गुणस्तरीय मदिरा मात्रै
खुसीको जमघट होस् वा दुःखको क्षण। साथी बन्ने गर्छ मदिरा। लामो समयपछि हुने भेटघाट र मिठो खानपानसँगै बहाना बन्छ, मदिरा। त्यही माहोलमै साथीभाइले एकआपसमा ग्लास ठोक्काउँदै भन्छन् ‘लेट्स चियर्स’। अहिले यो शब्द सामान्यजस्तै भइसकेको छ।
यसरी सुख–दुःखको माहौलको साथी बन्ने मदिरा कति स्वास्थ्यवद्र्धक र गुणस्तरीय छन् त ? यसमा एकपटक विचार गर्नैपर्ने बेला आएको छ। भट्टीमा पाइने न्यूनस्तरको रक्सी र महँगा सोरुममा सजाएर बिक्री गरिने मदिरा सेवन गरेर ‘ह्याङ ओभर’ टाउको दुखेको गुनासो पनि उत्तिकै भेटिन्छ, मदिरा प्रेमीमा।
नेपालमा मदिराको गुणस्तरसम्बन्धी कुनै मापदण्ड नहुँदा मदिरा सेवन गरेकै कारण ज्यानै गएको र स्वास्थ्यमा प्रतिकूल असर पारेको समाचार पनि बेला मौकामा बाहिर नआएको होइन। गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्रीवितरणमा लगाम लगाउन सरकारले मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको छ।
यसको मुख्य उद्देश्य सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर नहोस् र कसैको ज्यान नजाओस्। मदिराजन्य पदार्थको गुणस्तर निर्धारणसम्बन्धी मापदण्डले यो विषयमा नियमन गर्न सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको आधारमा ल्याएको मदिराजन्य मापदण्डले अब नेपालमा मानव स्वास्थ्यलाई हानि पुर्याउने गरी गुणस्तरहीन मदिरा उत्पादन गर्न नपाइने भएको छ।
हालसम्म नेपालमा मदिरा (डिस्टिल्ड अल्कोहोलिक बेभरेज) उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानिनोक्सानीको बारेमा हालसम्म कुनै मापदण्ड थिएन। सरकारले डिस्टिल्ड अल्कोहोलिक बेभरेजअन्तर्गत अहिले ह्विस्की, रम, जिन, भोड्का र ब्रान्डीको हकमा मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
आम उपभोक्ताले गुणस्तरहीन मदिरा सेवन गरेकै कारण कहिलेकाहीँ ज्यानसम्म गुमाउनुपरेको छ।
मदिराजन्य क्षेत्र अहिलेसम्म आफूखुसी चल्दै आएको थियो। ‘आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो क्षेत्रलाई नियमनको दायराभित्र ल्याउन मदिरा उत्पादनसम्बन्धी न्यूनतम आधार मान्नुपर्ने सर्तसहित मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौं’, विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘अबदेखि मापदण्डको आधारभित्र उत्पादन गर्नुपर्ने र भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थ पनि त्यही मापदण्ड हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेका छौं।’
मदिराजन्य पदार्थको गुणस्तर निर्धारण गर्न र अहिले भइरहेको जथाभावी आयात निर्यातमा लगाम लगाउन मापदण्ड कार्यान्वयनमा ल्याइएको हो। विभागका अनुसार हालसम्म अन्त शुल्क कार्यालय र भन्सारले मदिराजन्य पदार्थमा प्रयोग हुने इथाइल अल्कोहल र स्प्रिटको आयात मात्राअनुसार राजस्व असुल गर्दै आएको छ।
‘तर, उक्त इथाइल अल्कोहल कुन गुणस्तरको छ। मानव स्वास्थ्यमा कस्तो असर गर्छ। आयातित इथाइल अल्कोहल र स्प्रिटबाट कुन गुणस्तरको मदिराजन्य पदार्थ तयार पारिएकोलगायत विषयमा कुनै पनि निकाय जिम्मेबार नभएकाले छुट्टै मापदण्ड तयार पारिएको हो’, रायले भने।
खाद्य विभागले अहिले बियरबाहेक ह्विस्की, रम, जिन, भोड्का र ब्रान्डीको कच्चा पदार्थ, प्रयोग हुने रसायन, मदिरामा इथाइल वा स्प्रिटको मात्रा कति राख्नुपर्ने, प्रयोग हुने कच्चा पदार्थ र रसायनबाट मानव स्वास्थ्य र वातावरणमा गर्न सक्ने प्रतिकूल असरलगायत विषयलाई यो मापदण्डमार्फत व्यवस्थित गर्न खोजिएको छ। यस्ता मदिराजन्य पदार्थको उत्पादन, प्याकेजिङ, लेबलिङ, भण्डारण र ढुवानीसम्मको आधार तयार गरिएको छ। बियरको गुणस्तर निर्धारण विषयमा पनि मापदण्ड बनाउने तयारी भइरहेको विभागले जनाएको छ।
तोकिएको मापदण्ड बर्खिलाप हुने गरी न्यून गुणस्तरका मदिरा उत्पादन गरिएको अवस्थामा खाद्य ऐनअनुसार कारबाही गरिने व्यवस्था छ। यसका साथै स्वदेशी उत्पादक र विदेशबाट आयात गर्ने आयातकर्ताले पनि विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्रसमेत लिनुपर्ने व्यवस्था मिलाइएको छ।
लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने उल्लेख छ। यस्तै मदिराजन्य पदार्थको लेभलमा स्वास्थ्यसम्बन्धी कुनै पनि विषयवस्तु दाबी गर्न नपाइने र प्रकृति, उत्पादन, स्रोत तथा अन्य गुणको बारेमा भ्रामक जानकारी दिन नपाउने भनी मापदण्डमा व्यवस्था गरिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार नेपालमा एक वर्षमा करिब साढे ६२ अर्ब रुपैयाँभन्दा बढीको रक्सीको कारोबार हुन्छ। मुलुकभित्र उत्पादित दर्ताबेगरका लोकल उत्पादनबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयात गरी करिब ६२ अर्बबराबरको मदिरा वार्षिक रूपमा खपत हुँदै आएको छ।
मिसावटमा प्रतिबन्ध
सरकारले ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिन उत्पादन गर्नका लागि अखाद्यवस्तु मिसावटमा प्रतिबन्ध लगाएको छ। पाँच प्रकारकै मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा यो मापदण्डले प्रतिबन्ध लगाएको छ। स्वास्थ्यसम्बन्धी दाबी पनि गर्न नपाइने गरी प्रतिबन्ध गरिएको छ।
यस्तो पदार्थ मिसाएर तयार हुने मदिरा नसालु मात्रै होइन, आम उपभोक्ताको ज्यानसमेत लिन सक्छ। ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिनका लागि इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिग्रेड) तोकिएको छ। लेभलमा उल्लेख गरिएको मात्राभन्दा ३ प्रतिशत घटी वा बढीसम्म स्वीकार्य हुने मापदण्ड बनाइएको छ।
ह्विस्कीको मापदण्ड
खाद्य विभागले माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रासायनिक प्रक्रियाबाट प्रशोधन (फर्मेन्टेसन) गरी तयार पार्न सकिने मापदण्ड तयार गरिएको छ। यस्तै कम्तीमा एक वर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्छ। ह्विस्कीमा इथाइल अल्कोहोलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस) सम्म हुनुपर्ने उल्लेख छ।
रमको मापदण्ड
रम, ह्वाइट रम र फ्लेबर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फर्मेन्टेसन गरी रम बनाउन भनिएको छ। यस्तै यस्ता खाद्य पदार्थबाट तयार भएको न्युट्रल स्प्रिट वा रेक्टिफाइड स्प्रिट वा डिस्टिल्ड वा यस्ता मिश्रणबाट पनि रम तयार पार्न सकिन्छ। रममा कुनै पनि पदार्थ थिग्रेको वा तैरिएको हुनु हुँदैन। यसमा कैरामलबाहेक अन्य रङ प्रयोग गर्न पाइँदैन। रममा इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिगे्रड तापक्रम) हुनुपर्छ। लेबलमा उल्लेख भएको मात्राभन्दा इथाइल अल्कोहल तीन प्रतिशतभन्दा घटीबढी हुनु हुँदैन।
भोड्काको मापदण्ड
आलु, अन्न, मोलासेस वा कार्बोहाइड्रेटजन्य पदार्थको फर्मेन्टेसन गरी डिस्टिलेसन प्रक्रियाबाट प्राप्त हुने न्युट्रल स्प्रिटबाट भोड्का तयार हुन्छ। यसमा स्वाभाविक र बास्ना भएको हुनुपर्छ। यसमा पनि इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत तोकिएको छ।
ब्रान्डीको मापदण्ड
ब्रान्डीको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ। अंगुरको ब्रान्डीको हकमा ताजा, स्वस्थ र पाकेको अंगुरको फर्मेन्टेसन जुसबाट मात्रै तयार गर्नुपर्ने उल्लेख छ। अंगुरबाहेक अन्य फलफूलको हकमा फर्मेन्टेसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ। त्यसैगरी ब्लेन्डेड ब्रान्डीको हकमा फलफूलको ब्रान्डी वा न्युट्रल स्प्रिट रेक्टिफाइड स्प्रिटमा दुई प्रतिशत अंगुरको ब्रान्डी मिसाएर तयार गर्न सकिने उल्लेख छ।
जिनको मापदण्ड
जिनको हकमा जुनिपर बेरीको वाष्पशील तत्त्वको स्वाद भएको न्युट्रल स्प्रिटबाट तयार गर्न सकिने उल्लेख गरिएको छ। यसमा अन्य वनस्पति र वास्नाको वाष्पशील तत्त्व पनि प्रयोग गर्न सकिन्छ। यो सग्लो र स्वच्छ पानी राख्दा धमिलो हुनु हुँदैन।
प्रतिक्रिया दिनुहोस !