गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित, इमर्जेन्सीबाहेकका सेवा बन्द
गोरखा : कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मीले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका छन्।
सामान्य विवाद समाधानको प्रयास हुँदाहुँदै चिकित्सकमाथि हातपात हुनु दुखद भएको भन्दै विज्ञप्तिमा हातपात र दुर्व्यवहार गर्नेमाथि कारबाही नभएसम्म काममा नफर्कने विज्ञप्तिमा जनाइएको छ।
‘अस्पतालभित्रै कार्यस्थलमा हामीमाथि हातपात र दुर्व्यवहार हुनुले हाम्रो सुरक्षाको चुनौति थपिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याएर दोषी उपर अबिलम्ब कानूनी कारबाही गर्न माग गर्दछौँ। साथै दोषीउपर कारबाही नभएसम्म हामी सबै स्वास्थ्यकर्मीहरु आकस्मिक सेवाबाहेक कुनै पनि काममा नफर्कने जानकारी गराउँदछौँ।’
शनिबार गोरखा नगरपालिका ३ नारेश्वरकी एक सुत्केरी अस्पतालको सौचालय जाँदा लडेको र आफन्तलाई सुत्केरी भेट्न नदिएको बिषयमा विवाद भएको थियो।
सोही विषयमा नेविसंघले विज्ञप्ति जारी गरी बिरामी र बिरामीका आफन्तमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गरेको छ। नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा दुर्व्यवहार गर्ने डाक्टर सन्दीप श्रेष्ठप्रति कडा कारबाहीको माग गरेको छ। साथै कारबाही नगर्ने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !