गोरखामा गोरु तस्करी बढ्यो

गोरखामा गोरु तस्करी बढ्यो

गोरखा : सोमबार राति ११ बजे सिरानचोक गाउँपालिका ६ जरेबरबाट अवैध रुपमा तस्करी हुँदै गरेको एक ट्रक गोरु गोरखा नगरपालिका १२ का बासिन्दाले नियन्त्रणमा लिए र प्रहरीको जिम्मा लगाए । प्रहरीले सो ट्रक भेटरीनरी तथा पशुसेवा विज्ञ केन्द्रमा बुझायो ।

विज्ञ केन्द्रले गोरु ओसारपसारको कानुनी आधार खोज्यो । तस्करी गर्ने समूहले आधार पेश गर्न नसकेपछि जहाँबाट सङ्कलन गरेको हो, त्यहीँ लगेर छाड्न निर्देशन दियो ।

विज्ञ केन्द्रबाट नियन्त्रणमुक्त भएपछि मंगलबार बिहान गोरु बोकेको सो ट्रक गोरु संकलन भएको स्थान (जरेबर) तर्फ नगई राजमार्ग हुँदै चितवन हानियो । 

गोरुसहितको सो ट्रक आँबुखैरेनीबाट चितवनतर्फ गएको आँबुखैरेनीका स्थानीयबासीले बताएका छन् । ‘गोरखाबाट गोरु बोकेर आएको ट्रक यहाँबाट बिहान साँढे १० बजे चितवनतर्फ गएको छ’, आँबुखैरेनीका सोम गुरुङले भने, ‘गोरखाबाट यसरी बारम्बार गोरु निकासी हुने गरेको हामीले देखिरहन्छौं । आज (मंगलबार) पनि गोरु आएको देखेपछि पछ्याउँदै ऐना पहरामा पुगेर रोक्यौँ । कुराकानी गर्दा गोरखामा आवश्यक कागजपत्र बुझाएर विधिवत रुपमा ल्याएको हो भनेर उनीहरुले दाबी गरेपछि छोदिदियौं ।’ 

तर पशुसेवा विज्ञ केन्द्रले भने आवश्यक कागजात नभएकाले संकलन गरेको स्थानमा लगेर छाडिदिने सर्तमा पठाएको जनाएको छ । ‘पशुचौपाया सप्लाई गर्न आधिकारिक रुपमा दर्ता भएको सप्लायर्सको प्रमाणपत्र चाहिन्छ । करचुक्ताको कागजात चाहिन्छ । हामीले मागेका कुनै पनि कागजपत्र उनीहरुले पेश गर्न नसकेपछि जुनठाउँबाट ल्याएको हो, त्यहीँ लगेर छाडिदिनू भनेर पठाएका हौँ’ विज्ञ केन्द्रका सूचना अधिकारी महेन्द्र पौडेलले भने, ‘तर कता लगे भन्ने बारे हामीले थाहा पाउन सकेनौँ ।’

प्रहरीले भने स्थानीयबासीको गुनासोपछि गोरु बोकेको ट्रक नियन्त्रणमा लिएर विज्ञ केन्द्रमा बुझाएको जनाएको छ । ‘हामीले नियन्त्रणमा लिएर मुचुल्कासहित विज्ञ केन्द्रलाई बुझाएका हौँ । त्यसपछि के भयो भन्नेबारे विज्ञ केन्द्रलाई जानकारी होला’, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले भने ।

मंगलबार एकैदिन १९ वटामध्य दुईवटा गोरु मरिसकेका छन्, तर सबै गोरु स्वस्थ रहेको भनेर जीवन भेटरीनरी क्लिनिकले निरोगीताको प्रमाणपत्र दिएको छ । ‘मैले प्रत्यक्ष रुपमा ठाउँमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएको हुँ । ढुवानीको असुविधाका कारण मरेको हुनसक्छ’, पशुरोग चिकित्सक जीवन पोखरेलले भने।

सबै निकायको अरुलाई जिम्मेवारी दिएर पन्छिने प्रवृत्ति बढेसँगै गोरखामा गोरु तस्करीको क्रम पनि बढिरहेको छ । गाउँगाउँबाट गोरु संकलन गरी भारत तथा बंगलादेश पुर्‍याउने क्रम बढिरहेको स्थानीयबासी बताउँछन् । पशुचौपाया सप्लाई गर्न वैध रुपमा दर्ता भएका प्रमाणपत्रधारी सप्लायर्स तथा असंगठित समूहले गोरु निकासी गरिरहेका सोम गुरुङको गुनासो छ ।

वैध, अवैध समूहले संकलन गरेको गोरुलाई पशु परीक्षण गर्न दर्ता भएका चिकित्सकले सजिलै निरोगीताको प्रमाणपत्र दिने गरेका छन् । 

दिउसै खुल्लमखुल्ला गाईगोरु निकासी भएपनि थुनछेक गर्ने कानुनी आधार छैन । गाईगोरु ओसारपसार रोक्न कुनै कानुन नभएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई बताउँछन् । ‘सीमा जोडिएको जिल्लाभए भन्सारमा बुझाउने हो, नत्र देशभित्र पशुचौपाया ओसारपसार गर्न नरोक्नू भन्ने सर्वोच्चको आदेश छ’, उनले भने, ‘अन्तरदेशीय निकासी पैठारी पशु सेवा कार्यालयले हेर्छ । देशभित्र ओसार्नका लागि रोक्ने कुनै कानून छैन ।’

गोरखाबाट दिनहूँजसो गाईगोरु ओसार्ने गरेको व्यवसायी स्वीकार गर्छन् । विभिन्न ग्रामीण क्षेत्रबाट बिनारोकतोक ट्रकमा राखी दर्जनौं गाईगोरु निकासी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । गलत प्रयोजनका लागि लगे पनि उनीहरुले कागजात भने दुरुस्त बनाउने गरेको भेटिन्छ ।

गोरखाका ११ वटै स्थानीय तहबाट गाई तथा गोरु सङ्कलन गरी मकवानपुरसम्मका लागि कागपत्र बनाएर लैजाने गरेको सो काममा खटिएका व्यवसायी बताउँछन् । ‘हामीले गोरखाबाट गाईगोरु लैजान थालेको तीन वर्ष भयो’, लक्ष्मी चौपाया सप्लायर्सका भीम लामा भन्छन्, ‘अहिले गोरु खोज्नका लागि गाउँगाउँमा टन्नै मान्छेहरु छन् ।’ गोरुका लागि पैसा तिरे पनि गाउँलेले गाई सित्तैमा भिडाइदिने गरेको उनले बताए ।

जोत्ने बहानामा लगे पनि गाईगोरु कहाँ पुर्‍याइन्छ भन्ने बारे व्यवसायीसँग प्रष्ट जवाफ छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.