फर्जी कागजपत्रको आधारमा कृषि विकास बैंकद्वारा कर्जा प्रवाह
गोरखा : कृषि विकास बैंक, गोरखा शाखाले फर्जी कागजपत्रको आधारमा एक व्यवसायीलाई सहुलियत कर्जा प्रवाह गरेको छ । कुखुरा पालन व्यवसायको नक्कली फर्मको कागजपत्र पेश गरेका एक सदरमुकामको आरआर कृषि फर्मलाई प्रवाह गर्न मिल्ने अधिकतम कर्जा ६० लाख रुपैयाँ प्रवाह गरेको हो ।
गत असोजको ६ गते सो फर्मलाई ४ प्रतिशत व्याजदरमा ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंककी व्यवसाय सहायक सरस्वती पाण्डेले जानकारी दिइन् ।
आरआर कृषि फर्मका सञ्चालक रामहरि केशीले गोरखा नगरपालिका ११ मा कुखुरा फर्म सञ्चालन गर्न सो कर्जा लिएको बताएका छन् । उनले कर्जाका लागि सोही ठाउँको नौ रोपनी जग्गा धितो राखेको जनाएका छन् । स्वीकृत कर्जामध्ये अहिलेसम्म ३० लाख रुपैयाँ मात्र भुक्तानी लिएको केशीले बताए ।
तर सहुलियत कर्जा लिनका लागि कागजात भने नक्कली पेश गरेका छन् । बैंकका अनुसार उनले गोरखा नगरपालिका १२, ठेँडेको बी टु कुखुरा, बाख्रा तथा तरकारी फर्मको कागजात पेश गरेका छन् । साथै गोरखा नगरपालिका १० स्थित एक दर्ता नभएको कुखुरा फर्मको पनि कागजात पेश गरेको बैंकका तत्कालीन शाखा प्रबन्धक सूर्यप्रसाद गैरेले जानकारी दिए ।
‘गोरखा नगरपालिका १० को सिर्दिखोलानेरको अछामीको कुखुरा फर्म र गोरखा नगरपालिका १२ अँबुवानेरको बी टु कुखुरा, बाख्रा तथा तरकारी फर्म भाडामा लिएको भनेर सम्झौता गरेको कागजपत्र पेश पेश भएको छ’, उनले भने ।
यी दुवै फर्ममा केशीको आवद्धता नरहेको फर्मका सञ्चालकले दाबी गरेका छन् । ‘यो मेरो फर्म हो । मैले छ वर्षअघि बनाएको हुँ । कतै दर्ता पनि गरेको छैन’ फर्मका सञ्चालक सुकबहादुर अच्छामी भन्छन्, ‘तीन वर्षअघि परशुराम बस्नेतलाई वर्षको एक लाख १० हजार रुपैयाँ लिनेगरी भाडामा चलाउन दिएको थिएँ । अहिले त उहाँको म्याद पनि सकियो । अहिले फर्म रित्तो छ । कसैलाई दिएको पनि छैन ।’ केशीलाई आफूले चिन्दै नचिनेको उनले बताए ।
बैंकका कर्मचारी दुईफेरसम्म आएको भन्दै उनले आउनुको कारण भने आफूलाई थाहा पत्तो नभएको बताए । ‘पहिलोपल्ट साँझतिर आएर फोटो खिचेर लानु भएको थियो । फेरि एक महिनापछि पनि आएर फोटो खिचेर लानु भयो’, उनका छोरा रामजी अच्छामीले भने, ‘हामी गरिबको फर्म देखाएर साहुहरुले के के गरिरहेका छन् कुन्नि ? हामीलाई केही थाहा छैन ।’
केशीले कागजपत्र पेश गरेको भनिएको अर्को बी टु फर्म कृषि विश्व अर्यालको नाममा दर्ता भएको फर्म हो । सो फर्म आफ्नो एकल लगानीमा चलिरहेको, कसैसँग साझेदारी पनि नगरिएको अर्याल बताउँछन् ।
‘यो मेरो बिगत पाँचवर्षदेखि एकल लगानीमा चलेको फर्म हो । १५ वर्ष दुबईमा बसेर कमाएको पैसाले चलाएको फर्ममा मैले कसैलाई सेयर पनि दिएको छैन । पार्टनरसीप पनि गरेको छैन’, अर्याल भन्छन्, ‘कुनै निकायबाट कर्जा पनि लिएको छैन । कसैले यसलाई देखाएर लोन लिएको छ भने उसलाई कारबाही हुनुपर्छ ।’
कर्जा लिने आरआर कृषि फर्मका सञ्चालक केशीले भने यी दुवै फर्ममा आफू र आफ्ना साझेदार विकास पोखरेलको संलग्नता रहेको दाबी गरेका छन् । ‘ती दुवै फर्म विकासजी र म मिलेर चलाएका हौँ । हामीसंग कागजपत्र छ’, उनले भने, ‘मैले विधिवत कागजपत्र पु¥याएर कर्जा लिएको हुँ ।’
बैंकले भने कर्जा स्वीकृत गर्ने तत्कालीन शाखा प्रवन्धक सूर्यप्रसाद गैरे, व्यवसाय सहायक जनक रेग्मी र सहायक कर्मचारी किशोरीलाल बछारको सरुवा भइसकेको जनाएको छ ।
‘त्यतिबेलाका फिल्डमा जाने, कर्जा सिफारिस गर्ने र स्वीकृत गर्ने सबै सर सरुवा भइसक्नु भयो’, कृषि विकास बैंककी निमित्त प्रमुख सरस्वती पाण्डे भन्छिन् । अहिले यसका बारेमा प्रदेश कार्यालय र केन्द्रीय कार्यालयबाट अनुसन्धान भइरहेको छ । आन्तरिक छानबिनमा रहेको विषयमा मैले बोल्नु मिल्दैन ।’

गोरखा नगरपालिका १२ ठेँडेमा सञ्चालित बी टु कुखुरा बाख्रा तथा कृषि फर्म । तस्बिर : शिव उप्रेती
प्रतिक्रिया दिनुहोस !