मथिंगल भिजाउने लभ लेटर
बल गुल्टिएपछि सीधै खोलामा आउने ठाउँमा थियो स्कुल। कम्तीमा खोलाबाट एक हजार सिँढी पार गरेपछि बल्ल स्कुल आउँथ्यो। ओरालोमा हुर्रिंदा खोलामै पुग्न १५ मिनेट मात्रै लाग्थ्यो। झोला बोकेर घरबाट हिँडेदेखि बाउआमाको नजर स्कुल नपुगुन्जेल त्यही बाटोतिर एकोहोरिन्थ्यो। सन्तानमा मायाले डोरिँदै स्कुलसम्मै आमाबाउको नजरको संरक्षण हुन्थ्यो। कान्छो छोरो हुनुको बेफाइदा सायदै यही होला।
प्रत्येक कक्षा फेरिँदा साथीभाइ पनि फेरिए तर स्कुलको चरित्र फेरिएन। प्रत्येक कक्षा उत्तीर्ण भएपछि अघिल्लो दिनमा ठाउँ रोक्न स्कुल जानुपर्ने एकखालको नियमितताजस्तै भयो। जिल्लास्तरको काँचको पहाडबाट उक्लिएर नौ कक्षामा प्रवेश गरेको हेड सर सुनाउनुहुन्थ्यो। पास भइयो। नम्बरमा पहिलो भए पनि फलामका चिउरा चपाउन त अब सुरु हुन्छ। पर्सिबाट लाग्ने स्कुललाई भोलि नै ठाउँ रोक्न जानैपर्ने नभए धुले क्लासको अन्तिम बेन्चमा।
सानो ख्याउटे शरीर। त्यसमाथि मगरगाउँका बहुमतप्राप्त संख्याका विद्यार्थी। हाम्रो नामै बाहुन, चुच्चे। नतिजा आएको भोलिपल्ट दिउँसो दुई बजेतिर ठाउँ रोक्न स्कुल हिँडियो। घरबाट त्यो रातका लागि हिँडाएको खानेकुरा बोकेर स्कुलतिर दौडिँदै थिए। बाटोमै भेटिइन् मुना। झोलाको स्टाइल एउटै तर रङ मात्रै फरक। लेडिज कलर। भर्खरै दर्जी दाइले सिलाएर पहिलोपटक लगाएको नीलो आकाशे रङको सर्ट। घँुडासम्म छोपिने गाढा नीलो रङको मेडी र चाइनिज तुने चप्पल।
मैले ९ कक्षा पढुञ्जेल स्कुलमा शौचालय थिएन। सर पढाउन कक्षा छिरेको काट्टीकट्टी ४० मिनेटपछि लाग्ने घन्टीलगत्तै स्कुलछेउछाउका पाखातिर मेला लाग्थ्यो। बिचरा केटीहरूलाई सकस। जाडो मौसमपछि सर्प जमिनबाट निस्किएर बेरिएजस्तै गरेर पाखातिर लाग्थे। बाँसघारीतिर छ्योल पार्न नपाए केही उभिएपछि कोही बसेरै बाध्यता छेक्थे।
त्यही बाध्यताका बीचमा कहिलेकाहीँ जम्काभेट पनि हुन्थ्यो। तर मौन संवाद। त्यो पनि उत्पात मीठो। कम्ता रमाइलो थिएन। चिठी आदानप्रदान त हुन्थ्यो तर बहिनीमार्फत। कान्छा बाउकी छोरी। क्लास एउटै। उसैको साथी थिई। स्कुलमा दुई लाइन बेन्च हुने एकातिर केटा अर्कातिर केटी। म केटातर्फको अगाडिपट्टिको बेन्चमा। ऊ केटीतर्फको आठौं लाइनमा। तैपनि बेलाबेलामा पछाडि फर्केर हेर्थें। मुस्कुराउनु र कर्के नजर जुधाउनुको मिठास अहिले पनि उद्वेलित पार्छ। शाब्दिक वार्ता भने चिठीबाटै हुन्थ्यो।
तानामा मगर्नी आमा (मितिनी आमा) ले बुनिदिएको फुर्के झोलामा टेलर मास्टरले बनाइदिएको सानो चेनवाला खल्ती हुन्थ्यो। त्यहीं सुरक्षित हुन्थ्यो लभ लेटर। जिन्दगीमा धेरै चिठी लेखें। स्कुलमा हेड सरसँग लेख्न सिकेको निवेदन पत्र पहिलो होला सायद। दोस्रो पत्र लेखेको मुनालाई नै हो। प्रेमपत्र। स्कुल पढ्दा अक्षर अरूका भन्दा राम्रा र सबैका घरको जानकारी पाउने भएकाले गाउँबाट लाहुर गएका पतिलाई पत्नीले पठाउने पत्र, गाविस सचिवलाई लेख्ने निवेदन र पढ्ने काम पाइन्थ्यो। स्कुलबाट फर्कंदा चौतारामा गाउँका आमा, भाउजूहरू कुरेर बसेका हुन्थे। यसो कुनातिर बसेर सुनाइदिन्थें चिठी। जवाफ बेलुका लेख्ने होमवर्क दिन्थे। चिठीमा लाहुरेहरूले भनेका कुरा बाउआमालाई नसुनाउने खालका धेरै हुन्थे। अरू चिठी जति लेखे पनि मुनालाई लेख्ने चिठीमा भने भाँती पुर्याउनुपथ्र्यो। यसको फम्र्याट नै थियो। फम्र्याटवाला चिठीको सुरुवातको व्यहोरा यस्तो हुन्थ्यो।
स्थान : घरको झुपडी
समय : रातको १०
वातावरण : सुनसान
याद : केवल तिम्रो
बर्खा लागेपछि लामो समय स्कुल बिदा हुने। तर ९ र १० कक्षाका विद्यार्थीका लागि भने कोचिङको व्यवस्था थियो। सबैजना मेलामा व्यस्त हुने समय। घरमा खेत रोप्ने दिन परे सर पनि नआउने। एक दिन पूरै पिरियड खाली। पानी खाने निहुँले ऊ मिल्ने साथीसँग स्कुलभन्दा मास्तिर लागी। म पनि तयार भएँ मिल्ने साथी जीवनलाई लिएर युद्ध तयारीमा रहेको सिपाहीजस्तै। आज कुनै हालतमा बोल्ने लक्ष्य राखेरको थिएँ। आफ्नै अगाडिबाट गएको देखेकाले आउलान् भन्ने अपेक्षा गरेकी रहिछ उसले। जानेबित्तिकै मुस्कान आयो। हाम्रो मौनताको संवाद बुझेर उसको र मेरो साथी अर्कातिर मोडिए। मेरो मुटुको धड्कन बाहिरै सुनिने गरी धड्किरहेको थियो, लिगलिगे दौडमा सहभागी धावकको जस्तो। रातोपिरो अनुहार मेरै बढी भएछ। उसले त हिम्मतै गरेर पहिलो पत्र कोरेकी थिई। त्यो पनि सायरीवाला। उसलाई भन्दा मलाई बढी डर। बेस्सरी काउकुती लाएजस्तो। कस्तो–कस्तो। अनुहारतिर आँखा डुलाउन सके मरिजानु। ऊ भने खुट्टाले भुइँ खोस्रिँदै थरीथरी प्रश्न तेस्र्याइरहेकी थिई।
बेलाबेलामा दिएको ढाडसले मलाई सहजता बनाइरहेको थियो। उसको सुन्दर नाडीमा चपक्क बसेको चाइनिज घडी। साँच्चि त्यो घडीसम्म मेरो अफेयर पर्यो। मैले स्पर्शको अवसर नपाउँदै ऊ पहिलेबाटै डेरा जमाइरहेकी छे प्रेयसीको नाडीमा। हात माथि उठाएर घडी हेरी। एक घण्टा बितिसकेछ। मुनाले घडी हेर्न नपाउँदै स्कुलको घन्टी बजेको माथिसम्मै सुनियो तर छुट्टिने मन थिएन। हामीले दुवैजना साथीलाई रिक्वेस्ट गर्यौं— १५ मिनेटमा क्लास आउने।
त्यसपछि मैले सोचेकै एकान्त पाएँ। मनमा गुम्सिएका भावना बाँध झैं फुट्यो। यसपटक हिम्मतै गरेर भनें, ‘डाँडातिर जाऊँ न।’ उसले इन्कार गरिनँ। बर्खाको समय भएर होला गाउँका घरमा कोही हुन्नथे। कसैले देख्लान् भन्ने डर पनि भएन। हिँड्दाहिँड्दै आपसमा एकअर्काका कुम ठोकिन्थे। म लाजले भुतुक्कै हुन्थें। भर्खरै पानी परेर पोटिलो घाम लागेको समय थियो। डाँडाको चौतारीमा टुसुक्क बस्यौं। म वल्लो डिलमा र ऊ पल्लो डिलमा। अरू कुरा गरेर धर पाइने अवस्था थिएन। मायाका कुरा कहाँबाट सुरु गरौं ? अप्ठ्यारो परिरहेको थियो।
त्यो अप्ठ्यारो मुनाले हटाइदिई। ‘खोलामा पौडी खेल्दा कट्टु त लाउनुपर्छ नि’, उसले भनी। म लाजले भुतुक्कै भएँ लज्जावती झारजस्तै। अघिल्लो दिन ठूलो खोलामा पौडी खेल्दा पारिबाट देखेकी रहिछ। बर्खामा पौडी खेल्न पनि ठूलै सास्ती थियो। एकातिर कान पाक्ने, अर्कातिर खोला बढ्ने बेलामा पौडी खेल्न घरबाट बन्देज। कट्टु लगाएर पौडी खेलौं भने चिसो लगाउन नसक्ने। घरमा गएर सुकाउँदा पौडी खेलेको प्रमाणित हुने। त्यसको उपाय नांगै पौडी खेल्नु थियो। मैले नांगै पौडी खेलेको उसले देखेकी रहिछ।
सोधी, ‘तिमी मलाई कति माया गर्छौ ?’ यो कुनै ठोस जवाफ हुने प्रश्न थिएन। मैले फिस्स हाँसेर जवाफ दिएँ, ‘तिमीले भन्दा बढी।’
‘तिमीले मलाई साँचिक्कै मन पराएको ?’, उसले फेरि सोधी।
‘मन नपराएजस्तो लाग्छ ?’, मैले अड्कलेर जवाफ दिएँ।
उसको छोटो उत्तर आयो, ‘लाग्दैन !’
कुरा हुँदै गयो। हाम्रो सामीप्य पनि बढ्दै गएको थियो। हामी धेरै नजिकिइसकेका रहेछौं। मेरा आँखाका डिलनेर परेला अड्किएको रहेछ। मुनाले जुरुक्क उठेर त्यो रौं निकालेर हातमा राख्दिई र फुकेर उडाउन लगाई— सातो आउँछ रे। उसले मेरा गालामा छुँदा अनौठो अनुभूति भयो। नजिकै आएपछि मैले उसलाई अँगालो हाँलें। मुटुको धड्कन बढ्यो। मेरा हात फाल्ने हो कि भन्ने अनुमान थियो। तर झन् कसी। मेरा हात आफूतिर तानेर माझी र कान्छी औंला चलाइदिई। काट्न नभ्याएका नङ देखाउँदै भनी, ‘छ्या, फोहोरी !’
यति धेरै सामीप्य बढेछ कि मनै डराउन छाड्यो। केटाहरूसँग जसरी बोलक्कड थिएँ, त्यस्तै भइसकेछु। ऊ बीचबीचमा मलाई गफाडी भनेर लेप्रो घस्थी। स्कुल छुट्टी हुने बेला भइसकेको थियो, हामी भने सर्पझैं बेरिएका थियौं। आँखा जुधायौं। फेरि मुटुको ढुकढुकी बढ्यो। उसको लिपस्टिक नलाएको ओठलाई मैले नजिकै तानें र सुस्तताका साथ आफ्नो ओठ पुर्याउँदै थिएँ। छ्यास्स आवाज आयो। कोही मान्छेले हामीलाई तर्साएजस्तो। हामी बसेको चौताराको वरको रूखमा बाँदर रहेछ। सुकेको हाँगामा टेक्न खोज्दा हाँगा र बाँदर दुवै भुइँमा...।
प्रत्येक दिनको चिठीको व्यहोरासँगै केही मुक्तक र केही सायरीबाट सुरु हुन्थ्यो। बेलाबेलामा मुना केके सोध्थी र उपदेश दिन्थी— मलाई पढाइ कस्तो चल्दै छ ? फलानो केटो मात्तिएको छ, त्यसको संगत तुरुन्तै छाड्नु नभए म बोल्दिनँ, खालि पछाडि नफर्कनु थाहा पाउलान् र पञ्चेबाजा घरमै बज्ला, कति चाउचाउ मात्रै खाएको सुकेर मरौला, भलिबल खेल्न कम गर, एसएलसीपछि खेलौला आदि आदि। मध्यरातमा भए पनि आमालाई पढिरहेको देखाउन चिठी लेखिन्थ्यो। खै लेखक को हो ? कताबाट सारियो या आफैं लेखियो, मुक्तक लेखियो, सायरी लेखियो।
टाढा ती तारा जुनको कुरै नगर
चोखो माया देऊ सुनको कुरै नगर
तिम्रै बोली मीठो छ धुनको कुरै नगर
म हुँदाहुँदै अरू उनको कुरै नगर
जिन्दगीको सबैभन्दा रमाइलो पल नै यही होजस्तो। खुसाउने मात्रै होइन कहिलेकाहीं रिसाउने पनि। मुना अलि छिटो खोलामा पुग्थी, म पनि पुग्थें। रिसाएको दिनमा भने बोलाचाल हुँदैन्थ्यो। स्कुल जाँदा खाल्डे खोलाको उकालो नबोली सँगै काट्थ्यौं। जे भए पनि बोल्नचाहिँ उसैलाई हतार हुने। संवादहीनता तोड्न ऊ सायरीवाला चिठी लेख्थी।
अरूका गमलामा फुल्ने मान्छे
सपनाको संसार डुल्ने मान्छे
खै म कसरी बिर्सूं
ओ मलाई भुल्ने मान्छे।
साउने झरीले मौलाएको दूबोजस्तै कोचिङ क्लासकै कारण हाम्रो सम्बन्ध र घनिष्टता मौलाउँदै गइरहेको थियो। मुना प्रत्येक दिन खोलामा कुरेर बसिरहन्थी। म पनि पहिला पुग्दा कुरिरहन्थें। उसको घर टाढा भएकाले छिटो हिँड्दा प्रायः कुर्नेमा मुना नै पर्थी आत्मबल अब कोही चाहिँदैन जस्तो। जिन्दगीका थुप्रै कथा भावनामा बुनिरहेका थियौं। चाडबाड आउँदा उसैको घरतिर खेल्न पुगिहाल्ने। थुप्रैपटक चान्स मार्न उसैका घरमा पानी खाने निहुँले पस्थें।
मुना र मेरो परिवारबीच पारिवारिक सम्बन्ध राम्रो थियो। उसका बाउ र मेरा बाउ घनिष्ट साथी। मुनालाई घरमा र मलाई मुनाका घरमा परिवारका सदस्यभन्दा टाढाबाट कहिल्यै हेरेनन्। लाजै पचाएर भए पनि बाउका साथीका घरमा आउजाउ बढ्यो। सम्बन्ध गाँसेको पनि दुई वर्ष बित्न लागिसकेछ। चिठीमा पनि भविष्यका कुरा लेख्न थालिएको थियो। स्कुलमा टेस्ट परीक्षामा डेढ सय जनाले जाँच दिए। पास हुने जम्मा ७५। पास हुनेका लागि कोचिङ कक्षा सुरु भयो। कोचिङका बेलामा बाक्लो आउजाउ हुन थाल्यो। नोटकपी र किताब आदानप्रदानको खुबै बहाना हुन्थ्यो भेटको।
एसएलसी परीक्षा दिन सदरमुकाम बागलुङ जानुपर्ने भयो। साढे चार घण्टाको बाटोपछि बल्ल बागलुङ पुगिने। पछाडि ठूलो झोलाभरि निमाका गेसपेपर बोकेर लुखुरलुखुर कुश्मा पुग्यौं। मुना सँगै थिई। माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो। मुनाका बाउ माओवादी नेता। उसलाई मेरै बाउको जिम्मा लगाएर एसएलसी दिन बागलुङ पठाएका थिए। हामी परीक्षाभर पनि सँगै। परीक्षा सकिएपछि आधिउधी च्यातिएका गेसपेपर बोकेर घर फर्कने दिन आयो। आठ घण्टा हिँडेर घर फक्र्यौं। चैतको समय थियो। घर पुग्नासाथ गहुँ काट्ने पर्म लाउन थाली मुना। म भने दाइसँग बस्ने गरी चितवनतिर हानिएँ। हाम्रो भेटघाटमा केही समय पूर्णविराम लाग्यो। इन्टरनेटले मुटु जोडिदिने अहिलेको जस्तो भाग्य युग सुरु भएको थिएन।
एसएलसी नतिजा आयो। दुवै सेकेन्ड डिभिजनमा पास भएछौं। म त चितवनमै थिएँ। ऊ पनि घरमा कन्भिन्स गरेर पढ्नका लागि चितवन जाने निश्चय गरेर भरतपुरमै आइपुगी। एउटै कलेजमा भर्ना भयौं। म साइकल चलाउँथें। बाउले चार हजारमा किनिदिनुभएको थियो गियरवाला साइकल। पछाडि बस्थी मुना एक साइड फर्केर। कलेजमा पनि सँगै बस्न पाइने। खाजा वा घुम्दा पनि सँगै भइने। थुप्रैपटक साँझमा नारायणीको तिरमा गएर रमाइलो हेथ्र्यौं। दाइको प्लस टु सकिइसकेको थियो। फेरि म दाइसँगै ट्रान्सफर गरेर काठमाडौं हिँड्नुपर्ने भयो।
फेरि एक वर्षको मीठो सम्मिलन पुनः भत्कियो। म काठमाडौं आइसकेपछि उसले पनि यतै आउने निर्णय गरी। काठमाडौंमा बस्ने मामाकी छोरीलाई कन्भिन्स गरिछ। उसको कलेजछेउमै डेरा थियो। म आधा घण्टा हिँडेर आउनुपथ्र्यो। भेट हुन्थ्यो गौशाला चोकमा। रातोपुलमा कलेज थियो। थुप्रैपटक क्लास ढिलो गएको भन्दै गेटबाहिरै हाजिर हुन्थ्यो हाम्रो।
दसैं सुरु हुँदै थियो। दुवैले भृकुटीमण्डप गएर सपिङ गर्यौं। एक महिनाअगाडि नै बसको टिकट बुकिङ गरिसकेका थियौं— सँगै घर फर्कने। घर जाने दिन नजिकिँदै थियो। कलेजको टेस्ट परीक्षा सकेर घुम्न हिँडेका थियौं। घर जाने अघिल्लो दिन मुनाको घरबेटीको ल्यान्डलाइनमा उसका दाजुको फोन आयो। भोलि काठमाडौं आउने र घर सँगै जाने। एउटै बसमा गाउँ फर्कने योजना असफल भयो। एउटा माइक्रोमा टिकट भने मिल्यो। उनीहरू दाजुबहिनी सँगै फर्किने भए। म माइक्रोमा एक्लै घर जाने भएँ।
त्यतिबेला हातमुख जोर्नका लागि म काठमाडौंको एउटा एफएममा काम गर्न थालें। बिहानको ड्युटी सकेपछि मात्रै मेरो दसैं बिदा सुरु हुने थियो। उनीहरू मभन्दा अगाडि नै काठमाडौंबाट हिँडे। मुनालाई दाइले एघार सय मोडलको नोकिया मोबाइल ल्याइदिएका रहेछन्। कलंकी पुगेपछि हिँडेको जानकारी गराई। मैले शुभयात्रा भनें। ढिला गरी डेरामा पुगेर सुतें। भोलिपल्ट बिहानै एफएम पुग्न हतार भइसकेको थियो। सुरक्षा दिदीले तयार पारेको समाचार बोकें र स्टुडियोतिर लम्किएँ। समाचार पढ्दा सुरुमै दुर्घटनाको थियो— हेम्जा, पोखराको। धेरै यात्रुको मृत्युको सूची पढ्दै जाँदा नाम आयो, ‘...मुना !’