जनताको लगानीमा २५ मेगावाट विद्युत्
बुटवल : सहकारी मोडलमा रकम संकलन गरी जनस्तरबाट २५ मेगावाट विद्युत् उत्पादन थालिएको छ। रूपन्देही र कास्कीका सर्वसाधारणको १ अर्ब ५० करोड सेयर पुँजीबाट विद्युत् उत्पादन गृह निर्माण थालिएको हो। उत्पादित विद्युत् अबको २० महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमै जोड्ने योजना छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत् आयोजना निर्माण थालिएको हो। रूपन्देहीका करिब ५ सय र कास्कीका ६ सय सर्वसाधारणको स–साना पुँजी प्रयोग गरेर विद्युत्गृह बन्दै छ। बुटवलमा रहेको भिजन लुम्बिनी कम्पनी लिमिटेडले आयोजना निर्माण थालेको छ। यो कम्पनीमा १ लाख २५ हजारदेखि ५ लाखसम्म लगानी गर्ने सेयर सदस्य छन्। सहकारी मोडलमा रकम संकलन गरी कम्पनी बनाइएको हो।
विद्युत् गृह निर्माणको काम करिब १५ प्रतिशत सकिएको कम्पनीका कार्यकारी अध्यक्ष जगत पोख्रेलले जानकारी दिए। ५ अर्ब लागत अनुमान गरिएको विद्युत् गृह निर्माणमा सर्बसाधारणको डेढ अर्ब लगानी हुनेछ। अन्य बाँकी रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेछन्। आयोजनाका लागि एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको अध्यक्ष पोख्रेलले बताए।
यो विद्युत् उत्पादनमा बुटवलसहित माछापुच्छ्रे गाउँपालिकाका सर्वसाधारण र काठमाडौं, चितवन, पोखराका व्यक्तिको लगानी छ। विद्युत उत्पादन गृह क्षेत्रका स्थानीयले प्रवद्र्धकको लगानीमध्येको १० प्रतिशत अर्थात १५ करोड लगानी गर्नेछन्। सो रकम सहकारीमार्फत संकलन भइरहेको अध्यक्ष पोख्रेलले बताए। ‘सर्वसाधारणको स–साना पुँजी लगानीबाट हाइड्रो क्षेत्रमा काम हुन सक्छ भन्ने उदाहरण दिँदै राज्यलाई सहयोग गर्ने लक्ष्य रहेको छ, उनले भने। आयोजनाको लागत ५ अर्ब अनुमान गरिए पनि सवा चार अर्बमै सक्ने योजना रहेको कम्पनीका सञ्चालक ज्ञानेन्द्र कसजूले बताए।
प्रतिसेकेन्ड १८ घनमिटर पानी बहने सेती नदीबाट बाह्रैमहिना विद्युत् उत्पादन हुनेछ। आयोजनाबाट प्रतिघण्टा १ सय ४८ गिगावाट विद्युत् उत्पादन हुने कम्पनीका सञ्चालक विनोद ज्ञवालीले बताए। सो आयोजनाबाट उत्पादित विद्युत् कास्कीकै लाहाचोक सबस्टेसनमा राष्ट्रिय प्रसारणमा जोडिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !