भारतीय विदेश सचिवले उद्घाटन गरे विद्यालय भवन
गोरखा : भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले उद्घाटन गरेका छन्।
महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेपेटार र रत्नलक्ष्मी मावि डुम्रीडाँडामा नवनिर्मित विद्यालय भवनको शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गरेका हुन्। गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन भएका हुन् ।
विद्यालय भवन उद्घाटन गर्दै विदेश सचिव श्रृङ्गलाले वीर गोरखाली भनेर विश्वभर चिनिएको गोरखामा आउन पाउँदा खुशी लागेको नेपाली भाषामा बोल्दै बताएका थिए। साथै नेपाली एकीकरणको सुरुवात गोरखाबाटै भएकाले गोरखामा आउन पाउँदा खुशी लागेको बताएका थिए।
साथै उनले २०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु गोरखा र नुवाकोटमा ५० हजार वटा निजी आवास पुनर्निर्माण भइरहेको बताए। ‘२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको छ।
सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भइरहेको छ’, उनले भने, ‘नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्। भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय भवन पुनर्निर्माण भइ रहेका छन्। १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको छ।’
नेपाल र भारत बीचको सम्बन्ध सँधै सुमधुर भइरहने उनले विश्वास व्यक्त गरेका थिए।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भूकम्पका कारण संकटमा परेका बेला सहयोग गरेकोप्रति भारत सरकारप्रति आभार व्यक्त गरेका थिए। त्यस्तै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा नगरपालिका र भारतको गोरखपुर निगमबीच भगिनी सम्बन्ध कायम गर्न सहयोग गरिदिन अनुरोध गरेका थिए।

वरियता विवादले मन्त्री र सीईओ कार्यक्रममा गएनन्
वरियतासम्बन्धी कुरा नमिल्दा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत तथा पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञावलीले उद्घाटनमा जाने कार्यक्रम रद्ध गरेका छन्।
आशनग्रहण तथा शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिकामा वरियता क्रम नमिलेका कारण मन्त्री बस्नेत र सीईओ ज्ञावाली कार्यक्रममा उपस्थित नभएका हुन्।
मन्त्री बस्नेत, सीईओ ज्ञावली र भारतीय विदेश सचिव हर्षवद्र्धनले तीनवटा विद्यालय संयुक्त रुपमा उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकामा अन्तिम घडीमा मन्त्री र सीईओले कार्यक्रम रद्ध गरेको महालक्ष्मी माविका व्यवस्थापन समितिका अध्यक्ष शिव केशीले बताए।
प्रतिक्रिया दिनुहोस !