सेनासँग छैन डर
बुटवल : नेपाली सेना देख्नासाथ तर्सिने रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका नागरिक अहिले नजिकिन थालेका छन्। सेनाले विपद्का बेला उद्धार र अन्य प्रत्यक्ष लाभ हुने कार्यक्रम गर्न थालेपछि नागरिक सेनासँग नजिकिएका हुन्।
द्वन्द्वकालमा दमनमा परेका मर्चवारका कतिपय गाउँमा सुरक्षाकर्मी देख्नासाथ नागरिक डराउने गर्दथे। तर पछिल्लो समय उनीहरू सुरक्षा निकायको विश्वास गर्छन्। नेपाली सेनाले मर्चवार क्षेत्रमा नागरिकको हितमा केन्द्रित भएर विभिन्न गतिविधिहरू गर्दै आएको छ।
गएको वर्ष मर्चवारका तीन गाउँपालिकालाई समेट्ने गरी सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो। जसमा सयौं स्थानीयले लाभ लिएका थिए। मर्चवार क्षेत्रमा भरपर्दो स्वास्थ्य सेवा नभएकाले शिविरले ठूलो राहत प्रदान गरेको थियो।
मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले सेनाले रचनात्मक काम गर्दै गएपछि विश्वास बढ्दै गएको बताए। ‘पहिला त यस्ता ड्रेस लगाउने मान्छे देख्नासाथ नागरिक डराउथे’ उनले भने, ‘अहिले त सेना हाम्रै रक्षा र सेवामा काम गर्दाे रहेछ भन्ने बुझ्न थालेका छन्।’
नेपाली सेनाले सीमावर्ती विकट तथा अन्य क्षेत्रमा समेत नागरिक हितमा काम गर्दै आएको छ। मध्यपश्चिम पृतना बुटवल, २२ नम्बर बाहिनी र गरुढ दल गणबाट यस्ता गतिविधि हुने गरेका छन्। जिल्ला स्तरमा रहेका गणहरूले समेत विपद्मा नागरिकलाई सेवा गर्दै आएका छन्।
पछिल्लो समय सेनाले मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित रूपन्देहीको मर्चवारमा हाटबजार बनाएर हस्तान्तरण गरेको छ। नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधारअन्तर्गत गरुड दल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रस्ट निर्माण गरेको हो। यो गाउँ द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट प्रताडित बनेको क्षेत्रमध्येमा पर्छ।
सेनाले सो हाटबजार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ। २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँलाई ट्रस्टको तस्बिर हस्तान्तरणसहित हाटबजार व्यवस्थापनको अधिकार सुम्पिएका हुन्।
बाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्त्व राख्ने बताए। जनता प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए। यो हाटबजार ट्रस्टले स्थानीय नागरिकको विकासमा टेवा पुग्ने उनको भनाइ छ।
नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रमलाई तिरन्तरता दिने सहायक रथी सिलवालले बताए। ‘ट्रस्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट धेरै सहयोग पाइएको छ, यसले हामी उत्साहित छौं’ उनले भने।
सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाख लागतमा ट्रस्ट बनाएको हो। पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ। सहसेनानी मधुसूदन पोखरेलका अनुसार ट्रस्ट निर्माणमा ३५ जनाको फौजले दुई महिनासम्म काम गरेका थिए। सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ।
गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले सेनाले निर्माण गरेको ट्रस्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए। ‘यो पूर्वाधारमा हाटबजारसहित सार्वजनिक गतिविधिहरू गर्न समेत सकिनेछ’, उनले भने। सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित भएको उनले बताए। नौ वटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट सुरु गर्ने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !