ट्रम्पले राजिनामा नदिए महाअभियोगको प्रक्रिया अघि बढ्छ : पेलोसी
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजिनामा नदिए संसदबाट महाअभियोग लगाएर हटाइने सभामुख नान्सी पेलोसीले बताएकी छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पेलोसीले ट्रम्पले तुरुन्त राजिनामा नदिए महाअभियोग लगाइने बताएकी हुन् ।
‘राष्ट्रपतिले चाँडै राजिनामा दिनुहुन्छ भन्ने संसदहरूको आशा छ’, पेलोसीले शुक्रबार भनिन्, ‘तर यदि गर्नुहुन्न भने महाअभियोगका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेकी छु ।’
बुधबार संसद भवनमा भएको आक्रमण र राष्ट्रपति ट्रम्पको उत्तेजक प्रतिक्रियापछि उनको जतिसक्दो चाँडो बहिर्गमनको आवाज सभामुख पेलोसी र विपक्षी डेमोक्राट्सले उठाउँदै आएका छन् ।
अमेरिकाको संविधानअनुसार ट्रम्पले जनवरी २० मा राष्ट्रिपति पदका विजयी जो बाइडनलाई शक्ति हस्तान्तरण गर्नुपर्छ । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प बाइडनसँग पराजित भएका थिए ।