सर्वोच्चसँग पौडेलको आग्रह : संसद् पुनर्स्थापना गरेर देश जोगाइदिनुहोस्
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गरेर देश जोगाउन सर्वोच्च अदालतसँग अपील गरेका छन्। गृह जिल्ला तनहुँको दमौली र भिमादमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले देश जोगाउन सक्ने ठाउँ न्यायमूर्तिमा मात्र रहेको भन्दै संसद पुनर्स्थापना गरेर संविधान र देश जोगाउन आग्रह गरे।
'सर्वोच्चले मात्र अब देशलाई जोगाउन सक्छ, न्याय मूर्ति ज्यूहरु संसद् पुनर्स्थापना गरेर देश जोगाइदिनुहोस्', उनले भने ।
देश नै फाल्ने षडयन्त्र
उनले देशकै अस्तित्व खतरामा पार्ने काम प्रधानमन्त्रीको कदमले गरेको आरोप लगाए। 'देश र संविधान नै फाल्ने दुराशयले संसद् विघटन गरिएको छ', पौडेलले भने, 'देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षडयन्त्र हुँदैछ।' उनले यो षडयन्त्रको पर्दाफास हुनुपर्ने पनि बताए।
कार्यक्रमहरुमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल सबैले प्रधानमन्त्रीको कदमको विरोध गर्दै कांग्रेस सडकमा गएको बताए।