मेस्सीको दुई गोलमा बार्सिलोना विजयी
एजेन्सी : बुधबार राति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना विजयी भएको छ। कप्तान लियोनेल मेस्सीको दुई र पेड्रीको एक गोलको मद्दतमा बार्सिलोनाले एथलेटिक बिल्वाओलाई हराउँदै विजयी भएको हो।
सान ममेस स्टेडियममा भएको खेलमा सुरुवातमा एक गोलले पछि परेको बार्सिलोना घरेलु टोली बिल्वाओमाथि ३–२ को जीत निकालेको हो।
खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट बिल्वाओले अग्रता लिएको थियो। तर १४ औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेल बराबरीमा पुग्यो।
३८ औं र ६२ औं मिनेटमा मेस्सीले दोस्रो र तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए। मेस्सीले दुई गोल गरेसँगै ३-१ गोल अन्तरले अग्रता लिएको बार्सिलोनामाथि बिल्बाओका इकेर मुनिऐनलले खेलको अन्तिम मिनेटमा अर्को गोल गरेका थिए। इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना मात्रै बन्यो।
यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ।