एन्फाले करफोकमा प्रशिक्षण केन्द्र बनाउने
इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र निमार्णका लागि ५० हजार डलर अथवा करिब ५८ लाख ५० हजार अनुदान दिने भएको छ।
एन्फाको बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले इलामको करफाकसहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए।
केन्द्रीय सदस्य खड्गीका अनुसार करफोकमा प्रशिक्षण केन्द्र निर्माणका लागि सूर्योदय नगरपालिका समेत सहमत रहेको छ। नगरपालिकाको वडा नम्बर १२ मा पर्ने करफोकमा प्रशिक्षण केन्द्र स्थापनाका विषयमा मेयर रणबहादुर राईसँग छलफल भएको उनले बताए। उनले भने, ‘स्थानीय सरकार सकारात्मक छ, प्रशिक्षण केन्द्र निर्माण भएपछि पूर्वको फुटबलमा नयाँ आयाम सुरु हुनेछ।’
एन्फाको बिहीबारबसेको वैठकले इलाम, धनुसा, कैलाली, गोरखा, बाँके, मकावानपुर, बर्दिया, नुवाकोट, उदयपुर, झापा, सिन्धुपाल्चोकमा प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।
प्रशिक्षण केन्द्र स्थापनाको लागि एन्फाले स्थानीय सरकारसँग लागत साझेदारी गर्नेछ। स्थानीय सरकारको ५० प्रतिशत र एन्फाको ५० प्रतिशत लगानीमा प्रशिक्षण केन्द्र बन्न लागेको हो। करफोकमा यस अघि पनि एन्फाले करफाकको मैदान स्तरोन्तीको लागि १० लाख खर्च गरिसकेको एन्फाका केन्द्रीय सदस्य खड्गीले बताए।
प्रतिक्रिया दिनुहोस !