‘भाइरल’ को अग्निमा लोकदोहोरी !
पुरानो घरको साँघुरो दलान। पिँढीको छेउ। परालको गुन्द्री। दुई किनारा। वारि र पारि। वयस्क युवकयुवती। फुली, मुन्द्री, घलेकी, टाउकोमा फेटा, टोपी, दौरा सुरुवाल लगायतका समग्र नेपाली पोसाक। छेउमा हेर्नेहरूको जामात। सँगै वाद्यवादकहरू। मौलिक भाका। ती भाकामा आफू सानो भएर, संस्कारी भएर, प्रतिद्वन्द्वीको मन जित्न खेलिने एउटा खेल दोहोरी ! हाम्रो संस्कारले, संस्कृतिले दशकौंअघि परिभाषित गरेको लोकदोहोरीको ‘दृश्य’ हो यो।
यसरी मन जित्ने क्रममा कुरा नटुंगिएर सात दिन सात रातसम्म लम्बिने र त्यहीँबाट जित्नेले हार्नेलाई घरै लैजाने पुरानो संस्कार। गाउँघरमा प्रत्यक्ष खेलिने यिनै दोहोरी भाकाहरू समयको विस्तारसँगै ‘क्यासेट’ मा कन्भर्ट हुन थाले। ‘ए’ साइड र ‘बी’ साइडमा गाइने यी गीतले जीवनका कथा, पीरमर्का, हाँसो खुसी, रोदन, सबै मानव जीवनसँग जोडिएर सबैलाई ‘आफ्नै’ लाग्ने स्वर सुनाउन थाले। दोहोरी नखेलिने ठाउँसम्म पनि आफ्नो पहुँच बनायो क्यासेटले। यो क्रम साठीको दशकसम्म रह्यो।
६० को दशकको अन्त्यतिर प्रविधिले जब क्यासेट÷सीडीमा जनाउ घन्टी लाएर मौलिकताको हार्ड कपी खोस्यो, त्यसपछि संस्कारको ‘मार्कसिट’ मा खासै राम्रो अंक देखिएन। यद्यपि, सीआरबीटी, पीआरबीटीजस्ता माध्यमबाट कर्णप्रिय धुनको माग हुने क्रमसम्म गीतले मानवीय मुटुका ‘सेन्टिमेन्ट’हरूलाई नै अभिव्यक्त गरे। प्रविधिको फड्कोले क्यासेटले पुर्याउन नसकेका ठाउँमा सर्जकहरूलाई त पुर्यायो तर त्योभन्दा बढी विकृतिलाई आश्रय दियो। त्यसयता ‘मौलिकता’ को मुटुमा ‘उच्छृंखलता’ का बेकामे झारहरू बढ्न थाले। ‘ढाडे बिरालो’, ‘साँढे गोरु’, ‘पोल्यो मलाई बैंसको रापैले’, ‘ओइ ज्योति ओइ ज्योति देऊ न एक चोटि’ जस्ता उत्ताउला गीतले संस्कृतिको पानी बेस्सरी धमिलो बनाए।
झन् बिगार्यो ‘स्टेज प्रोग्राम’ ले
देश तथा विदेशमा आयोजना हुने ‘स्टेज प्रोग्राम’ हरूले कलाकारलाई बाँच्ने आधार त प्रशस्त दिए तर दिन सकेनन् संस्कार बचाउने ओखती। उसै दुखेको संस्कारको घाउलाई विकृतिको सियोले कोट्याएर झन् झन् रुग्ण बनाए। द्विअर्थी गीतको अपेक्षासहित अग्लो तलामा चढाइएकाहरूले आफूलाई निकै उदांगो बनाए।
बजार नै एक हिसाबले ‘सेमी नेकेड’ भयो। टुक्काहरू गाउनेले हरेक तवरबाट यौनलाई मार्क गर्न थाले।
नाम चलेकै दोहोरी गायकगायिका पनि स्टेजमा गाउँदा द्विअर्थी लाग्ने टुक्काबाट विम्बात्मक हिसाबले यौनलाई नै ओकल्न थाले। अक्सर आयोजकहरूले लोकदोहोरीलाई ‘लोक फोहोरी’ बनाउन बेस्सरी ढ्यांग्रो ठटाए। लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भन्छन्, ‘जब गाउँको त्यो पवित्र लोकदोहोरी सहर छिर्यो, त्यसपछि रक्सीका सितनमा मिसिएर मात्तिन थाल्यो। परालका गुन्द्रीबाट सोफामा विराजमान भए यता लोकदोहोरी गीतमा उत्ताउलोपनले जरा गाड्यो। मन जित्न खेलिने खेल जब पैसासँग जोडिन पुग्यो, कलाकारहरूले पैसाका लागि जताबाट पनि यौनलाई फोकस गर्न थाले।’ संस्कार सुनाइरहने अग्रजहरू मन खुम्च्याएर एउटा कुनामा थन्किन विवश भए।
सालको पात ‘टर्निङ प्वाइन्ट’
नवराज पन्तले ‘सालको पात’ बोलको गीत लेखे। वसन्त थापाले संगीत भरे। विष्णु माझी र कुलेन्द्र विकले गाए। गीत सुपरडुपर हिट भयो। एकदमै टिपिकल शैलीको गीतले बजारमा आएका अरू गीतको भेललाई स्याप्पै सुकाएर नयाँ शिराबाट यात्रा थाल्यो। सबै पक्षबाट उत्कृष्ट बनेको गीत गाउँमा मात्र होइन, सहरका पाटी प्यालेसहरूमा पनि घन्किन थाल्यो। ‘जता जता बाउनबाजे त्यतै त्यतै स्वाहा’लाई आत्मसात् गर्न कसैले सिकाउन नपर्ने कलाकारहरू फेरि ‘टिपिकल’ गीतहरू गाउन ज्यान छोडेर लागे।
शिव हमालले लेखेको ‘लालुमै’ तेजस रेग्मीको ‘पिँडालु’, ‘भँगेरी चरी’ लगायतका गीतले धुलो पिटे। चलेका कलाकारमाथि पैसा खन्याउन पछि परेनन् निर्माताहरू। युट्युबमा दोहोरी गीतहरूमा सबैभन्दा बढी हेरिएको ‘सालको पात’ गीतले सुकेको संस्कारको जरामा पानी छम्केर केही हदसम्म बौराउने कर्म गर्यो। प्रकाश सपूतको ‘गलबन्दी’ ले चटपटाउन सक्नेसम्म बनायो। त्यसपछि पनि केही मौलिक गीतले तै उही बेला फर्किन्छ कि भन्ने झिनो आशा भने जगाए।
ट्रेन्डिङ र बुस्टले निलेको ‘क्रिएसन’
लगभग सबै कलाकारका आआफ्नै युट्युब च्यानल छन्। लाखौंको बुस्ट गरेर चौबीस घन्टामै ट्रेन्डिङ वनमा पुगेको गीतलाई हामी सबैले दिएको नाम हो, ‘सुपर हिट’। यही ‘सुपर हिट’को पगरी गुथ्न कलाकारहरूमा तँछाडमछाड हुन थाल्यो। यसको मारमा निरन्तर साधना गरेर जिन्दगी नै गीतसंगीतमा सुम्पिएका कलाकारहरू परे, जो हुटिङ र नाराभन्दा मनको शालीन धुन सुनाएर मनहरू जित्न चाहन्छन्।
जथाभावी शीर्षक राखेर ‘भाइरल’ बनाइएका गीतहरूसँगै ‘क्रिएसन’ भन्ने चीज हराउँदै गयो। उत्कृष्ट सिर्जनामा मौलिकतालाई जोड दिने सर्जक नवराज पन्त भन्छन्, ‘यथार्थ र फरक खालको सिर्जना हरायो। ‘बाई प्रोडक्ट’ जस्तो लाग्न थाले सिर्जनाहरू। न साँचो दर्शक नयाँ बनाउन सक्यो यो क्षेत्रले, न पुरानालाई जोगाउन सक्यो। उल्टै बिच्क्याउने काम गर्यो। युनिक क्रिएसनको अभाव हुन थाल्यो।’ पन्तको उनै कुरामा गायिका अञ्जु गौतमको भाव पनि मिल्छ। उनी भन्छिन्, ‘अग्रजहरूको सम्मान छैन। भाइरल गीतहरूको वर्चश्वले मौलिक गीतहरूको घाँटी निमोठियो।’ लक्ष्मी मल्ल भन्छिन्, ‘केही गीतबाहेक बजारमा आएका गीतले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिएको छ। ट्रेन्डिङ, भाइरल, भ्युअर्सका पछि दगुर्नेभन्दा पनि उत्कृष्ट सिर्जनाको बाटोमा हिँड्नु जरुरी छ।’सुस्ताउँदै अग्रजका सिर्जना, कोही दोधार, कोही निराश !
हाइहुईले छिचोलेको यो बजारमा अग्रज कलाकारका गीतहरू भने न्यून पाइन्छन्। कारण उनीहरू उत्ताउलो वेगले बगेको ‘बाढी’ मा ‘बगेर’ आफ्नो सेतो परिचयमा हिलो छ्यापियोस् भन्ने चाहँदैनन्। र, आफ्नै शैलीलाई शानदार ‘कम ब्याक’ गर्न पनि आँट गर्दैनन्। बिनासाधना, बिनानलेज ‘हल्लीखल्ली’ गर्ने केही अ–कलाकारको हुटहुटीले अग्रजहरू आफूलाई ‘लोकदोहोरी कलाकार’ भन्न नि अप्ठ्यारो लाग्ने बताउँछन्। केही अग्रज भने गीत कुन धारको सुरु गर्ने दोधारमा छन्। अग्रज गायक भगवान भण्डारी पनि बजारको चटकदेखि सन्तुष्ट छैनन्। भन्छन्, ‘लोकले के गर्दै छ, लोकले के समस्या भोगेको छजस्ता कुरा समेट्दै समग्रमा लोकको कथालाई लयमा ढालेर स्वर दिएपछि मात्रै लोकगीत बन्छ। तर अहिले समग्र लोकसंस्कृतिलाई धमिल्याउने काम भएको छ।’
गीत ‘हाई हाई’ गीतकार ‘गुमनाम’ !
गीतकार त्यो अभागी नाम हो, जो गीत मात्र लेखेर बाँच्ने कल्पना पनि गर्न सक्दैन। गायक उस्तै परे त्यही गीत ‘एक युग’ गाएर बाँच्छ। आफ्नो गीतले करोड क्लबमा प्रवेश गरेर हंगामा मच्चाउँदा पनि गीतकार ओझेलमै हुन्छ। आर्थिक हिसाबले पनि ऊ कान्छो नाम हो। गीतकार यति पीडित हुनुमा स्वयंको पनि ठूलो कमजोरी छ। उनीहरूसँग आफ्नो गीतको ‘रेट’ तोक्नेसम्म हिम्मत छैन, हैसियत त हुने कुरै भएन। म लेखेरै बाँच्छु भन्ने मुटु छैन। चलेकै सर्जकले पनि आफ्ना गीत राम्रो प्रोजेक्टमा सित्तैमा दिने सिलसिलाले गीतकार अझै पछि छोडिएका छन्। उनीहरूमा एकताको कमी छ।
झोलामा ‘उत्पादक’, मापदण्ड ‘कमजोर’
गीतसंगीत उत्पादनको मापदण्ड अत्यन्तै कमजोर भएको छ। गीतसंगीत उत्पादन गरिरहेका बहुसंख्यक कम्पनीको कार्यालय छैन। चट्ट चारपाटे गोजीमा रबर स्ट्याम्प र लेटरहेड बोकेर हिँड्नेहरू नाम कहलिएका ‘प्रोड्युसर’ भएका छन्। जसले, जसरी, जस्ता गीतहरू पनि उत्पादन गर्न पाउने मापदण्डकै कारण लोकदोहोरीमा अझ बढी अश्लीलता बढ्न गएको छ।
साठीको दशकदेखि कलाकारका सिर्जनालाई उचित मूल्य दिएर गीतसंगीत उत्पादन गर्दै आएको विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी बजारका गीतसंगीतभन्दा पनि बढी कम्पनीबारे बोल्छन्। नेपालमा व्यावसायिक रूपमा संगीत व्यवसायको रूपमा कम्पनी सञ्चालन गरेका तीनचार म्युजिक कम्पनी मात्र छन् ! केही चाहिँ म्युजिक कम्पनीको नाममा स्रष्टाको सिर्जनामा बिचौलियाको काम गर्नेहरू छन् भने अधिकांश कलाकारका म्युजिक कम्पनी छन्। अफिसको ठेगाना नभए पनि गोजीमै कम्पनी बोकेर हिँडेका धेरै झोले म्युजिक कम्पनी छन्।
सजिलो छैन ‘भोक’ को बाटो
स्टेज प्रोग्रामलाई दोस्रो नम्बरमा राख्ने हो भने अधिकांश गीतबाट लगानी सुरक्षित हुने चान्स छैन। प्रविधिको विकाससँगै आफूलाई प्रमाणित गर्ने प्रशस्त बाटा खुलेका छन्। बजार यति महँगो भइसक्यो कि अडियोले पचासदेखि एक लाखसम्म रेट तोक्छ। भिडियोले तीनदेखि सातआठ लाखसम्म। बुस्टलाई केही लाख छुट्याउनु अनिवार्यजस्तै हो। एउटा गीतले लगानी सुरक्षित गर्न लगभग एक करोडपटक हेरिनु जरुरी देखिन्छ। एउटै कलाकारका गीतहरू जुधिदिन्छन्। एउटै मोडलका गीतहरू जुध्छन्। केही गर्न कम्मर कस्ने क्षमतावान् ‘भोका’ हरूका लागि पनि फलाम चपाउनु र आगो निल्नुभन्दा कम्ती छैन यो क्षेत्र। योभन्दा ‘छपनीमुनिको दूबो’ भएर पहेंलिनु बरु सजिलो छ।
सकिएको छैन ‘आस’
आफ्नो रुचिविपरीत बाटो हिँडेको बजार देखेर नमीठो लागे पनि आफ्ना रहरसँग हारेका छैनन् केही सर्जक। रमेश बिजी, एकनारायण भण्डारी, नवराज पन्त, प्रह्लाद सुवेदी, शिव हमाललगायत अन्य केही स्रष्टाले भने मौलिक गीतको मूल थाम छाडेका छैनन्। अस्वस्थ प्रतिस्पर्धात्मक बजारमा भिडिरहेकै छन् र सफलता पनि चुमिरहेकै छन्। राम्रा सिर्जना ढिलो–चाँडो दर्शकको नजरमा पर्छन्। तिनीहरूले आयु दिन्छ सर्जकलाई र श्रोतादर्शकलाई पनि कुनै मौसमका लागि मात्र आनन्द प्रदान गर्दैन।
अझै ‘पहिलो’ नम्बरमै लोकदोहोरी
नेपालमा गाइने सबै गीतभन्दा धेरै गाइने गीतमा लोकदोहोरी पर्छ। मेला महोत्सवदेखि लाइभ गायनमा पनि लोकदोहोरी नै पहिलो छ। चियापसल, सवारीसाधनदेखि अन्य ठाउँमा पनि लोक ‘नाम’ पहिलो नै छ। कतिसम्म भने अब त चलचित्रका गीतमा पनि ‘लोकदोहोरी फ्लेभर’ जरुरीजस्तै भएको छ।
के छ प्रतिष्ठानको स्वर !
अक्सर कलाकारहरूले पैसाको मोहमा संस्कार नबचाएको लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको भनाइ छ। आजभन्दा आगामी दिनमा झन् नांगो भएर पो जाने हो कि, हामीले भोलि हस्तान्तरण गर्ने पुस्ता अझ छिल्लिँदै जाने हुन् कि भन्ने डर भएका कारण समग्र कलाकारलाई संस्कृति नमार्न प्रतिष्ठानले आह्वान गरेको उनी बताउँछन्। भन्छन्, ‘हामीले सबैभन्दा बढी चिन्ता गरेको विषय नै यही हो। अश्लीलता लोकदोहोरीको संस्कारभित्र पर्दैन। यसबारे प्रतिष्ठान आगामी दिनमा ‘एक्सन’ लिएर अघि बढ्नेछ।’