थाई राजतन्त्रको भविष्य
व्यापार र पर्यटनको पहिलो गन्तव्य मानिने थाइल्यान्ड युवा आन्दोलनले तातेको छ। हुन त थाइल्यान्डमा यो नयाँ होइन। पछिल्लो घटनाक्रम भने एक राजनीतिक दलमाथि अदालतको प्रतिबन्धका कारण उत्पन्न भएको देखिन्छ। विशेषतः पहिलोपटक मतदान गर्ने उमेरका युवाबीच लोकप्रिय रहेको र निर्वाचनमा तेस्रो ठूलो पार्टी बनेको विपक्षी लोकतान्त्रिक ‘फ्युचर फरवार्ड पार्टी’ (एफएफपी) लाई गत फेबु्रअरीमा अदालतको आदेशद्वारा विघटन गरियो। पार्टीले संकलन गरेको चन्दालाई गैरकानुनी ठहर गर्दै अदालतले एफएफपीमाथि प्रतिबन्ध लगाएपछि युवाहरू केही समय आन्दोलित रहे। तर कोरोनाका कारण ठूला जमघट, भेलामा सरकारले प्रतिबन्ध लगाएसँगै आन्दोलन मत्थर हुन गयो।
सन् २०१४ देखि कम्बोडिया निर्वासनमा रहेका एक चर्चित युवा कार्यकर्ता र अरू देशमा रहेका अन्य केही युवालाई सरकारले अपहरण गरेको आरोप लगाउँदै त्यसविरुद्धमा गत जुनदेखि पुनः आन्दोलन सुरु भयो। त्यसयता थाइल्यान्डका युवाहरू प्रधानमन्त्रीको राजीनामासहित संसद् विघटन, संविधान पुनर्लेखन र आन्दोलन-अधिकारकर्मीमाथि धरपकड-हस्तक्षेप अन्त्यजस्ता माग राखेर निरन्तर आन्दोलित छन्। आन्दोलनमा युवाहरूको सहभागिता स्वतस्फूर्त बढ्दो क्रममा देखिन्छ र युनिभर्सिटिज, कलेज र स्कुलका विद्यार्थी तथा समाजको सहभागिता बाक्लिँदै छ। प्रदर्शनका क्रममा जेनिफर लरेन्स अभिनीत हंगर गेम्स चलचित्रको ‘तीनऔंले सलाम’ युवामाझ लोकप्रिय देखिन्छ, जबकि उक्त सलामको अर्थबारे सबै प्रदर्शनकारीको एउटै धारणा पाइँदैन। कतिपय फ्रान्सेली क्रान्तिले अंगीकार गरेको ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ हो भन्छन् भने कतिपय ‘स्वतन्त्रता, चुनाव र लोकतन्त्र’। त्यस्तै कतिपयले यसलाई अथ्र्याउने क्रममा ‘नो कू, स्वतन्त्रता र प्रजातन्त्र’ भन्ने तर्क सारेका छन्। तीनऔंले सलामको प्रतीक सडकमा मात्र लोकप्रिय छैन, स्कुल तहका विद्यार्थीले विद्यालयको प्रार्थनाका बेला पनि प्रचलनमा ल्याइरहेका छन्। साथै सेतो रिबन लगाएर सांकेतिक रूपमा आन्दोलनको समर्थन जनाउने विद्यार्थीको दायरा बढ्दो छ।
राजाका व्यवहारका कारण थाइल्यान्डका युवा प्रजातन्त्रभित्र राजतन्त्र स्वीकार गर्न पनि सक्छन् नगर्न पनि सक्छन्।
थाई राजनीतिमा दर्जनौंपटक भएका सैन्य हस्तक्षेप र नियन्त्रणले समग्र राजनीतिक व्यवस्थालाई तरंगित बनाइरहेको छ। पछिल्लोपटक रोयल थाई आर्मीका कमान्डर जनरल प्रायुथ चान–ओचाले नेतृत्व गरेको रोयल थाई आर्मफोर्सले २२ मे २०१४ मा बलपूर्वक शासकीय शक्ति आफ्नो हातमा लियो। सन् १९३२ मा सेनाले पहिलोपटक राजनीतिमा हस्तक्षेप गर्दै आफ्नो प्रभुत्व जमाएयता सन् २०१४ को सैनिक हस्तक्षेप त्यसकै बाह्रौं संस्करण थियो। सेनाले जुन्टा (शासकीय समूह) को नाममा नेसनल काउन्सिल फर पिस एन्ड अर्डर (एनसीपीओ) गठन गरी देशको शासन चलाउन सुरु गर्यो। तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्रालाई निषेध गरी उनको केयरटेकर सरकार तथा सिनेट विघटन गरियो। कार्यकारी तथा विधायिकी दुवै अधिकार हातमा लिँदै न्यायिक निकायलाई आफ्नो आदेशअनुसार चलाउन सैनिक जुन्टा पछि परेन। सन् २००७ को संविधान आंशिक रूपमा रद्द गर्दै दोस्रो भागको राजासम्बन्धी व्यवस्था बचाएर राखियो। मार्सल कानुन घोषणा गरेर देशव्यापी कफ्र्यु, राजनीतिक गतिविधिमाथि प्रतिबन्ध, सैनिक विद्रोहको विपक्षमा आवाज उठाउनेलाई पक्राउ र नजरबन्द, सञ्चारजगत्माथि नियन्त्रण र सेन्सरसिपलगायतका गतिविधि झेल्न थाई जनता बाध्य बनाइए। जुन्टाले आन्तरिक संविधान जारी गर्दै सैनिकनियन्त्रित नेसनल लेजिस्लेचर गठन गर्यो। सोही लेजिस्लेचरले ओचालाई निर्वाचन नहुँदासम्मका लागि प्रधानमन्त्रीको पदभार सुम्पियो।
आफूले शक्ति हत्याएको पाँच वर्षपछि अर्थात् गत वर्ष मार्च २०१९ मा सैन्य नेतृत्वले पहिलोपटक चुनाव गरायो। सेनाको राजनीतिक हस्तक्षेप उच्च रहेको चुनावले सैन्यनेता ओचालाई नै प्रधानमन्त्री हुने मार्गप्रशस्त गर्यो, जसले शक्ति हात पार्ने रणनीतिअनुसार नै २०१४ मा सैनिक कू गराएका थिए। अक्टोबर २०१० देखि २०१४ सम्म रोयल आर्मीको कमान्डर इन चिफ बनाइएपछि उनी राजाभक्त र पूर्वप्र्रधानमन्त्री थाक्सिन सिनावात्राको विरोधी भएका थिए, जबकि त्यसअघिसम्म उनको सिनावात्रासँग घनिष्ट सम्बन्ध थियो। त्यस्तै २०११ जुलाईको संसदीय निर्वाचनबाट प्रधानमन्त्री भएकी थाक्सिनकी बहिनी यिङलक सिनावात्राको सरकारलाई पनि ओचाले राम्रै सहयोग गरेका थिए तर राजदरबारप्रति झुकाव बढेसँगै थाक्सिनको समर्थनमा उत्रेको रेडसर्ट मुभमेन्ट दबाउन र त्यसको प्रतिवादस्वरूप राजतन्त्र समर्थकहरूको ऐल्लो सर्ट मुभमेन्ट अघि बढाउने श्रेय पनि उनैलाई जान्छ। त्यसयता उनी सरकार र राजतन्त्रविरुद्ध उत्रिनेप्रति अनुदार रहँदै राजतन्त्र प्रवर्धनका लागि खुबै लागिपरिरहेका छन्।
पटकपटक सैनिक विद्रोहमार्फत प्रजातान्त्रिक दल तथा प्रणालीमाथि प्रहार गरिँदै आएकोप्रति थाई जनता विगतदेखि नै असन्तुष्ट थिए। हालका प्रधानमन्त्री ओचाको गैरप्रजातान्त्रिक चरित्र र राजसंस्थाप्रतिको उनको अन्धभक्तिका कारण थाई युवाहरू आन्दोलनरत भएको बुझिन्छ। यसका साथै उनले राष्ट्रिय बजेटको ठूलो भाग राजतन्त्र पक्षपोषणका लागि खर्च गरिरहेको आन्दोलनकारीको दाबी छ। सन् २०१४ मा शासनसत्ता लिएका जुन्टाले २०१५ मा ५ सय ४० मिलियन अमेरिकी डलरभन्दा बढी बजेट ‘राजतन्त्रको पूजा, संरक्षण तथा समर्थन गर’ भन्ने नाराका लागि खर्च गरेको बताइन्छ। त्यो क्रमले हरेक वर्ष निरन्तरता पाउँदै कोरोनाका कारण देशको अर्थतन्त्रले नराम्रो धक्का खाइरहेको सन् २०२० मा समेत कूल राष्ट्रिय बजेटको ०.९३ प्रतिशत रकम राजतन्त्रको समर्थनमा त्यस्तै प्रचारप्रचारका लागि छुट्ट्याएको बताइन्छ। जबकि कोभिड– १९ का कारण वर्षको पहिलो त्रैमासमै थाई जीडीपीको वृद्धिदर पाँच वर्षयताकै सबैभन्दा कममा खुम्चिएको र यो वर्ष थाई अर्थतन्त्रमा कम्तीमा पाँच प्रतिशतको संकुचन आउने प्रक्षेपण विश्व बैंकले गरेको छ।
सुरुमा सरकारविरुद्ध मात्र लक्षित आन्दोलनमा युवाहरूको सहभागिता बढेसँगै निशाना राजतन्त्रतर्फ पनि सोझिएको छ। यद्यपि आम थाई जनता अझै पनि राजतन्त्रप्रति अगाध विश्वास र श्रद्धा राख्छन् तर युवा समुदाय भने जर्मनीमा ऐस आरामसहित भड्किलो जीवन बिताइरहेका वर्तमान राजा भाजिरालङकोर्नको व्यक्तित्व, चरित्र र उनका मनमौजी स्वभावका कारण आक्रोसित छन् र यही अवसरमा राजतन्त्र पनि सुध्रिनैपर्ने खाँचो औंल्याउँछन्। यसबाहेक सन् २०१४ को कूपछि ल्याइएको लेज मेजेस्टे कानुन, जसले राजा र राजतन्त्रविरुद्ध टिप्पणी गर्नेलाई १५ वर्षसम्म काराबासको सजाय दिने व्यवस्था गरेको छ। कतिपयले सोही कानुनअनुसार सजाय पनि भोगिरहेका छन्। तसर्थ यो आन्दोलनमा राजतन्त्रविरुद्धका नारा पनि बाक्लै घन्किरहेका छन्।
विभिन्न ससाना अधिराज्य हुँदै अहिलेको अवस्थामा आइपुगेको थाइल्यान्ड सुरुदेखि नै पूर्ण राजतन्त्रात्मक अधिराज्य थियो। सन् १९३२ मा एक रक्तपातविहीन क्रान्तिले थाइल्यान्डलाई संवैधानिक राजतन्त्रात्मक मुलुकमा परिणत गर्यो। यससँगै पहिलो संविधान निर्माण र थाई संसद् गठन भयो। राजाको भूमिका राष्ट्रको विम्बात्मक प्रमुख भए पनि उनको शक्ति प्रधानमन्त्री र संसद्मा निहित हुने थिति बाँधियो। राजाहरूले यही अवस्थालाई आत्मसात गर्दै आफ्नो भूमिका निर्वाह गरे। अघिल्ला राजा भूमिबोल अदुल्यादेज जनताको मनमनले श्रद्धा गरिएका राजा थिए। एक कुशल इन्जिनियर रहेका अदुल्यादेजले ७० वर्ष राजगद्दीमा रहँदा सिँचाइ, कृषिमा उच्चस्तरीय सुधार, व्यवस्थित सहर निर्माणजस्ता काम गरेर राष्ट्र निर्माणमा विशिष्ट योगदान दिएका थिए। संसारको सबैभन्दा लामो समय राजा हुने इतिहास रचेर २०१६ मा उनको देहावसान हुँदा थाई जनताले आफ्नै अभिभावक गुमाएको महसुस गरे। तर वर्तमान राजालाई भने जनताले खासै रुचाएको पाइँदैन। हल्का र लहडे चरित्रका कारण युवावस्थादेखि नै उनी आलोचित हुँदै आए। चारवटा बिहे गरिसकेका छन्। सञ्चारमाध्यमअनुसार देशवासी कोभिड– १९ खेपिरहँदा उनी भने जर्मनस्थित एक लक्जरियस चारतारे होटल पूरै बुक गरेर २० युवतीसहित आइसोलेसनमा बसेका छन्।
अहिलेसम्म पनि बहुसंख्यक प्रदर्शनकारी राजतन्त्र उन्मूलनभन्दा प्रजातान्त्रिक प्रणालीभित्र आबद्ध भएको राजतन्त्रकै पक्षमा देखिन्छन्। राजतन्त्रका पक्षधरहरूको जबाफी प्रदर्शन पनि उर्लिरहेकै छ। तर स्कुल–कलेज पढ्ने युवा भने राजतन्त्रप्रति आक्रोशित हुँदै गएको पाइन्छ। गत २० सेप्टेम्बरमा ‘जनताले यो देश राजाको नभई जनताको हो भन्ने मनसाय अभिव्यक्त गरेका छन्’ वाक्य लेखिएको पिपुल्स प्लेक राजधानी बैंककको सडकमा प्रतिस्थापन गरेका थिए। थाइल्यान्ड राजाको मात्र हैन, पिपुल्सको पनि हो भन्ने मानसिकता थाई युवामा प्रबल हुँदै गएको पाइन्छ। तसर्थ आन्दोलन सुरु हुँदाका माग सुधारिएको राजतन्त्रसहितको प्रजातन्त्र भए पनि युवाहरूले प्रजातन्त्रभित्र राजतन्त्र स्वीकार गर्छन् कि गर्दैनन्, यसै भन्न नसक्ने टिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्।