अर्धनारीश्वर कि नारी सत्ता ?
स्त्रीद्वारा नै रचना भएको पुरुष, पुरुषकै सहयोगमा रचना भएकी स्त्रीको यो सत्यलाई अस्वीकार गर्न सकिँदैन। दुर्गा सप्तशतीमा नारीशक्तिलाई चुनौती दिने शक्ति र सामथ्र्य आजको दुनियाँमा छैन।
शरद ऋतुको चहलपहल सुरु भइसकेको छ ! नेपालीको महान् चाड बडादसैं घरआँगनमा भित्रिइसकेको छ ! दसैं सर्वस्वीकृत थियो हिजोसम्म। आजसम्म आइपुग्दा, दसैं कोण–प्रतिकोणको दृष्टिकोणबाट लड्दैपड्दै अघि बढिरहेको छ।
कसैले सामन्ती संरचनाको आधार, कसैले महान् पर्व, कसैले जातीय पहिचान मेटाउने पर्व, कसैले खस आर्यको पर्व आदि आदि; दसैंको चरित्रमाथि आआफ्नै टिप्पणी र परिभाषा हुन थालेका छन्। एकातिर पुरुष र स्त्री दुवैले विजय गरेको पर्व र अर्कातिर स्त्रीले विजय गरेको पर्वका रूपमा पनि यसलाई लिने गरिएको छ।
दसैंको सम्पूर्णता— बडादसैंसँग होला। दसैं बलिप्रथाको उत्तेजक पर्वका रूपमा, शक्तिआर्जनको पर्व आदिका रूपमा मनाइन्छ। स्त्रीको अविरल सामाजिक विकृतिका विरुद्धको लडाइँ, असुर प्रवृत्तिको विरुद्ध, पुरुष सत्ताले हारेको बेलामा स्त्री शक्तिले लडेको लडाइँका रूपमा पनि बुझ्ने गरिन्छ। समाजको नारीसत्ताको विजयोत्सवको सत्यलाई स्वीकार्नु नै दसैंको पर्वको महानता हो। विष्णु, शिव, इन्द्रलगायत वैदिक सनातन धर्मका देवताले लड्न नसकी सत्ता गुमेको अवस्थामा स्त्रीलाई पुरुषको छातीमा टेकाई स्त्रीद्वारा लडेका थिए। महानताको वर्णन गरी लडेको लडाइँ तत्कालीन समाजको सिर्जनात्मक विध्वंस हो। नयाँ समाजको निर्माणको पहलका रूपमा सो युद्धलाई किन नलिने भन्ने प्रश्न उभिएको छ। भलै सोबमोजिम समाज निर्माण भएको छैन।
नालापानीमा बलभद्र वीरतापूर्वक लडाइँ लडे तर अन्तिममा भक्ति थापाको ज्यान गएपछि मैदान छोडेकालाई पनि वीर रसको रूपमा चित्रित गरेका छौं। तर, नारीशक्तिले लडेको लडाइँलाई त्यही ढंगबाट सम्मान दिन कञ्जुस्याइँ गर्छांै। दसैं ईश्वरीय शक्तिका रूपमा मान्नेलाई मान्न दिऊँ। दसैंले पुरुष सत्तालाई प्रकृतिले चुनौती दिई प्रकृति नै विजय भएको तथ्यलाई आँखा नचिम्लिने हो कि ? दसैंमा पढिने दुर्गा सप्तशतीमा विभिन्न कालखण्डका विद्वान्ले आआफ्ना धारणा थपे होलान्। महालक्ष्मी, महासरस्वती र महाकालीको रूपमा क्रमशः अर्थको नेतृत्व, बौद्धिकताको नेतृत्व र शक्तिको नेतृत्व नारीले लिएको अवधारणालाई बुझ्न सकिन्छ। उपभोगवादी संस्कृतिको वर्तमानमा ऐतिहासिक मिथकहरूलाई खोज अनुसन्धानको रूपमा दसैंलाई लिँदा उपयुक्त हुने देखिन्छ।
सबै देवी सवर्ण जातिका स्त्री मात्र होइनन्, ती सबै नारी जगत्का प्रतिनिधि पात्र हुन्। नारी जगत् सवर्ण र दलित, जाति जनजातिमा उत्तिकै शोषणको मारमा परेका छन्। नारीबीच भौतिक सुख–सुविधाको अन्तर होला सामाजिक संरचनाभित्र। अर्धनारीश्वरको रूपमा स्त्रीलाई स्वीकार गरेको मात्र हुन्, या आफूलाई नारीमा समर्पण गरी नारी सत्तालाई स्वीकार गरेका हुन्, अध्ययनकै विषय छ। बाध्य भएर नै सही, प्रकृतिको सत्तालाई स्वीकार गरिएको छ। असुर जाति जनजाति होइन, तत्कालीन समाजको प्रवृत्ति हो जुन देवतामा पनि थियो नत्र इन्द्रको चित्रण हुँदैनथ्यो होला। शिव जसलाई ईश्वरीय भाषामा पुरुष मानिन्छ; उनले छातीमा प्रचण्ड नारी शक्तिलाई रोक्न नारीको पैताला टेकाए। नारी मनले लज्जाको अनुभव गरी जिब्रो काढ्नुलाई पुरुषको अस्तित्वलाई स्वीकार गरेको पर्व पनि हो।
स्त्रीद्वारा नै रचना भएको पुरुष, पुरुषकै सहयोगमा रचना भएकी स्त्रीको यो सत्यलाई अस्वीकार गर्न सकिँदैन। दुर्गा सप्तशतीमा नारी शक्तिलाई चुनौती दिने शक्ति र सामथ्र्य आजको दुनियाँमा छैन। दुर्गा सप्तशती नै नारी मुक्तिका लागि रामवाण हो या अचुक दबाई हो भन्ने होइन। तर, शरद ऋतुको बडादसैंमा विभिन्न धर्मको धार्मिक ग्रन्थमा लेखिएका नारी वीरताका नारी अस्मिताको संघर्षका मिथकहरू खोज्दै जाऊँ भन्ने हो। थुप्रै नारी सत्ताका विभिन्न संस्कृतिको सकारात्मक पक्षलाई ग्रहण गर्ने पर्व हो दसैं।
नेपालीका सन्दर्भमा बडादसैं सबै धर्मावलम्बीलाई स्वीकार्न आग्रह पनि गर्दिनँ। ती संघर्षका मिथकहरूलाई त सर्सर्ती अध्ययन गर्न, मनन गर्न त सबैलाई अधिकार छ नि। रातो टीका लगाउनुस् या नलगाउनुस्, बलि दिनुस् या नदिनुस्, लावालस्कर लागेर आशीर्वाद थाप्न जानुस् या नजानुस्। संघर्षको स्वभी मिथकहरूलाई, नारीको सार्वभौमिकतालाई एक–एक मिनेट नौ दिन मनन गरौं। आमा, हजुरआमा, दिदी, बहिनी, पत्नी, भाउज्यू, माइज्यू, जे जति नारी नाताका रूपमा छन्; तिनीहरू श्रद्धाका पात्र हुन् कि ?