले हावामा धारे हात लाउँदै भनी।
दुई जनालाई पकाएको भात तीनजनाले बाँडीचुँडी खाए।
‘मेरो घरमा त एक गेडो चामल नि छैन। भोलिको छाक कसरी टार्ने हो। हिजोदेखि मेरो चुल्हो बलेको छैन’, डम्बरेले मुख चुठ्दै भन्यो।
‘हुने खानेले दिनहुँ मासुभात खाइरहेका छन्– लकडाउनले त हामीजस्ता गरिबलाई पो असर पारेको छ। गरिबहरूलाई सधैं मारैमार। कोरोना बजियाले पनि हामीलाई नै मारिरहेको छ। रोग लागे औषधि गर्ने पैसा छैन। रोग लागेन भनी दंग परुँ भने भात खाने पैसा छैन। गरिब हुनु पनि अभिशाप नै रहेछ हगि सुकमाया’, डम्बरे फत्फताउन लाग्यो।
‘कुन दिन कोरोनाले गाँज्छ– मर्न पाएँ आनन्दै हुन्छ। म मरे पनि यो छोरीले दुःख पाउने भई। कसले हुर्काउँछ यसलाई ? दुवैलाई कोरोनाले लगे हुने।’
‘त्यस्तो कुरा नगर सुकमाया। ज्यान रहे जे पनि गरी खाइन्छ ज्यानै नरहे त सकि गो नि। बाँचेर के के देख्नु छ, भोग्नु छ।’
‘दुःखीलाई दुःख भोग्नुबाहेक सुख भोग्न पाइन्छ र?, मलाई त मर्न पाए हुन्थ्यो जस्तो लाग्छ आजभोलि।’
एकछिन कोठामा सन्नाटा ओहोर दोहोर गरिरहन्छ।
‘यसो एकटुक्रा खेत भए विदेशतिर गएर कमाउन सकिन्थ्यो। त्यो पनि छैन। ड्राइभर पेसाले खान लाउन ठीक्क। बुढीले पनि केही गर्न सक्दिन। रोगी छे। जिन्दगी बेकामको भयो।’
‘लौ बाह्र सत्ताइस कुरा गरेर नबस। मलाई निद्रा लाग्यो। आफ्नो बाटो लाग।’
‘आज मलाई यही बास देऊन’, डम्बरे ङिच्च हाँस्छ।
‘भो जाऊ। गरिब भएपनि सत्मा बसेकी छु। सत्नै छोडनु परे मुम्बईतिर लागे भैगो नि।’
डम्बरे दाँत ङिच्याएर बिस्तारै उठ्छ र बाहिरिन्छ।
डम्बरे बाहिरिएपछि सुकमायाले लामो निःश्वास छोड्छे।
घरबेटी बा एक्लै छन्। स्वास्नी मरेको एक वर्ष पुगेको छैन। देख्यो कि मस्किन्छ। अस्ति त बुढाले मुखै फोरेर भने, ‘सुकमाया कति दुःख गछ्र्यौं? मेरो टहल गर। तिमीलाई खानलाउन केही दुःख हुँदैन। मेरो को छ र...? सारा सम्पत्ति तिम्रै। मेरो कुनै सन्तान छैन। तिम्रो छोरी मेरै हुन्छे।’
पिण्ड खाने बुढाले पनि आफूलाई ताकेको देख्दा सुकमायालाई कहिले यो छिँडी छाडेर जाऔं जस्तो लाग्छ। ऊ सोचाइको पहाड उक्लिन थाली।
कतै गएपनि सुख नपाइने भो। एउटा ज्यान त जसरी पनि पालिन्थ्यो तर छोरीलाई अलपत्र पार्नु भएन। छोरीका लागि त बाँच्नु परेको छ नि...। नत्र कतै नोकरीगरेर पनि एक्लो ज्यान त पाल्न सकिन्छ। उसलाई आँखा लाउने त धेरै छन्– छोरीले दुःख पाउली भनेर उसले कसैतिर मन लगाएकी छैन। घर छाडेदेखि उसले कम सास्ती भोगेकी छ र?
कति रात त उसले सुस्केरामै बिताएकी छे। आफ्ना दुःखका पलहरू सम्झी सम्झी सुकमायाको आँखा रसाएर आउँछ। उसको आँखाबाट रोक्दा रोक्दै पनि आँसु बग्न थाल्छ। छोरीलाई अँगालेर ऊ क्वाँ क्वाँ रुन्छे। छोरी पनि आमा सँगै निद्राबाट ब्युँझिएर रुन थाली।
‘हैट...।’
यसरी हरेस खाएर पनि हुन्छ ? मुटु त बलियो पार्नुपर्छ। एकल महिलाले त दुःखको पहाड थिचे पनि सहनुपर्छ। सुकमायाले आमाले भनेको कुरा सम्झी।
‘आइमाई भनेका त पृथ्वी हुन्। जत्तिकै दुःखको पहाडले थिचे पनि स्थिर हुनुपर्छ।’
‘हो त नि। त्यस असत्ती लोग्नेको पिटाइ र बुहार्तन सहन नसकी आँट गरी छोरी च्यापी घरबाट निस्केकी हैन र...। त्यसलाई देखाउन पनि छोरीलाई हुर्काउनु पर्छ।’
त्यसपछि उसको मनमा केही आँट पलायो। ऊ भुसुक्कै निदाई। छोरी पनि निदाई। बिहानीले धर्तीमा पाइला टेकेपछि सुकमाया ब्युँझिई।
‘सुकमाया, लकडाउन खुल्यो’, एकाबिहानै डम्बरले सुखद् समाचार सुनायो।
‘ए हो र ?’ ऊ खुसीले बुरुक्क उफ्रिई। छोरीलाई खानपिन गराई सुकमाया साहूको घरमा टेम्पु लिन दौडिई। नभन्दै बाटामा मोटर गुडिरहेको देखी। साहूको घर पुगी, सुकमायाले टेम्पु स्टार्ट गरी।
टेम्पूलाई हुइँक्याएपछि उसलाई हुनसम्मको आनन्द भयो। संसारै जिते जस्तो हर्ष अनुभव भयो।
‘सुन्धारा, सुन्धारा, आउनुहोस्।’
उसले यात्रुलाई आफूतिर आकर्षित गर्दै कराई।
लकडाउन खुलेर कमाइ भएपछि सर्वप्रथम सुकमायाले सुरक्षित ठाउँमा डेरा सरी।
अब उसको जीवन टेम्पुको गुडाइसित नियमित रूपले जीवनको गोरेटोमा गुड्न थाल्यो। उसले आफूलाई संसारकै भाग्यमानीमध्ये एक सम्झी।
ऊ जस्ती गरिबलाई एक छाकको जोहो भए अरू के चाहियो र...।
कोरोनाको त्रास अब जति नै भए पनि ऊ आफ्नो दैनिक कार्यमा निरन्तर लागिरही।