राजा माग्दै दमौलीमा युवाको प्रदर्शन
दमौली : देशैभर राजसंस्था र हिन्दू राज्यका पक्षमा भइहेका प्रदर्शनको सिलसिला तनहुँको दमौलीका युवाले मोटरसाइकल र्याली निकालेका छन् ।
राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाइकल र्याली गर्दै प्रदर्शन गरेको हो । दमौली अनशन चौताराबाट सुरु र्यालीमा सैयौंको संख्यामा युवा सहभागी थिए ।
तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडालगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेका थिए । सहभागीमा अधिकांश युवा थिए । उनीहरुले राजसंस्थाको पुनर्वहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए ।
र्यालीका अगुवामध्येका एक उज्वल भट्टराईले जिल्लाभरबाट सोचेभन्दा बाक्लो सहभागीतामा र्याली भएको बताए ।
दमौली अनशन चौतारीबाट सुरु र्याली बजारका विभिन्न भाग, भादगाउँ, हाइस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो । भेलाका सल्लाहकार राजेन्द्र अधिकारीले स्वतःस्फूर्त रुपमा झण्डै एक हजारको संख्यामा सहभागी हुनुले राजसंस्थाका पक्षमा माहोल बनेको संकेत दिएको दाबी गरे ।