५ महिनामा ५ खर्बको आयात
काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ५ खर्ब २५ अर्बको उपभोग्य वस्तु नेपालमा आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ५ महिना (साउन–मंसिर) को अवधिमा सवा ५ खर्ब रुपैयाँबराबरको उपभोग्य वस्तु भित्रिएको हो।
अघिल्लो वर्ष २०७६÷७७ को पहिलो ५ महिनाको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ९.५९ प्रतिशतले आयातमा गिरावट आएको छ। अघिल्लो वर्षको यही अवधिमा ५ खर्ब ८१ अर्ब रुपैयाँबराबरको उपभोग्य वस्तु आयात भएको थियो। निर्याततर्फ भने झिनो सुधार आएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्ष ५.१२ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। तथ्यांकअनुसार यो वर्ष ५० अर्ब रुपैयाँबराबरको नेपाली उत्पादन विभिन्न मुलुकमा निर्यात भएको छ। गत वर्ष यहि अवधिमा ४७ अर्ब ६१ करोड रुपैयाँबराबरको निर्यात भएको थियो।
पछिल्लो समयमा निर्यात दर बढ्दो र आयात दर घट्दै गएकाले व्यापार घाटा पनि क्रमिक रुपमा घट्दै गएको छ। अघिल्लो वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको ५ महिनामा १०.९१ प्रतिशतले व्यापार घाटा घटेको छ। यो वर्ष ५ महिनाको अवधिमा ४ खर्ब ७५ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएको छ। गत वर्ष यही अवधिमा ५ खर्ब ३३ अर्ब रुपैयाँबराबरको व्यापार घाटा नेपालले व्यहोरेको थियो।
यो वर्ष पहिलो ५ महिनाको अवधिमा नेपालले कुल ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.४८ प्रतिशत कम वैदेशिक व्यापार भएको हो। कुल व्यापारमा आयातको हिस्सा १४.८६ प्रतिशत र निर्यातको हिस्सा ऋणात्मक १.२२ प्रतिशत छ। नेपालले यो अवधिमा भारतसँग मात्रै ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँबराबरको आयात गरेको छ। यस्तै भारततर्फ ३५ अर्ब ३६ करोड रुपैयाँबराबरको निर्यात गरेको छ। चीनबाट ७७ अर्ब ४६ करोड रुपैयाँको विभिन्न वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ ३८ करोड ७० लाखको निर्यात भएको छ।
साउनदेखि मंसिरसम्म तरकारी, खाद्यान्न, बोसो र वनस्पति घिउ, पेट्रोलियम पदार्थ, औषधि, प्लास्टिक, आइरन र स्टिल, मेसिनरी उपकरण, विद्युतीय मेसिनरी उपकरण र सवारी साधन सबैभन्दा बढी आयात भएको छ।
१ खर्बको कृषिजन्य वस्तु आयात
पछिल्लो ५ महिनाको अवधिमा सबैभन्दा बढी कृषिजन्य वस्तु आयात भएको छ। १ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँबराबरको विभिन्न प्रकारका कृषिजन्य वस्तु आयात भएको छ। यो तथ्याँक मसलाबाहेकको हो।
भन्सारको तथ्यांकअनुसार कृषिजन्य वस्तुमध्ये पनि सबैभन्दा बढी खाद्यान्नको आयात भएको छ। ५ महिनामा ३३ अर्ब ३ करोडको गहुँ, मकै, कोदो, धान, चामल, फापर र जुनेलो आयात भएको छ। यसमध्ये १३ अर्ब ३३ करोड रुपैयाँबराबरको विभिन्न प्रकारको चामल आयात भएको छ।
तथ्याँकअनुसार खाद्यान्नपछि २३ अर्ब ५२ करोड रुपैयाँबराबरको बोसो र वनस्पति घिउ तथा १६ अर्बको तरकारी आयात भएको छ। यस्तै ५९ करोड रुपैयाँबराबरको जिउँदो खसीबोका, गाईभैसी, भेडा, ५६ करोड ५४ लाखको माछा, ८४ करोड ८९ लाखको डेरीजन्य पदार्थ, ७ अर्ब १३ करोडको फलफूल, ४ अर्बको कफी तथा चिया, ७ अर्बको तेलहन बीउ, ६ अर्ब ७६ करोडको चिनी तथा चिनीजन्य पदार्थ, ३ अर्ब ७७ करोड रुपैयाँबराबरको विभिन्न खाद्यान्नको पिठो आयात भएको छ।
प्रतिक्रिया दिनुहोस !