तस्करी नियन्त्रणमा जुट्यो प्रहरी
धरान : नेपाल–भारत खुल्ला सीमा नाकाको फाइदा उठाउँदै प्रदेश १ का सीमावर्ती जिल्लामा दैनिक तस्करी बढेको छ। तस्करी रोक्नका लागि प्रदेश प्रहरी प्रमुख इश्वरबाबु कार्कीले आफैँ गस्ती गर्न थालेका छन्। प्रदेश १ का सुनसरी, मोरङ, झापा र इलाम जिल्लाबाट हुने तस्करी नियन्त्रणका लागि डिआइजी कार्कीको टोली मध्यराति सीमा क्षेत्रको गस्ती गर्दै सीमा क्षेत्रका प्रहरी युनिटहरुको अनुगमनमा निस्कन थालेको छ।
कोरोना महामारीको समयमा पनि तस्करले सीमा क्षेत्रका प्रहरी युनिटका इन्चार्जसँग मिलेमतो गरी भन्सार छली सामाग्री नेपाल भित्र्याउने गिरोह सक्रिय भए पश्चात आफैं निगरानीमा खटिएको डिआईजी कार्कीले बताए। पछिल्ला समय नेपालबाट बलि दिने उद्देश्यले युवती ओसारपसार गरी भारत लैजाने गिरोह सक्रिय भएपश्चात प्रहरीले सीमा क्षेत्रमा विशेष प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको उनले बताए।
डिआइएजी कार्कीले सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका दर्जनौं सीमा नाका र भन्सार कार्यालयको स्थलगत अनुगमन गरी सीमा क्षेत्रका प्रहरी युनिटका प्रहरी इन्चार्जहरुलाई सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन, अवैध तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएको बताए। उनले प्रहरी आचार संहिता विरुद्ध काम गर्ने जो कोहि प्रहरी कर्मचारीलाई जागिरबाटै कडा विभागीय कारवाही गर्ने चेतावनी दिएका छन्।
डिआईजी कार्कीले प्रदेश १ को शान्ति सुरक्षा मजबुत बनाउन र सीमा क्षेत्रको चोरी तस्करी र अवैध कृयाकलाप नियन्त्रण गर्न नियमित गस्ती अनुगमनलाई प्रभावकारी बनाउन अभियान थालेको बताए। उनले सीमा नाकामा तस्करी नियन्त्रण गर्न प्रदेश का जिल्लामा थप प्रहरी समेत परिचालन गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !