त्यत्ति गर्दैमा के भयो त ?

त्यत्ति गर्दैमा के भयो त ?

घरमा आफ्नै ससुरा, देवर, काकाले। बाहिर छिमेकी दाइ, अंकल, मामाले। घरमा, मन्दिरमा, पसलमा, बसमा, गोठमा, उखुबारीमा, कान्लामा। बिहानै, दिउँसो, साँझ, राति। शिशुलाई, अबोध बच्चालाई, छोरीलाई, बहिनीलाई, बुहारीलाई, साथीलाई, आमालाई जबरजस्ती गर्दा त केही हुन्न। जाबो बाटोमा हर्न बजाउँदैमा के के न भाको जस्तो !


फागुन अन्तिम साता। कलेजबाट कोठा फर्कंदै थिएँ। नजिकैबाट बाइक हुइँकियो। ठूलो स्वरमा काननजिकै ‘कोरोना’ भनी कराएर गयो।

‘के भयो त त्यत्तिमा ?’

अँ केही हुन्न, हुन त, बस् बाटोमा हिँडेका मान्छेले मलाई हेरे। मेरो कलेजमै पढ्ने जुनियर भाइहरूको त्यो रूप देखेर हाँसें। तर, त्यो बाइकलाई हेर्न पनि सकिनँ, टाउको निहुर्‍याएर हिँडें। कोठा पुगें। नुहाइधुवाइ गरें। खाना बनाएँ, खाएँ। अफिस हिँडें। बाटोमा बाइक छेउमै आएर हर्न बजाएर जान्छन्। ट्रक, ट्र्याक्टर चौडा बाटो खाली हुँदा पनि जानी जानी निकै छेउबाट हुइँक्याइदिन्छन्। म निहुरेरै हिँड्छु। बस स्ट्यान्ड पुग्छु। खलाँसीले सिट्ठी बजाउँदै बोलाउँछ, मलाई दिक्क लाग्छ।

‘त्यत्ति गर्दैमा के भयो त ?’

अँ केही हुन्न, हुन त। काम गर्छु, खान्छु, सुत्छु तर मलाई भोलि फेरि त्यही बाटो हिँड्न डर हुन्छ तर हिँड्छु, निहुरेर। बाइकको हर्नदेखि पनि डर लाग्छ अचेल। यस्ता जाबा सानातिना कुरा त दिनदिनै हुन्छ, छिनछिनमै हुन्छ। नपत्याए सोधी हेर त आफ्नी छोरीलाई, दिदीबहिनीलाई, साथीलाई, प्रेमिकालाई, श्रीमतीलाई, आमालाई। मैले पनि सोधें, मेरा साथीलाई, तिमीहरूलाई कहीँ कतै कहिल्यै कसैबाट ‘ह्यारेस फिल’ भाको छ ?

‘छैन यार त्यस्तो त, धन्न।’

अनि पछि एक दुई गर्दै सानी हुँदादेखि अहिलेसम्मको यस्ता जाबो सानातिना घटना सम्झँदै सुनाउन थालें। कहीँ बसमा सँगै बसेको बुवासरह उमेरको यात्रुले सिट ओगट्ने निहुमा छुन खोजेर होस्, खलाँसीले जिउमा समाएर गाडीबाट ओराल्न खोज्दा होस्। स्कुलमा सरले हालखबर सोध्दै ढाडमा छुँदा होस्, अफिसमा हाकिमले होस् वा बाटोमा अपरिचितले।

‘अनि यत्तिमै डिप्रेस्ड ?’

‘अहँ छैन नि।’

घरमा आफ्नै ससुरा, देवर, काकाले। बाहिर छिमेकी दाइ, अंकल, मामाले। घरमा, मन्दिरमा, पसलमा, बसमा, गोठमा, उखुबारीमा, कान्लामा। बिहानै, दिउँसो, साँझ, राति। शिशुलाई, अबोध बच्चालाई, छोरीलाई, बहिनीलाई, बुहारीलाई, साथीलाई, आमालाई जबरजस्ती गर्दा त केही हुन्न। जाबो बाटोमा हर्न बजाउँदैमा के के न भाको जस्तो !

केही दिनदेखि समाचारमा, सामाजिक सञ्जालमा बलात्कारका घटनाले स्थान पाइरहेकै छन्। त्यस्ता घटनामा दुःख मात्र व्यक्त गर्न सक्छौं, अरू केही गर्न सक्दैनौं। सायद यो कुरा तिमीलाई राम्रोसँग थाहा छ है ? त्यही भएर त देशमा कानुन हँुदाहँुदै तिमीलाई एक रत्ति पनि डर छैन नि। तिमीलाई राम्रोसँग थाहा छ है ? तिमीले बाटोमा जिस्क्याउँदा हामी उल्टै टाउको निहुर्‍याएर हिँड्छौं। तिमीलाई राम्रोसँग थाहा छ है ? तिमीले नराम्ररी छुँदा हामी केही भन्न सक्दैनौं। तिमीलाई राम्रोसँग थाहा छ है ? न हामी केही बोल्न सक्छौं, न घरमा भन्दा कसैले पत्याउनेछन्, न त केही भन्नेछन्। तिमीलाई राम्रोसँग थाहा छ है ?

बरु तिमी आफ्नो दम्भ देखाउन बलात्कार नै गर। बल बाँकी रहे हत्या गर्देऊ, जिउँदै छोड्दिए ठानौंला, तिम्रो महानता ! हिम्मत गरेर न्याय मागौंला, न्याय नपाए आत्महत्या गरौंला। मर्न सकेनौं भने हामी कसैलाई केही भन्दैनौं। भनिहाले तिमीसँगै विवाह हुने त हो। तर, तिमीलाई राम्रोसँग थाहा छ है ? तिमीलाई केही हँुदैन, तिमी यही समाजमा इज्जतका साथ बाँच्न सक्छौ। तिमीसँग पैसा छ, पावर छ, समाज छ, अहं छ, बल छ, घमण्ड छ, दम्भ छ, अहंकार छ। सबै सबै छ। के छैन ?

लिंगका आधारमा हुने हिंसामध्येको महिला हिंसाका धेरै रूप छन्। मलाई केहीबारे पनि लेख्नु छैन, तिमीलाई पढ्नु पनि छैन, सुन्नु पनि छैन। तर आज बलात्कारबारे भन्छु। जबरजस्तीबारे बोल्छु, करणी !!! केटी मान्छेले कुनै पनि घटनाबारे कसैलाई सुनाउँदा पहिलो प्रतिक्रिया हुन्छ, अनि तैंले केही भनिनस् ? केही गरिनस् ?

‘अहँ केही गरिनँ।’

तिमीलाई राम्रोसँग थाहा छ है ? ‘कसैले तँलाई एक झापड हाने त्यसलाई दुई झापड दे है छोरा’ 

भनेर सिकाउने बुबाआमाले हामीलाई ‘कसैले केही 

गरे चुप लाग्नु’ भनेर पनि सिकाका छन्। ‘नबोल्नु’ 

पनि भनेर सिकाका छन्। बाहिर नहिँड्नु पनि भनेका छन्। बाठी नहुनु भनी सिकाका छन्। त्यसैले हामी केही गर्न सक्दैनौं।

तिमीलाई राम्रोसँग थाहा छ है ?

हामीलाई घरमा खाना पकाउन सिकाका छन्। घरको हेरचाह गर्न सिकाका छन्। पढ्न सिकाका छन्। दाइभाइको हेरचाह गर्न सिकाका छन्। मिठो बोल्न सिकाका छन्। ठूलो स्वरले नहाँस्नु, खुट्टा फैलाएर नबस्नु, राति घरबाहिर नहिँड्नु भन्या छन्। तर तिमी बलात्कार गर, हामी तिमीबाट बच्नु भनेर सिकाएनन्। तिमीविरुद्ध बोल्न सिकाएनन्। ‘तिमी’लाई छोरीको इज्जत गर्नुपर्छ भनेर सिकाउन त जरुरी सम्झेनन्। त्यही भएर तिमीलाई थाहा छ, हामी केही बोल्न सक्दैनौं।

बाआमाले सिकाउनु पथ्र्यो, होइन भने हाम्रा गुरुले सिकाउनु पथ्र्यो अथवा पाठ्यक्रमले सिकाउनु पथ्र्यो। कक्षा ७ मा हँुदै पढिने जनसंख्या किताबमा सुरक्षित यौन सम्पर्क गर्न कन्डम प्रयोग गर्नु भनेर पढाउँदा इच्छाबेगर गरिने यौन सम्पर्क बलात्कार हो भनी सिकाउनु पथ्र्यो। ‘बिहाबारी २० वर्ष पारि’ भनेर सिकाउने सामाजिक शिक्षाले समाजमा घट्ने यस्ता अपाच्य घटनाका बारेमा बोल्न सिकाउनु पथ्र्याे। तर अहँ सिकाएनन्, सिकिएन। त्यही भएर हामी केही बोल्दैनौं भनेर तिमीलाई राम्रोसँग थाहा छ है ? तिमी बलात्कार गर्छौ, हामी सुरक्षित हुँदैनौं तर तिमी सुरक्षित नै रहन्छौ। तिमीले सजाय पाउँदैनौ, हामीले न्याय पाउँदैनौं।

हामी महिला अधिकार, महिला अधिकार भनेर धेरै उफ्रियौं रे हैन ? हुन्छ, ल सहमत। हामी कसैलाई चाहिँदैन महिला अधिकार, बराबरी पनि चाहिँदैन, बस् सुरक्षित महसुस गर्न देऊ। मेरो घरमा, उसको घरमा, हाम्रो घरमा छोरी मान्छेलाई रात परेपछि घरबाहिर ननिस्किनू है भन्ने चलन छ। मलाई लाग्थ्यो— राति राति भूत आउँछ, त्यही भएर बाहिर निस्कनु हँुदैन। तर पछि थाहा हँुदै गयो— भूत होइन राक्षस आउँदा रहेछन्, पिशाच डुल्दा रहेछन्। जो हरेक समय एकान्तको सहारामा सिकार ढुकी बस्दो रहेछ।

हामीले के गर्ने ? केही गर्न सक्दैनौं। यी राक्षसहरूको दरिद्री र घिनलाग्दो सोच नबदलिएसम्म हुने पनि केही होइन। हामीले शरीर ढाक्ने लुगा लगाए पनि, घरबाहिर ननिस्किए पनि, आत्मरक्षाको तालिम लिए पनि, झोलामा खुर्सानीको धुलो बोकेर हिँडे पनि, सडकमा बलात्कारीलाई फाँसी दे भन्दै नारा लगाए पनि हामी सुरक्षित हुन सक्दैनौं। तर तिमीले गर्न सक्छौ है, ‘हामीलाई सम्मान दिन।’ अहिले बलात्कारका घटनाबारे धेरै सुनिरहँदा ती दिदीबहिनीका बारेमा सोच्छु, जो पीडित छन्। यो समाजलाई चिनेकी छु, कोरोना संक्रमित हँुदा त बाँच्न सकस बनाइदिने यो समाजको बीचमा बलात्कृत कसरी बाँच्छिन् होला ? सायद, उनीहरूको शरीर जिउँदो देखिन्छ तर वास्तविक अवस्था भने मृतसरह भेटिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.