पौडेल पक्राउ, साँझ रिहा

पौडेल पक्राउ, साँझ रिहा

दमौली : प्रहरीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार दिउँसो पक्राउ गरी साँझ रिहा गरेको छ। व्यास नगरपालिकामा पुल उद्घाटन गर्न जाँदै गरेका पौडेललाई प्रहरीले दिउँसो पौने ३ देखि साँझ साढे ५ बजेसम्म नियन्त्रणमा राखेको हो।

पौडेल तीन दिनयता गृहजिल्ला तनहुँमा थिए। उनले मंगलबार व्यास–१४ र ऋषिङ ३ जोड्ने सेती नदीमा निर्मित मोटरेबल पुल उद्घाटन गरेका थिए। बुधबार व्यास–१ र १० तथा ११ जोड्ने बुल्दी पुल उद्घाटन कार्यक्रम थियो। उनी त्यही कार्यक्रममा हिँडेका थिए।

उनी अगाडि बढ्दै गर्दा प्रहरीले घेराउ गरी सँगै जान आग्रह गरेको थियो। तर, पौडेलले नजाने अडान लिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नुअघि पौडेलले संवाददातासँग भनेका थिए, ‘गैरकानुनी आदेश मान्न नागरिकलाई बाध्यता छैन। यो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले अवरोध गरेको छ।’ यति भन्दा नभन्दै प्रहरी टोलीले उनलाई भ्यानमा राखेको थियो। त्यसपछि उनको रिहाइको माग गर्दै कार्यकर्ताले पृथ्वी राजमार्ग र प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए।

विवादको जड उद्घाटन

पौडेललाई जितेर प्रतिनिधिसभा सदस्य बनेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ पनि गृहजिल्लामै छन्। सांसद श्रेष्ठ सरकारी आधारभूत अस्पताल उद्घाटनलगायत कार्यक्रम लिएर आएका थिए।

विवाद देखिएको बुल्दी खोलाको पुल तत्कालीन जिविसको एसएनआरटीपी परियोजनाअन्तर्गत ०७३ वैशाखमा निर्माण सुरु भई ०७५ कात्तिकमा सम्पन्न भएको थियो। उपभोक्ता समितिले पौडेललाई नै उद्घाटन गराउन प्रमुख अतिथि डाक्ने निर्णय गरेको थियो। तर, नेकपा पुलको उद्घाटन सांसद श्रेष्ठबाट गराउने तयारीमा थियो।

यसबीच, प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पुल हस्तान्तरण प्रक्रिया नसकिएको भन्दै उद्घाटन रोक्न परिपत्र गर्‍यो। त्यसपछि स्थानीय प्रशासनले त्यहीअनुरूप गर्न खोजेको थियो। उपभोक्ताले भने पौडेलबाटै पुल उद्घाटन गराउने अडान लिए। ‘सर्वपक्षीय निर्णय पौडेलबाटै उद्घाटन गराउने भएपछि हामीले तयारी गरेका थियौं’, अनुगमन समितिका संयोजक ईश्वर पौडेलले भने, ‘त्यसमा समितिका सचिव नेकपाका कार्यकर्ताको पनि समर्थन थियो।’

यही बेला नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघले दमौलीमा र्‍याली निकाल्यो। त्यसपछि सुरक्षा समिति बैठक डाकेर झडप हुन नदिन भन्दै प्रशासनले मध्याह्न १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। तर, पौडेल कार्यक्रमस्थल पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो।

उद्घाटनस्थल जाँदै गरेका कार्यकर्तालाई रोक्न प्रहरीले व्यास–१ गल्बुबेंसीस्थित पृथ्वी राजमार्गमा अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीसँगको झडपमा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलसहित ६ नेता घाइते भएको कांग्रेसले जनाएको छ। कांग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, पवित्रा पौडेल, राजेन्द्रकृष्ण श्रेष्ठ पनि घाइते भएको बताए। नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खलेको औंला भाँचिएको छ।

पौडेलसँगै कार्यवाहक जिल्ला सभापति जितप्रकाश आले, नेपाल विद्यार्थी संघका गौरव पन्थ, सुनील श्रेष्ठलगायत पनि पक्राउ परेको कांग्रेसले बताएको छ। यसअघि उद्घाटनको विरोधमा प्रशासन घेराउ गर्न गएका युवा संघ जिल्ला संयोजक ईश्वर बस्याल, सहसंयोजक भगवान् श्रेष्ठ, नेता बादल आलेलगायत प्रहरी नियन्त्रणमा थिए। प्रहरीले उनीहरू सबैलाई रिहा गरेको छ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा मानेर पौडेल नगएको भए विवाद नआउने दाबी गरे। ‘निषेधाज्ञा मानेर उहाँ नजानुभएको भए हुन्थ्यो,’ आचार्यले भने, ‘झडप हुने र उहाँमाथि आक्रमण हुन सक्ने भएकाले सुरक्षाका लागि लगेका हौं।’

शक्तिको दुरूपयोग: पौडेल

रिहा भएपछि व्यास–३ स्थित पार्टी कार्यालय पुगेका पौडेलले कार्यकर्तालाई सम्बोधन गर्दै जनताको आग्रहलाई बेवास्ता गरी सत्ता शक्तिको दुरूपयोग गरेको आरोप लगाए। घटनाको भत्र्सना गर्दै लोकतन्त्र रक्षार्थ सबै एकस्थानमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘अधिनायकवादीहरू नांगो रूपमा प्रस्तुत भएका छन्’, उनले भने, ‘इतिहासका कालखण्डमा राजा र राणाहरूसँग लडेको कांग्रेस यो अधिनायकवादविरुद्ध पनि एकजुट भएर लाग्नुपर्छ।’

कांग्रेस जिल्ला कार्यसमितिले घटनाको विरोधमा बिहीबारदेखि चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ।

देउवाको कडा आपत्ति

कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले हिरासतमा लिएकोमा कडा आपत्ति जनाएका छन्। देउवाले पौडेलमाथिको दुव्र्यवहार र पक्राउलाई ‘सर्वसत्तावादको संकेत’ भन्दै सरकारको विरोध गरेका छन्। देउवाले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध अभियान चलाउने चेतावनीसमेत दिएका छन्। 

‘तनहुँ जिल्ला ब्यास नगरपालिका–१ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा पौडेलमाथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्र्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’ प्रहरीले नेता पौडेललाई साँझ रिहाइ गरेको थियो।

पौडेल पक्राउ भएलगत्तै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर घटनाबारे आपत्ति जनाएका थिए। उनले पौडेल पक्राउको कारण माग गर्दै तत्काल रिहाइ गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए। प्रधानमन्त्री ओलीले झडप हुने अवस्था देखिएकाले सुरक्षाका लागि पौडेललाई हिरासतमा लिनुपरेको जवाफ दिएका थिए। तर, देउवाले भने सुरक्षाका लागि भए पौडेललाई ‘घरमा नलगी किन चौकीमा राखेको’ भन्दै आक्रोश जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.