पार्टी फुट्दैन : नेता खनाल
इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको द्वन्दवले नेकपा विभाजन नहुने दावी गरेका छन् । इलामको सूर्योदय र माइ नगरपालिकामा अस्पतालको सिलान्यास गर्न आएका खनालले सूर्योदय नगरपालिकामा १५ शैयाको अस्पतालको सिलान्यास गर्दै पार्टी अझै समृद्ध भएर अघि बढ्ने बताए ।
उनले मिडियाका कच्चा मान्छेहरुले पार्टी फुट्ने हल्ला चलाएको आरोप लगाउँदै बहसबाट देश र पार्टीलाई समृद्ध गराउने दिशामा पार्टी लागेको बताए । खनालले बादेबादे जायते तत्वबोध भन्ने सर्वमान्य विचारको प्रारम्भ नेपालबाटै भएकाले त्यसकै जगमा नेकपामा बहस भइरहेको बताए ।
उनले पार्टी फुटाएर आफ्नो स्वार्थ सिद्ध गर्न कोही लागेको भए त्यो इच्छा पूरा नहुने समेत बताए । पार्टी फुटे आफ्नो रोटी सेकाउन तम्सेकाहरुको इच्छा पुरा नहुने खनालको भनाइ छ । उनले ढिलै भएपनि देशभरी अस्पताल खोलेर सरकारले राम्रो काम थालेको बताए । उनले भने, 'धेरैअघि थाल्नु पर्ने काम थियो, अहिले सुरु भएपनि राम्रो कामको सुरुवात भयो ।'
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रम अघि खनालले सूर्योदय नगरपालिकको फिक्कलमा बन्ने १५ शैयाको अस्पतालको सिलान्यास र फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको डेन्टल क्लिनिकको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !