बालिकाको हत्यापछि तनाव

बालिकाको हत्यापछि तनाव

बर्दिबास : आइतबार साँझदेखि बेपत्ता ६ वर्षीया बालिका सोमबार मध्यरातमा मृत फेला परेकी छन्। ती नाबालिकाको शव बोरामा राखेर फालेको अवस्थामा झाडीमा भेटिएको हो। महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीका सहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।

स्थानीयले उक्त घटनाको विरोध गर्दै मंगलबार दिनभर प्रदर्शन गरे। प्रहरीले चलाएको गोली लागेर बर्दिबास–१ का बुद्धिराज भनिने सञ्जय न्यौपाने, बर्दिबास–५ का श्याम कार्की घाइते भएका छन्। त्यस्तै, स्थानीय अफताब आलम पनि घाइते भएका छन्। उनको टाउको फुटेको छ। न्यौपानेको बायाँ तिघ्रामा गोली लागेको छ। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने श्यामलाई एम्बुलेन्समार्फत।

आक्रोशित स्थानीयले राजमार्गमा शव राखेर प्रदर्शन गर्ने क्रममा भोला बसन्तचोकस्थित प्रहरी बिटमा ढुंगामुढा र आगजानी गरेपछि प्रहरीले तितरबितर गर्न हवाई फायर गरेको प्रशासनले जनाएको छ। ‘सोही गोली प्रदर्शनकारीलाई उछिट्टिएर लाग्यो’, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने।  घटनालाई लिएर मंगलबार दिनभर बर्दिबास तनावग्रस्त रह्यो। आन्दोलनकारीले ६ घण्टा राजमार्ग  ठप्प गराए।

बालिका हत्या आरोपमा गौशाला– ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिएको डीएसपी चापागार्इंले बताए। ‘मैले नै बालिकाको हत्या गरेको हुँ भनी आरोपीले स्वीकार गरिसकेका छन्’, उनले भने।

स्थानीयले घटनाको प्रकृति हेर्दा बलात्कार गरी बालिकाको हत्या गरिएको हुन सक्ने बताएका छन्। यससम्बन्धी प्रश्नमा डीएसपीले भने, ‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ।’ घटनास्थललाई घेरा हाली प्रमाणहरू सुरक्षितसाथ संकलन गरेर पोस्टमार्टमका लागि पठाइएको छ।
आक्रोशित स्थानीयले सामाजिक बहिष्कारको नारा लगाउँदै आरोपीको घरमा आगजनी गरेका छन्। उक्त आगो निभाउन प्रयोग गरिएका दुई दमकलमा प्रदर्शनकारीले तोडफोड गरेका थिए।

प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको थियो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोला बसन्तचोकबाट नवक्षितिज क्याम्पस जाने मूलबाटोमा आरोपी साहले अरुण किराना पसल सञ्चालन गर्दै आएका छन्। उक्त पसलमा आइतबार साँझ चकलेट किन्न गएका बेला बालिकालाई आरोपितले अपहरण गरेर घरमा लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले बालिकाको हत्या गरेर बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरि पसल खोलेका थिए।
स्थानीयले सोमबार उनको पसलको सिसी क्यामरा हेर्न खोज्दा आरोपीले भनेका थिए, ‘किन हेर्न आएको ? मैले बच्चीलाई लुकाएको हो र ?’

सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले परिवारलाई बालिकाको हत्या गरेको बताएको खुलेको छ। त्यसपछि परिवारजनले नै इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले जनाए।

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपी नियन्त्रणमा रहेको खबर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईं ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुगेका थिए।
घटनास्थल पुगेका बर्दिबास–१४ का वडाध्यक्ष भरतबहादुर हमालले बालिकाको हत्याले चिन्तित बनाएको बताए। हराएको बिहानै बालिकाका बुवाले स्कुल पढाउन भन्दै सप्तकविन्द्र बोर्डिङ स्कुलमा भर्ना गरेर आएका थिए। आमालाई घरमा जिम्मा लाएर बालिकाका बुवा सहिद मोबाइल किन भन्दै महोत्तरीको सम्सी बजार गएका थिए। गाउँमा खेल्दै गरेको बालिका साँझ घर नफर्किएपछि उनको खोजी कार्य सुरु गरिएको थियो।

आरोपीले केही समयपहिले गौशालामा एक युवकको हत्या गरेको उजुरी रहेको प्रहरीले जनाएको छ। बर्दिबासमा पनि उनले केही समयअघि एक बालिकामाथि यौनजन्य दुव्र्यहार गरेका स्थानीयले जनाए। ‘मेरो छोरीको अपहरण गरेर बलात्कारपछि हत्या भएको हाम्रो शंका छ।प्रहरी गम्भीरतापूर्वक अनुसन्धान गरोस्’, सहिदले भने।
बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बालिका हत्या घटनाको न्यायिक छानबिन गरेर दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले प्रदर्शनमा घाइतेको उपचार र पीडित परिवारलाई राहत दिनुपर्ने माग पनि सरकारसँग राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.