डेढ लाख घुससहित सब–इञ्जिनियर पक्राउ
दमौली : सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा एक इञ्जिनियर दमौलीबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षाका सब–इन्जिनियर सुरेन्द्र अधिकारीलाई दमौली मालपोत लाइनबाट पक्राउ गरेको हो ।
भानु ५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन उनले घुस मागेको भन्दै विद्यालयका अधिकारीले सूचना दिएपछि पोखराबाट टोली आएको थियो ।
मालपोत लाइन दमौलीको भिरकोट रेस्टुरेन्टमा नगद दिनासाथ अख्तियारको टोली घटनास्थल पुगेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले पक्राउको घटनाको पुष्टि गरे । ‘काम सकिए पनि रकम मागेर आनाकानी गरेको सूचना आएकाले टोली खटाएका थियौं,’ उनले भने,‘रकमसहित पक्राउ गरिएको छ । अब थप अनुसन्धान थाल्छौ ।’